कोरोनाभाइरसबिरुद्ध सार्क आपत्कालीन कोष स्थापना गरिने

0
730

काठमाडौं –  कोरोनाभाइरसका बिरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकले आपत्कालीन कोष स्थापना गर्ने भएका छन् ।

यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न भारतका तर्फबाट १० बिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

कोभिड–१ को सङ्क्रमण फैलिन नदिन राष्ट्राध्याक्ष/सरकार प्रमुखबीचको आइतबार साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी समेत दिएका छन् ।

कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।

मोदीको प्रस्तावलाई सदस्य राष्ट्रहरुले सकारात्मक रुपमा लिएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् ।

भिडियो कन्फरेन्समा सहभागी हुँदै प्रधानमन्त्री ओली

कोरोना भाइरसबिरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।

भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न भुटानमा  उच्च सतर्कताका साथ काम भइरहेको बताएका छन् । यसकाविरुद्ध लड्न साथ र सहयोग रहने उनले प्रतबिद्धता जनाएका छन् ।

श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षेले कोरोना भाइरसको संक्रमण विरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा बनाउँन सार्क मुलुकबीचको ढोका खुल्ला भएको बताइन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि पाकिस्तानले सक्दो प्रयास गरिरहेको स्वास्थ्य मामिलाका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार जाफर मिर्जाले जनाएका छन् ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले कोरोना भाइरस विरुद्धको लडाईमा सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरसविरुद्ध कुनै पनि राष्ट्रले एक्लै लड्न नसक्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here