सिन्धुपाल्चोकमा बाढीले एक दर्जन घर बगायो, चारदिनसम्म मुलुकभर बाढी -पहिरोको खतरा

0
461

२५ असार, काठमाडौं ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले करिब एक दर्जन घर बगाउँदा १६ जना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्ज्वल महर्जनका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएपछि उद्धार टोली परिचालन गरिएको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बाढीले जम्बु बजार नै बगाएको जानकारी दिएका छन् । बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने बाढी सूचना केन्द्रले अनुमान गरेको छ ।

आइतबारसम्म बाढी पहिरोको खतरा

आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार संघीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

मौसमविद्हरूका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठका अनुसार मनसुन सुरु भएदेखि नै वर्षा भइरहेकाले पानीको सतह माथि आइसकेको छ ।

जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्ने उनले बताइन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा वर्षा भइरहेको छ ।

यस्तै दिउँसोसम्म प्रदेश १, प्रदेश २ , बागमती प्रदेश  र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५  र  सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतसँग सीमा जोडिएका नेपालका सीमा क्षेत्रमा न्यून चापीय रेखा नजिकिएकाले आगामी तीन दिन तराईमा व्यापक वर्षाको सम्भावनासमेत रहेको मौसमविद्ले जनाएका छन् ।

कुन कुन क्षेत्रमा छ खतरा ?

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ।

उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका कतिपय ठाउँमा डुबानको सम्भावना छ । प्राधिकरणले यी चार प्रदेशबाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ ।

प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ । नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here