अमेरिकामा रहेका ५ सय नेपालीलाई कोरोना भाइरसको संक्रमण

0
550
तस्वीरः एपी

काठमाडौं – अमेरिकामा बसोबास गर्दै आएका ५ सय नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अहिलेसम्म ३ जनाको मृत्यु भएपनि एक जनाको मात्रै कोरोना भाइरसले ज्यान गएको पुष्टि भएको छ । शनिबार मृत्यु भएका दुई जनाको पुष्टि हुन बाँकी छ । यद्यपि महामारी धेरै फैलिएको न्युयोर्क राज्यमै माथिल्लो मुस्ताङका  २ निधन भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा चिकित्सक समेत रहेका डा.केशव पौडेलका अनुसार करिब ५ सय  नेपाली कोरोना भाइरसको संक्रमित भएका छन् । तीमध्ये आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

यद्यपि संक्रमितको संख्याबारे स्वतन्त्ररुपमा पुष्टि नभए पनि एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले पनि अनौपचारिक तथ्याङ्क सङ्कलनका क्रममा  ५ सय जना जति नेपाली तथा नेपाली मूलका मानिसहरु कोरोना भाइरसको संक्रमित भएको बताएका छन् ।

तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता मृत्यु भएको थियो ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्यांक छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।

अमेरिकाको ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको ।न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

अमेरिकी सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले नेपालीहरुले पनि त्यो सुविधा पाउने अपेक्षा गरिएको छ ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here