बाढीपहिरो : १८ दिनमा ३३ को मृत्यु, ३० जना बेपत्ता

0
542

काठमाडौँ-  नेपालमा यस वर्षको मनसुन शुरू भएपछिका १८ दिनमा बाढीपहिरो र डुबानमा ३३ जनाको मृत्यु भएको छ । अरु ३० जना बेपत्ता भएका छन् ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो असार १ गतेदेखि १८ गतेसम्म विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । त्यसमा ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिए ।  विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् ।

अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ ।  हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ ।

भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पुर्‍याएको छ ।

सडक विभागका अनुसार पहिरो तथा कटानले देशभरका ७१ वटा सडक अवरूद्ध भएका छन् । त्यसमध्ये १९ वटा पूर्णरूपमा बन्द छन् भने ५२ वटा एकतर्फी रुपमा सञ्चालनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here