काठमाडौं – अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरा र लमजुङमा १० जनाको मृत्यु भएको छ ।
बिहीबार राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।
पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । यस्तै पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।
उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।
एकै परिवारका तीनको मृत्यु
लमजुङको बेँसिशहर – ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
दिपक तामाङको घर पुरिदा ३३ वर्षीया तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।
पहिरोले घर पुरिएको खबर आएपछि पुगेको १५ जनाको प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको उनले जानकारी दिए । जीवितै उद्धार गरिएकामा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ रहेको पुनले बताए ।
उनीहरूको जिल्ला सामुदायिक अस्पताल वेसिशहर लमजुङमा उपचार भइरहेको छ । घाइते तीनै जना मृतक दिपक तामाङको घरमा ट्याक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जानकारी दिएको छ ।
म्याग्दीमा सात जना बेपत्ता
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए ।माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ’, वडासदस्य पुनले भने, ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।
यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ ।
बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ । गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए ।
बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।