प्रधानमन्त्री ओलीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण, स्वास्थ्य अवस्था स्थिर

0
616
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ ।

बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ४ घण्टा लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।

प्रत्यारोपणपछि ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको चिकित्सकहरुले दाबी गरेका छन् ।

प्रत्यारोपणपछि ओलीले आधा लिटर पिसाव फेरेका छन् । उनलाई आइसीयूमा राखिएको छ । स्वास्थ्यमा क्रमिकरुपमा सुधार भए उनलाई बिहिबार बिहान कालो चिया दिइनेछ ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाली लगायतको टोली थियो ।

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्यलगायतका टोलीको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

ओलीको यसअघि २०६४ साल साउनमा पहिलो पटक भारतको अपेलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरिएको १२ बर्षपछि मिर्गौलाले काम गर्न छाडेपछि ओलीले नियमित डायलासिस गराउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here