९ बैशाख, काठमाडौं ।– नेपालमा एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ११ जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना भाइरसको १३ जना संक्रमण पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप ११ जनामा पनि कोरोना पुष्टि भएको हो ।
३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको उदयपुर जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
गत शनिबार स्वाब संकलन गरिएका ६९ जनामध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएपछि घोपास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएका सबै ८ जनाको नतिजा प्रतिष्ठानमा पनि पोजेटिभ नै देखिएको र काठमाडौंमा मंगलबार साँझ गरीएको परीक्षणमा भुल्केकै अर्का एक जनामा पनि पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । त्यसमध्ये ५ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।