वरिष्ठ गीतकार उपाध्यायका सातवटा गीति सँगालो एकैसाथ लोकार्पण

0
700
गान्तोक, 21 जनवरी।
नेपाली साहित्य परिषद भवन, विकास क्षेत्र, गान्तोकमा आज काठमाडौं नेपालका लब्धप्रतिष्ठित साहित्यकार एवं वरिष्ठ गीतकार डा. डी.आर. उपाध्यायका सातवटा गीति सँगालो एकैसाथ लोकार्पण गरिएको छ। सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवं निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा आज उनका गीति सँगालोहरू एकैसाथ लोकार्पण गरिएको हो। किनार प्रकाशक, गान्तोकद्वारा आयोजित लोकार्पण एवं सम्मान कार्यक्रममा साहित्यकार केदार गुरुङ मुख्य अतिथि रहेका थिए भने साहित्यकार चुनिलाल घिमिरेले कार्यक्रमलाई अध्यक्षता गरेका थिए। यस अवसरमा नेपालबाट आएका आठजना गीत-संगीतकार एवं साहित्यकारसितै सिक्किमका 6 जना गीतकार एवं साहित्यकारहरूलाई सम्मान जनाइएको थियो।
सभाध्यक्ष चुनिलाल घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ शान्ति, सुरक्षा हुन्छ त्यहाँ गीत सङ्गीत तथा कलाले फस्टाउने मौका पाउने बताए। उनले प्रसिद्ध पश्‍चिमेली साहित्यकार शेक्सपियरको भनाइको उदाहरण दिँदै भने, �जसले गीत सङ्गीत मन पराउँदैन उ आत्मद्रोही हुन्छ।’ उनले अझ भने, पहिला हाम्रा अभिभावकहरूले गीत गाउन दिँदैनथे। गीत नगा, दुःख पाउँछ, दुखिया हुन्छ भन्ने गर्थे भन्दै वर्तमानमा गीत सङ्गीतको क्षेत्र उर्वर भएर आएको उनले बताए। सिक्किमको सन्दर्भमा पनि उनले धेरै राम्रा राम्रा गीतकारहरू रहेको बताउँदै वरिष्ठ साहित्यकार एवं गीतकार सानु लामाको उदाहण दिए। सानु लामाका जहाँ बग्छ टिस्टा रङ्गीत, बालापनको आँगना त्यागेर जस्ता कालजयी गीतहरू रहेको उनले बताए। नेपाल र सिक्किम-दार्जीलिङको साङ्गीतिक सम्बन्धलाई जोड्दै पहिले पहिले रेडियो नेपालबाट बज्ने गीतहरू सुनेर सिक्किम दार्जीलिङ तिरका धेरै जनाले गीतहरू लेख्न र गाउन प्रेरित बनेको सभाध्यक्ष चुनिलाल घिमिरेले बताए। कार्यक्रममा एकै साथ आफ्ना सातवटा गीति सँगालो लोकार्पण गर्ने गीतकार डा. डीआर गिरीलाई बधाई दिँदै यसरी एकै साथमा सातवटा गीति सँगालो निकाल्नु चुनौतीपूर्ण कार्य रहेको बताए। उनका गीतहरूले डा. गिरीले सामाजिक परिवर्तनको आवाज बुलन्द गर्न चाहेको बुझाउने पनि बताए।
यसरी नै मुख्य अतिथि केदार गुरूङले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य, कला र सङ्गीत जीवनको अभिन्न अङ्ग रहेको बताए। उनले साहित्य जीवनको शरीर हो भने सङ्गीत त्यसको रक्तसञ्चार सरह रहने बताए। जीवन जीउन पनि एउटा कलाको आवश्यकता पर्ने बताए। जीवन बाँच्नका निम्ति विभिन्न प्रकारका कलाहरू हुने बताउँदै जसले कलालाई समाउन जान्यो उसैले जीवन जीउन सक्ने नभए जीवन व्यर्थ बन्न सक्ने उनले बताए। त्यसरी नै सङ्गीतले पनि मानिसको जीवनलाई बाँच्न प्रेरित गर्ने मन्तव्य उनले राखे। यसै क्रममा मुख्य अतिथि गुरूङले सिक्किमबारेमा पनि जानकारीहरू गराए।
कार्यक्रममा नेपालबाट आएका गीतकार-सङ्गीतकार तथा साहित्यकारहरू डा. डीआर उपाध्याय, सुरेश घिमिरे �निश्‍चिन्त’, कृष्ण भुसाल, नवीन सुब्बा, सागर अधिकारी �शरद’, सन्तोष श्रेष्ठ, सुश्री गीता अधिकारी र श्रीमती सुनिता खनाल अनि सिक्किमबाट प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ �लोहोरो’ र नीलम न्यौपानलाई सम्मान जनाइएको थियो। यसरी नै नेपालबाट आएका साहित्यकारहरूको टोलीद्वारा साहित्यकार टीबी चन्द्र सुब्बा, सीपी गिरी, चुनिलाल घिमिरेको साथमा डीआर नेपाल र सीबी कार्कीलाई �मायाको चिनो’ प्रदान गरियो। कार्यक्रममा सागर अधिकारी �शरद’ र सन्तोष श्रेष्ठले आफ्ना सुमधुर गीतहरू प्रस्तुत गरेका थिए।
आयोजक समिति अध्यक्ष टीबी चन्द्र सुब्बाको स्वागत सम्बोधनबाट कार्यक्रम शुरू भएको थियो। स्वागत सम्बोधनको क्रममा सुब्बाले अहिलेसम्म उनले 108 जनालाई सम्मान जनाइसकेको जानकारी गराउँदै आफ्नो अनुसन्धनात्मक कार्यमा विगत केही वर्ष यता व्यस्त रहेको उनले बताए। केवल तीन घण्टा मात्र सुतेर रहेको समय साहित्यप्रति समर्पित गर्दै काम गरिरहेको अनि आजको कार्यक्रम छोटो समयमा आयोजना गर्नु परेको उनले अवगत गराए। कवि एवं चित्रकार दिपा राईद्वारा सञ्चालित कार्यक्रमलाई डा. शान्ति छेत्रीले पनि सम्बोधन गरेकी थिइन्। उनले सङ्गीतको विशेषता एवं महत्वमाथि बोल्दै आफ्नो जीवन साथी पनि उनले गीतकै मार्फत भेटाएकी कार्यक्रममा खुलासा गरिन्।
कार्यक्रमलाई नेपालबाट आएका वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्ण भुसालले पनि सम्बोधन गरेका थिए। मिलापका सम्पादक भुसालले आफ्नो सम्बोधनमा सिक्किम र नेपाल माझको भाषिक, सांस्कृतिक एकरूपताको विषयमा उजागर गरे। नेपाली साहित्य तथा सङ्गीत जगतमा सिक्किमले धेरै प्रगति गरेको उल्लेख गर्दै मुख्यमन्त्री पवन चामलिङ स्वयं एक कुशल राजनीतिज्ञसितै साहित्यिक व्यक्तित्व रहेको हुनाले पनि यहाँको सङ्गीत तथा साहित्य जगतले फस्टाउने अवसर पाएको उनले बताए। यसरी नै डा. डीआर उपाध्यायले आफ्नो सम्बोधनमा आज लोकार्पित उनका गीति सँगालोहरू सङ्गीत प्रेमी स्रोताहरूले सुनेर प्रतिक्रिया दिने आशा व्यक्त गरे। उनले आफ्ना सातवटा कृतिहरूमाथि पनि प्रकाश पारेका थिए। उनले विभिन्न ठाउँमा भ्रमण गरिसकेको बताउँदै सिक्किममा आएर आफ्नो यात्रा विसर्जन गरिरहेको साथै सिक्किम नआएसम्म आफ्नो यो यात्रा अधुरै रहने महशुष गरेको पनि विचार व्यक्त गरे। यसरी नै वरिष्ठ साहित्यकार सुरेश घिमिरे �निश्‍चिन्त’ ले आफ्नो सम्बोधनमा नेपाली गीत सङ्गीतको क्षेत्रमा पवन चामलिङको योगदानबारे आफ्ना विचारहरू राखेका थिए। सिक्किमले धेरै गीत-सङ्गीतकार तथा कलाकारहरू जन्माएको बताउँदै सिक्किम, दार्जीलिङ, आसाम आदि भारतीय भेगबाट नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा बहुमूल्य योगदान पुर्याएको बताए।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here