‘लकडाउन’ उल्लंघन गर्नेलाई आज उप्रान्त सम्झाइ बुझाई नहुँने, सिधै थुनामा लगिने

0
468

१२ चैत्र, काठमाडौं । मंगलबारदेखि नेपालभर एक साताका लागि ‘लकडाउन’ गरेको सरकारले पहिलो दिनको जस्तो सम्झाइ बुझाई नगरी सिधै थुनामा लानेसम्मको चेतावनी दिएको छ ।

पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘नागरिक हितका लागि चालिएको कदममा सबै साथ हुन्छ भन्ने लागेको छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने, ‘आजदेखि पनि लकडाउनको उल्लंघन गर्दै रमिता हेर्नझैं गरी निस्कनलेलाई छाडिदैन, संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यताका आधारमा कारबाही हुन्छ ।’

यसअघि ‘लकडाउन’को पहिलो दिन मंगलबार विभिन्न जिल्लाका प्रशासकहरुले सवारीसाधन नियन्त्रण गर्नेदेखि एक हजार रुपैयाँसम्म जरिवानासम्म लिएको शर्माले जानकारी दिए । तर धेरैजसोलाई मंगलबार पहिलो दिन भएकाले सम्झाइ बुझाई गरि छाडिएको थियो ।

मंगलबार ‘लकडाउन’ उल्लंघन गरेपछि विभिन्न जिल्लाबाट पक्राउ परेका ४५३ जनालाई सम्झाइ बुझाई गरि छाडिएको थियो । ‘लकडाउन’को दोस्रो दिन बुधबार भने सरकारले कडिकडाउ गरिसकेको संकेत दिइसकेको छ । काठमाडौं उपत्यकामा नै एकाविहानै ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय सवारीसाधन र मानिसहरु नियन्त्रणमा लिइएको छ ।

‘लकडाउन’ कार्यान्वयनमा ल्याइएका मूलतः दुई वटा कानून संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यता अनुसार जरिवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने प्रावधान छ ।

देश पूरै ‘लकडाउन’मा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या सृजना नहुने गरी प्रबन्ध मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

सोही परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयहरुले खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधि लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने गरी त्यस्ता पसलहरु सञ्चालन गर्न आह्वान गरेका छन् । तर त्यस्ता पसलहरु निश्चित अवधिका लागि मात्र खोल्न आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here