कोरोना संत्रास : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारको आह्वान

५५ मुलुकको उडानमा रोक, एसईई स्थगीत

0
782

५ चैत्र, काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय गरिएको छ ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

५५ मुलुकको उडानमा रोक

कोरोना भाइरसको जोखिम अति उच्च भएको भन्दै सरकारले विभिन्न ५५ मुलुकबाट नेपाल आउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट भएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।

एसईईसहितका सबै परीक्षा स्थगीत, विद्यालय र कलेज बन्द

बैठकले जोखिम उच्च भएको भन्दै सबै परीक्षा स्थगीत गरेको छ । बिहिबार चैत्र ६ गतेदेखि हुने भनिएको एसईई १२ घण्टाअघि रोकिएको छ ।

यस्तै विभिन्न विश्वविद्यले लिने परीक्षा पनि तत्काललाई स्थगीत गरिएको छ । चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गरिने भएको छ ।

सिनेमा हलदेखि डान्सबारसम्म बन्द

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरिएको हो ।

स्यानिटाइजर अनिवार्य

बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायतका सफाइ सामग्री अनिवार्य गरेको छ ।

टेबल, कुर्सी, बाररेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा इन्फेक्सनरहित बनाउन पनि आग्रह गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here