कथा – दोमनको ओखती

0
1663

लेखक:  नेत्र आचार्य “वशन्त दिक्तेली” ।

आज अलि अबेरसम्म सुतिएछ । सुर्यले ॐकारको पुजा गरिसकेका रहेछन् । मेरो ओछ्यानमा घाम पहेंलै भएर पाकिसकेको देखेर हठात म सुर्यको फल टिपी खान उठें। रक्तचाप घटेर हो या कमजोरीले, आजभोली मलाई धेरै नै सुताउँछिन् निद्रादेवीले; पवित्र, कोमल काख पाएर होला, म पनि आनन्दले निदाउने गर्छु ।

बुबाले सबेरै उठेर खाना पकाइसक्नुभएको रहेछ। आमालाई खाना दिई, आफ्नो विशेष कामले बाहिर निस्किसक्नु भएको रहेछ बुबा। आमाको सन्चो बिसन्चो सोधपुछ गरि मैले पनि खाना खाएँ। बुबा, घर आइनपुगुन्जेल म आमाको साथी बसें। बकेटमा धुनुपर्ने कपडा र लाउन्ड्री डिटर्जेन्ट अगाडी राखी बुबाको प्रतिक्षामा रहें। केही बेरमै बुबा घरभित्र छिर्नुभयो। म पनि कपडा धुने निहुँले निस्कें।

नजिकैको शहरमा रहेको एउटा अपार्टमेन्टको पार्किङमा गाडी पार्कमा राखी कसैलाई त्यहिँ आउन भनी तार पठाएँ। अब हामी दुई, अर्कै शहरमा अवस्थित एउटा हिन्दु मन्दिर तर्फ लाग्यौं।

म बोल्न भन्दा लेख्न रुचाउँछु। म जति लेख्छु, त्यति ब्यबहारमा उतार्न सक्दिन। यो मेरो कम्जोरी हो। मैले उनका आँखा र उनको मुहार पढेर मनमनै आत्मग्लानी गरें। उनलाई मिठा-मिठा गफको सुरुवात र रमाइलो गर्ने औधी जोस थियो तर मलाई खै केले रोक्यो थाहा भएन। जान्दा जान्दै पनि मैले उनको रुचिको गफ निकाल्न सकिन। बिल्कुल साधारण, जो आम मानिसमा हुने गर्छ, मात्र त्यहि भयो। केही पुराना हिन्दी र नेपाली गानामा हल्का रमेझैं गरेर मन्दिर पुग्यौं।

दुबैले हात जोडेर प्रार्थना गर्‍यौं। कसले कस्तो प्रार्थना गर्‍यो थाहा भएन तर जे भयो राम्रैका लागि भयो। मैले भनेको थिएँ, “म इश्वरलाई केही माग्दिन। मागेको कुरा पाइसकेको छु। म मात्र भक्ती र सेवा गर्छु, फलको आशा राख्दिन ।“ मेरो त्यस्तै त्यस्तै भयो।

“यस्तै छ है अमेरिकाको मन्दिर” भन्दै केही बेरमै हामीले मन्दिर परिसर छोड्यौं। मैले गाडी सरासर नेपाली रेस्टुरेन्ट तर्फ मोडें। हल्का मुस्कान र थोरै खुसिका साथ हामीले त्यहाँ पुगेर केही खाने कुराको अडर दियौं। मलाई उनको इच्छा अनुसारको खानाको अडर दिनु थियो भने उनलाई मेरो इच्छा अनुरुपको। एकैछिनको होडबाजी पछि एउटा नौलो परिकारको अडर हाम्रो टेबुलमा आइपुग्यो। एउटै थालमा खाने कुरा र दुइटा खाली थालहरु साथमा भएकाले, दुबैले मिलाएर खान थाल्यौं। खाने क्रम सङ्गै हाम्रो कुराकानी अघि बढ्यो।

उनले त्यो केटिको फोटो देखाउनु न भनिन्। मैले फोटो देखाउँदै, बिस्तृत-बृतान्त बताएँ, बिना हिच्किचाहट। उनले पनि विश्वासका साथ उनको फोनबाट तस्विर निकालेर, मैले जस्तै सबै बताइन। रेस्टुरेन्टको बिल तिरेर, मैले उनिलाई मेरो घरतर्फ लगें। बाटोमा कुराकानीको क्रम छँदै थियो। घर पुग्दा, आमा, बुबा, दिदी, भान्जी र अन्य दुई आफन्तहरु पनि हुनुहुँदोरहेछ। घरमा पनि हामी धेरै बेर बसेनौं। उनलाई घरसम्म छोड्नुपर्ने भएकाले, हामी दुबै निस्कियौं।

उनको घर पुग्न लाग्दा मैले भनें, “म लेखेको कुरा ब्यबहारमा उतार्न अलि सक्दिन, यो मेरो कम्जोरी हो ।“
उनि बोलिन, “कति कुरा त उतार्न हुन्न । समय आएपछि आफैं ठिक हुन्छ।“

मेरो आफैंलाई नराम्रो लाग्ने बानी पनि उनलाई राम्रो लागेको देखेर म दङ्ग परें। उनको अपार्टमेन्टको पार्किङमा गाडी राखेर म यतायतै जान्छु, आज तिम्रो घर छिर्दिन है भनें। उनले-चटपटे खाएर मात्र जानु भनेकीले गर्दा, चटपटे खाएर म आफ्नो घर तर्फ लागें।

गाडीको डिकिमा एक बकेट धुने कपडा थियो। बाटोको नियम अनुसारको गतिमा गाडी गुडाउँदै गएँ । दुइटा राजमार्गहरु कटेर जब आफ्नो घर पुग्ने राजमार्गमा पसें, त्यसबेला देखि मेरो मनमा बितृष्णता पैदा भयो । मेरो मन शान्त रहन सकेन ।

मन बोलिरहेको थियो एक्लै तर पक्ष र बिपक्ष बनेर। म भूटानमा जन्मिएको, भूटानको छोरो। मलाई मेरो जन्मथलोको औधी माया लाग्छ। नेपाल – जुन देशमा बिसौं बर्ष शरण लिएर बस्यौं, त्यो देशको माया पनि यो मुटुमा गाडिएको छ। भाषा, धर्म, संस्कृति र अन्य कुराहरु त आफ्नो ठाउँमा छँदैछ, त्यो भन्दा धेरै त त्यस देशले शरण दिएकाले नि हो ।

समयको चक्रले घुमाउँदै मलाई यस सम्पन्न देशमा ल्याएको छ – यसको पनि माया लाग्न थालिसकेको छ । पुरानो ईतिहास भुल्न पनि सक्दिन । बाबु बाजेले पसिनाले बनाएको देश र तिनै वीर पाखुरीहरुले ढुङ्गा फुटाएर गाडेका खम्बा अझै जिवित छन् । नयाँलाई सहजै अङ्गाल्न पनि धेरै गाह्रो छ । भूटान र नेपाल अनि यो मुलुक – कस्तो दोधार !

म चाहेर पनि भूटानमा सधैं सधैंका लागि जान सक्दिन । म वास्तविकतामा जिउन चाहन्छु। यथार्थ वर्तमानलाई अङ्गाल्न चाहन्छु । मलाई भूत र भविष्यको प्रवाह छैन । वर्तमानमा जिउँछु भन्दा पबि बेला बेलामा भूतले तर्साउने गर्दछ । कहिले त प्राणै उसङ्ग लैजाने धम्की दिन्छ र सपनामा ऐंठनसम्म पार्न भ्याउमँछ । पुन: अन्तरहृदयले अन्तरदृष्टिबाट फाइदा र बेफाइदाको मुल्यांकन गर्छ ।

सुबिधा सम्पन्न यो मुलुकको बनावटबाट म प्रभावित छैन तर यो मुलुकको शासन पद्धतिबाट म अत्यन्त प्रभावित छु। यहाँका नागरिकले भोको मर्नुपर्दैन।

गल्ती नभए पनि – “माफ गर्नुहोला”, धन्यवाद नदिनुपर्ने ठाउँमा पनि “धन्यवाद”, यिनै नम्र अनि सभ्य बोलिबाट म ठान्छु, “मैले अङ्गाल्नुपर्ने यहि हो ।“

यहाँका सभ्य नागरिकहरु दान दिन र सेवा गर्न सदैब तत्पर हुन्छन् । यहाँ मानबलाई दानव जस्तो ठानिन्न । यहाँ हर पशु चौपाय, चरा चुरुङ्गी लगायत, सृष्टिका सबै जीव जिवाणुलाई आफ्नो आफ्नो हक र अधिकार सुनिस्चित गरिदिएको छ । मानिस मात्र नभएर सबैको स्थान सुरक्षित छ । सबैले आफ्नो जिन्दगी स्वतन्त्रता पुर्वक जिउन पाउँछन् । हो, यो त्यही मुलुक हो, जुन मुलुकमा दासत्व प्रथा उन्मुलन भएको थियो । आफ्नो रोजिरटीको लागि कसैसङ्ग भिख माग्नु पर्दैन ।

मैले अङ्गाल्नु पर्ने यहि हो। चिनेको होस् या नचिनेको, “सन्चै हुनुहुन्छ?” आहा ! कति धेरै माया, दया र हेर चाह !! मनै फुरुङ्ग हुन्छ। यिनै कुराहरु मनमा बादलको गर्जनझैं गर्जिरहे। अर्को मनले भन्थ्यो, “मलाई मेरो आफ्नो देश, जुन देशमा हिमश्रीङ्खलाहरुका दन्तलहर, अबिरल बगिरहने नदिहरु, स्याउ जस्ता पोटिला गाला भएका तलाउहरु छन्, तिनै मनमोहक प्रकृतिक सुन्दर्ता मन पर्छ । बाहिरी छुच्चो प्रवृत्तिको देखिए पनि भित्री दया राख्ने मेरा पुराना छर छिमेककै याद आउँछ ।“ हुन त मेरो अहिले त्यस ठाउँमा घर छैन, मेरो घरैबाट गाडी गुड्छ रे तर त्यही ठाउँ प्यारो लाग्छ ।

म वास्तविक जीवन अङ्गाल्न खोज्छु तर त्यो भूतलाई कहिल्यै नकार्न सक्दिन। लाग्छ-अहिले लान्छु जान्छस् भन्यो भने, “जान्छु” मेरो उत्तर रहन्छ । फेरि सोच्छु, होइन, मलाई माया, दया गर्ने, यति धेरै ख्याल गर्ने पाएको छु, मैले अतीत सोचेर यो मोतिलाई गुमाउनु हुन्न ।

यो दोधारे मनलाई जति सम्झाए पनि यस्तै हो । मैले यसलाई एकतृत गर्न हजारौं कोसिसहरु गरिरहेको छु । केही हदसम्म त म सफल भएको छु तर…. त्यो भूतलाई बिर्सनै पर्छ । नयाँ ठाउँको नयाँ कुरासङ्ग रम्नै पर्छ । मैले सबै परिस्थिति स्विकार्नै पर्छ । म के भनौं ? यो मेरो मनलाई कसरी सम्झाउँ ? ममा एउटै मात्र उत्तर निस्कियो – “स्विकारिक्ती” । मैले यथार्थलाई स्विकार्नै पर्छ । भूतलाई जसरी स्विकारेर आज यो वर्तमानमा छु, त्यसरी नै मैले वर्तमानलाई स्विकारेर सुन्दर भविष्यको निर्माण गर्नै पर्छ । यिनै दुबिधा र दोधारे कुराहरुसङ्ग रुमलिँदै, आकाशको बादल जति पर सर्छ, म त्यसलाई पछ्याउँदै गएँ। मेरो गन्तब्यस्थल आइपुगुन्जेल, यस्तै यस्तै भयो। लाउन्ड्रीमा कपडा धुन हालेर, कलमको सहारा लिएँ-

कता कता दोमनमा छु
वास्तविक यो मनमा छु
स्विकार्दै दोधारे दिल
हो, सत्यताको मनमा छु।

Svikarokti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here