कोरोनाको जोखिमपछि सरकारी निर्णय : पर्यटक भिसा रोक्नेदेखि सीमा नाका बन्दसम्म

0
480

३० फागुन, काठमाडौं । कोरोनाभाइरसको जोखिम उच्च भएपछि सरकारले युरोपेली तथा मध्यपूर्वका केही देशको भिसा रोक्नेदेखि भारतसँगका सीमा बन्द गर्नेसम्मका निर्णय गरेको छ ।

बिहिबार राति सिंहदरबारमा बसेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने पनि निर्णय गरेको छ ।

‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा खतिवडाले भने ।

थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने खुलाइएको छैन । यसबारेको विस्तृत विवरणढ समितिको सचिवालयले दिनेछ । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय समेत बैठकले गरेको छ ।

‘पूर्वतयारी स्वरुप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना वस्तीभन्दा पर तयारी गर्ने निर्णय भएका छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ’, मन्त्री खतिवडाले भने ।

आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने गरी तयारी थाल्ने बैठकको निष्कर्ष छ । पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ । सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here