नेपालमा बाढीपहिरोको बितण्डा, दर्जनौँ स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

0
786

काठमाडौं – आइतबारदेखिको लगातारको वर्षाले नेपालमा बाढीपहिरो र डुबानका घटना भएका छन् । लगातारको वर्षापछि दर्जनौँ ठाउँमा पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग नै अवरुद्ध भएको छ ।

धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी ठप्प भएको छ । पहिरो पन्साईसक्न कति समय लाग्छ भन्नेमा प्रहरीलै नै अनुमान लगाउन सकेको छैन । लगातार भारी वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने सडक विभागले जनाएको छ ।

अवरोध नहट्दा चितवनबाट काठमाडौँका लागि छुटेका गाडी मुग्लिन-नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

काठमाडौंबाट बाहिरिने गाडी पनि गल्छीसम्म पुगेर रोकिएका छन् । गल्छीको महेशखोलामा ठूलो पहिरो खसेको छ । मुग्लिन नारायणगढ सडकको चार किलोमा ठूलो पहाड नै खसेको छ ।

फिस्लिङ बजार वरपर ५/६ वटा र मौवाखोला वरपर पनि ४/५ ठाउँमा पहिरो खसेको छ । साना तिना डिस्टर्बहरु त गनिसाध्यै नभएको प्रहरीले जनाएको छ ।

धादिङको मोवाखोला पुल भत्कियो

अविरल वर्षापछिको बाढीले चितवनबाट धादिङ प्रवेश गर्ने मोवाखोलाको पुलमा क्षति पुर्‍याएको छ ।

मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । बाढीले खोला छेउका केही घर पनि बगाएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here