नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो

४ स्वास्थ्यकर्मीमा पनि संक्रमण

0
653

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार एकै दिन थप नेपालमा थप  २८८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २८८  जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्ला संक्रमितहरुमा २७० पुरुष र १८ जना महिला छन् । डा. देवकोटाका अनुसार अहिलेसम्म २६६ जना निको भएर घर फर्किएका छन् भने १ हजार ८२५ जनाको उपचार भइरहेको छ ।

मंगलबार अपराह्न ४ बजेसम्मको विवरणानुसार ७५ हजार ३४३ पीसीआर परीक्षण गरिएको छ भने १ लाख १६ हजार ३४५ जनाको आरडीटी गरिएको छ ।

यस्तै क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ४५ हजार ३७५ जना पुगेका छन् । उनीहरू अधिकांश भारतबाट आएको डा. देवकोटाले जानकारी दिए । यसअघि सोमबार एकै दिन २३९ जनामा संक्रमण पुष्टि भएर नेपालमा संक्रमितको संख्या १८ सय ११ पुगेको थियो ।

अहिलेसम्म ६१ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । पर्वतमा ५, स्याङ्जामा ५, रौतहटका ३८, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखमा ९ जना, सल्यानमा १८ जना, अछामका १० जना, बाराका १ जना, दाङमा १७ जना, प्युठानमा १ जना, कंचनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना रहेका छन् ।

त्यस्तै महोत्तरीका २, रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलबस्तुका १६ जना, काठमाडौं ४ जना, नवलपरासीपूर्वमा १ जना, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ जना र रुपन्देही १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

४ स्वास्थ्यकर्मीमा पनि संक्रमण

काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु २४ देखि ३२ वर्ष उमेर समूहका ३ जना महिला र २८ वर्षका एक पुरुष रहेका छन् । यसबारे अरू विस्तृत विवरण खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here