काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो ।
भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए । ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’
भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्याउने आश्चर्यजनक कदम’ भनिएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेको छ ।
ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने गाउँमा भएको जनाएपछि उनको नेपालभित्र पनि सर्बत्र आलोचना भएको छ ।
भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामलाई दिइएको उल्लेख भएपछि सामाजिक सञ्जाहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताहरूले आलोचना गरेका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’
राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।
प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन https://t.co/jzP5hcH4qu
— Kamal Thapa (@KTnepal) July 13, 2020
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।
Religion is above politics & diplomacy. Its a highly emotive issue. Ridiculous statements only cause embarrassment. If Ayodhya is near Birgunj, where is the Sarayu river ?
— Ramesh Nath Pandey (@rameshnathpande) July 13, 2020
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताएका छन् ।
पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।
— Bishnu Rijal (@bishnurijal1) July 13, 2020
पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’
श्रीलंका टापू कोशीमा छँदैछ। छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको!
— Ameet Dhakal (@ameetdhakal) July 13, 2020
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार भएर काम गरिसकेका डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।