आममाफी दिएको ओलीको घोषणा, अपमान सहेर नबस्ने नेपालको चेतावनी

0
381

काठमाडौँ- नेकपा एमालेको विवाद निर्णायक विन्दुतर्फ अघि बढेको छ । भरसक पार्टी जोगाउने बताउँदै आएका दुबै पक्षका दोस्रो तहका नेताहरुले बताइरहँदा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैलाई आममाफी दिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा बोल्दै ओलीले भने, ” पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्य्रान्टेड  (आममाफी दिइयो)।”

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेले आफ्नै कारण ‘ठूलो क्षति बेहोरेको’ बताएका ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न आह्वान गरेका हुन्।

अपमान सहेर बस्दिन- नेपाल

पुष्पलालकै सम्झनामा काठमाडौँमा आयोजित छुट्टै कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले भने अपमान सहेर पार्टीमा नबस्ने बताएका छन् ।

नेपालले कोही आफ्नो बनेको घरबाट बाहिर निस्कन नचाहेको तर अपमान सहेर नबस्ने पनि बताए । उनले भने, “तर अपमान सहेर कोही पनि बस्दैन। गलत, सबै खालका कुकर्महरू हुँदा हुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन।”

एमालेका २२ सांसदले पार्टीको निर्देशन विपरीत विश्वासको मतको मतदानमा देउवालाई भोट दिएकोमा विवाद चर्किएका बेला ओलीले आममाफी दिने भनेर केही लचकताको संकेत गरिरहँदा नेता नेपाल भने झन कठोर रूपमा प्रस्तुत भएका थिए ।

बिहीबार नै ओलीलाई बुझाएको स्पष्टीकरणमा नेपालले विश्वासको मत लिन नसक्दा ‘राजीनामा नदिई, पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैँ प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतका कुरा’ भएको जवाफ दिएका छन्।

नेता नेपालले संविधान र पार्टीको विधानमा टेकेर देउवालाई मत हालेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here