१८ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट सार्क सदस्य राष्ट्रहरुमा ७२ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहानसम्म ३४ सय १८ जना संक्रमित भएका छन्। सार्क सदस्य राष्ट्रहरुमा नेपाल, माल्दिभ्स र भुटान बाहेकका सबै मुलुकका नागरिकको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
यसको सबैभन्दा बढी प्रभाव भारतमा परेको छ । भारतीय सञ्चारमाध्यहरुका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ । अहिलेसम्म उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लकडाउन गरेको छ ।
यस्तै पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
उपचारारत १६ सय २० जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा संक्रमित हुनेको संख्या भने सार्क राष्ट्रकै सबैभन्दा बढी छ ।
बंगलादेशमा मंगलबार बिहानसम्म ५ जनाको मृत्यु भएको छ । ४९ जनामा संक्रमण देखिएको छ । १९ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । उपचार गराइरहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।
अफगानिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १ सय ७० जना संक्रमित देखिएका छन् ।त्यहाँ ५० जना नयाँ संक्रमित देखएपछि कोरोनाको संक्रमण देखिएका मानिसको संख्या १ सय ७० पुगेको हो ।
श्रीलंकामा पनि कोरोना भाइरसबाट २ जनाको मृत्यु भएको छ । १ सय २२ जना मानिस संक्रमित भएका छन् । उपचार गराइरहेकाहरु मध्ये ५ जना सिकिस्त अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने श्रीलंकाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस्तै माल्दिभ्समा १७ जनामा संक्रमण देखिएकोमा १३ जना उपचारपछि घर फर्किसकेका छन् । उपचारारत ४ जनाको अवस्था पनि सामान्य रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जना संक्रमित भएका छन् । त्यसमध्ये एक जना संक्रमण देखिएको केही दिनमै उपचारपछि ठीक भएर २ महिनाअघि नै घर फर्किएका छन् । भुटानमा अहिलेसम्म ४ जनामा संक्रमण देखिएको छ ।