कोरोना महामारी : ७७ मुलुकमा संक्रमण, ३१ सय ३० को मृत्यु, ९२ हजार संक्रमित

0
524
तस्वीरः रोयटर्स

२० फागुन, काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ३० पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

अहिलेसम्म ७७ मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५२ जना संक्रमित भएका छन्

चीन बाहिर १२ वटा मुलुकमा १ सय ७९ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै ८८ जनाको इरानमा मृत्यु भएको छ । यस्तै इटालीमा ५२ जना, दक्षिण कोरियामा २८, जापान र अमेरिकामा ६/६ जना, फ्रान्समा ३, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स र ताइवानमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

चीन बाहिर पनि संक्रमणको संत्रास  

दक्षिणको कोरियामा कोरोनाबाट २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५१ सय ८६ पुगेको छ ।कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।

जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा  धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

इटालीमा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २ हजार ३५ पुगेको छ । इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा २३ सय ३६ जना मानिसहरु संक्रमित भएका छन् ।

जापानमा ६ जनाको मृत्यु भएको छ भने २ सय ८३ जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने १ सय ९१ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।

जर्मनीमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिका–कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ । संक्रमण फैलने दर उच्च भएपछि कोरोनाको महामारी रोक्न आवश्यक सबै उपाय अबलम्बन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४० मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । यसै साता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here