मुलुकका अधिकांश भेगमा भारी वर्षा, तनहुँमा पहिरोले दुई जनाको मृत्यु

0
419

काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । कयौँ स्थानमा भारी वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगेलगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ ।

सिन्धुलीको कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेपछि धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेहरुलाई राति सम्मै सतर्कता अपनाउन  बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइएको केन्द्रले जनाएको छ ।

तनहुँमा दुईको मृत्यु

लगातारको भारी वर्षापछि तनहुँमा बाढीपहिरोले क्षति गरेको छ ।

बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए ।

घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिए ।

रातभर परेको अविरल वर्षाले व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ ।

पृथ्वी राजमार्ग अवरूद्ध

अविरल वर्षाले  पहिरो झर्दा ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बन्दिपुर–४  तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको  छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जानकारी दिए ।

मेलम्ची नदीमा फेरि बाढी

निरन्तरको वर्षाले मेलम्ची नदीमा बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची नदीमाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए ।

“खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here