ट्रम्प कलंकित बन्ने खतरा, तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

0
436
pic : Reuters

३ पौष, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाअभियोग लगाइएका उनि तेस्रो राष्ट्रपति हुन ।

ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा तल्लो सदनमा भएको मतदानमा उनको बिपक्षमा बढी मत परेको थियो । अब उनविरुद्धको महाअभियोग पारित हुने वा नहुने भन्ने बिषय माथिल्लो सदन सिनेटमा पुगेको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग स्वीकार गरेको हो । तल्लो सदनमा ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग र संसद अवरोध गरेको विषयमा छुट्टाछुट्टै मतदान भएको थियो । ट्रम्पले शक्तिको दुरुपयोग गरेको पक्षमा २ सय ३० मत खसेको थियो भने विपक्षमा १ सय ९७ मत खसेको थियो । अर्थात उनले शक्तिको दुरुपयोग गरेको भन्ने पक्षमा ३३ मत बढी परेको थियो ।  त्यस्तै ट्रम्पले संसद अवरोध गरेको पक्षमा २ सय २९ मत प्राप्त भएको थियो भने विपक्षमा १ सय ९८ मत प्राप्त भएको थियो । उनले संसदमा अवरोध गरेको भन्ने पक्षमा ३१ मत बढी परेको थियो । अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ट्रम्पलाई सोधपुछ गर्नेछ ।

सिनेटमा सन् २०२० को जनवरीमा ट्रम्पविरुद्ध मतदान हुनेछ । सिनेटमा पनि ट्रम्पविरुद्ध मतदान भए ट्रम्पलाई राष्ट्रपतिको पदबाट हटाइनेछ । ट्रम्पलाई पदबाट हटाएपछि वर्तमान उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । हाल अमेरिकी उपराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता माइक पेन्स सिनेटका प्रमुख रहेका छन् । सिनेटको सय सिटमध्ये ५३ सिट रिब्लिकन पार्टीको पक्षमा छ । सिनटमा डेमोक्रेटीक पार्टीका ४५ जना र स्वतन्त्र दुई स्वतन्त्र सदस्य छन् । सिनेटमा रिपब्लिकन पार्टीको बाहुल्यता भएकाले ट्रम्पविरुद्ध महाअभियोग लाग्ने सम्भावना कम छ ।

झण्डै तीन महिनापछि हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पलाई महाअभियोग लगाएको हो । प्रतिनिधिसभा प्रमुख तथा विपक्षी दल डेमोक्रेटीक पार्टीकी नेतृ न्यान्सी पेलोसीले गत सेप्टेम्बर २४ तारेखमा ट्रम्पमाथि औपचारिक महाभियोगको प्रक्रिया सुरु गरेकी थिइन् । उनले ट्रम्पलाई विदेशी सहयोग लिएर शक्तिको दुरुपयोग गरेको आरोप लगाएकी थिइन् ।

ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी विपक्षी दलका नेता जो बाइडेन र उनका छोरा हन्टरमाथि भ्रष्टाचारको छानविन गर्न गत जुलाईमा युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई आग्रह गरेका थिए । बाइडेन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटीक पार्टीतर्फका उम्मेदवार हुन् । त्यस्तै ट्रम्पमाथि अमेरिकी संसद कंग्रेसको अवरोध गरेको आरोप पनि लगाइएको थियो ।

ट्रम्पले सन् २०१६ मा राष्ट्रपतीय निर्वाचनको प्रचार प्रसार अभियानमा रुस सरकारले गरेको हस्तक्षेपबारे अनुसन्धानलाई पनि प्रभावित पारेको आरोप लाग्दै आएको छ । रुस सरकारले विपक्षी राष्ट्रपतीय उम्मेदवार डेमोक्रेटीक पार्टीकी नेतृ हिलारी क्लिन्टनको अभियानमा गलत प्रचार प्रसार गरेको थियो ।

ट्रम्पबिरुद्ध महाअभियोग प्रस्तावमा मतदान भइरह“दा उनि भने मिसिगन राज्यको ब्याटल क्रिक शहरमा एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए । उनले आफूलाई रिपब्लिकन पार्टीको साथ पाएकाले आफूमाथि महाअभियोगको बिषय पारित नहुनेमा विश्वस्त भएको बताएका छन । तर ट्रम्पविरुद्धको यो महाअभियोग माथिल्लो सदनबाट समेत पारित भए उनि अमेरिकी इतिहासमै कलंकित राष्ट्रपतिको रुपमा दर्ज हुनेछन । किनकी महाअभियोगबाट हट्ने उनि पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन ।

माथिल्लो सदन सिनेटमा सुविधाजनक बहुमतमा रहेका ट्रम्पलाई महाअभियोगबाटै हट्न नपरेपनि अर्को कार्यकाल अर्थात सन् २०२० मा हुने अर्को राष्ट्रपतिय निर्बाचनमा भने धक्का पुग्न सक्ने टिप्पणीहरु हुन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here