जोखिममा रहेका शरणार्थीलाई सहयोग
२४ माघ २०७६/दमक
दातृ निकायले शरणार्थीका लागि राहत कटौती गरे पछि जोखिममा रहेका भूटानी शरणार्थीहरुको सहयोगका लागि तेस्रो मुलुक पुगेका भूटानीहरुले आर्थिक सहयोग गरेका छन् ।
अमेरिकामा रहेका सामाजिक अगुवा दिलिप दाहाल, भिम गुरुङ्ग, सुरज गुरुङ्गको अगुवाईमा ग्लोवल भूटनिज युनाइटेड योथ नामको संस्थाबाट संकलित नेपाली रुपयाँ ३ लाख ७० हजार रकम शुक्रबार एक औपचारिक कार्याक्रमबीच हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष कुमार शिवाकोटीका अनुसार २ सय ४५ जनाबाट संकलन गरिएको रकम जोखिममा परेका शरणार्थीको सहयोगका लागि पठाइएको हस्तान्तरण कार्याक्रमका संयोजक पथरी शरणार्थी शिविरका सचीव चम्पासिंह राईले बताउनु भयो ।
सहयोगबाट संकलित रकम १ लाख ५० हजार शरणार्थीको सहयता कोष र बाँकी २ लाख २० हजार शिविर व्यवस्थापन समिति माताहत रहने गरी हस्तान्तरण गरिएको शिविर सुपरिवेक्षक टंक दुलालले बताउनु भयो । शिविरमा दातृ निकायले शरणार्थीलाई दिँदै आएको राहत सामाग्री कटौटी गरे पछि शिविरमा धेरै समस्या आउन थालेको वेलडाँगी शरणार्थी शिविरका सचीव कृष्ण सुब्बाले बताउनु भयो ।
पछिल्लो समयमा शरणार्थी शिविर बेलडाँगी र पथरी शनिश्चरे गरी ६ हजार ५ सय हाराहारीमा शरणार्थीहरु रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ । यस अघि पनि तेस्रो मुलुकमा रहेका भूटानीहरुले जोखिममा परेका बालबालिका, बृद्धबृद्धा, शारीरिक असक्तता भएका भूटानी शरणार्थीलाई सहयोग गर्दै आएको छ । हाल शरणार्थी शिविरमा ४ सय हाराहारीमा बालबालिका र अशक्तता भएका शरणार्थी रहेको भूटानी शरणार्थी अपाङ्ग संघले जानकारी दिएको छ ।