एजेन्सी- युरोकप फुटबलको क्वाटरफाइनल खेल आजदेखि हुँदैछ ।
पहिलो क्वाटरफाइनल खेलमा आज बेलुकी नेपाली समयानुसार ९:४५ बजे स्पेन र स्वीट्जरल्याण्ड भिड्दैछन् । स्वीट्जरल्याण्डले अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै क्ववाटरफाइनलमा स्थान बनाएको हो । स्पेन क्रोएसियालाई हराउँदै अन्तिम आठमा आइपुगेको हो ।
आजै हुने दोस्रो खेलमा नेपाली समयानुसार राति १२:४५ मा बेल्जियम र इटाली भिड्दैछन् । दुबै टोली अपराजित रहँदै अन्तिम आठमा पुगेको बेल्जियमले प्रि-क्वाटरफाइनलमा पोर्चुगललाई हराएको थियो ।
इटाली पनि अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । उसले अन्तिम १६ मा अष्ट्रियालाई हराउँदा लगातार ३१ खेलसम्म अपराजित रहेको कीर्तिमानसमेत बनाएको थियो ।
फिफा वरीयतामा एक नम्बरमा रहेको बेल्जियम र इटालीको खेल निकै नै प्रतिस्पर्धात्मक हुने ठानिएको छ ।
यसपटक युरोकपको क्वाटरफाइनल बेल्जियम, इटाली, स्पेन, र स्वीट्जरल्यान्ड बाहेक डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन पुगेका छन् । बलिया मानिएका टोली भने अप्रत्याशित नतिजासँगै अन्तिम १६ बाट बिदा भएका छन् ।
यस्तो छ क्वाटरफाइनल समीकरण :
शुक्रबार राति ९:४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड