पहिचान, मानवीय प्रवृति र जीवनमूल्यका कविता  – शिवलाल दाहाल

0
2087
म जयमायाको सन्तान

भूटानी नेपाली साहित्य जगतका अग्रपङ्तिमा रहनुहुने साहित्यकार श्री शिवलाल दाहाल द्वारा कवि प्रतिमान सिवाको कविता कृतिम जयमायाको सन्तानमाथि लेखिएको भूमिका ।

 –म जयमायाको सन्तानबाट ।

      

म जयमायाको सन्तान

प्रतिमान सिवाको प्रथम कविता कृति डोबहरु (2001 ) मा समाविष्ट केही कविताहरु पढेदेखि म उनको कवितात्मक सन्धानप्रति निकै आकर्षित भएको थिएँ । खासगरी उनका घण्टीको जीवनः एक अनुभव, बुख्याचा, … जस्ता कविताले म धेरै छोइएँको थिए । त्यसपछि प्रतिमानजी कता हराए कता हराए, एक दशकजति उनलाई न कार्यक्रममा भेटियो न पत्रपत्रिकाहरुमा । यस्ता साहित्यिक सञ्चेतनाका प्रतिमान, प्रतिमानजी सिर्जनामा फेरि नभेट्ता मलाई आश्चर्य लागिरहन्थ्यो । साथीहरुसँग सोध्ने गर्थें, प्रतिमानजी कता हराउनु भयो ?’ त्यसको खास उत्तर कतैबाट पाइरहेको थिइँन । भूटानी नेपाली साहित्यको एक अध्येताका हैसियतले म उनलाई खोजिरहेको हुन्थें । अमेरिका पुगेको केही वर्षपछि उनी आहायोमा भेटिए । उनी हराएका रहेनछन् । बरु खोज्दै रहेछन् आफ्नो छुट्टै अस्तित्व र जीवनमूल्य ।

मिसिसिप्पी र मिजौरी भएर

बग्दैछु मूलधारको वेगमा,

विशाल महासागरमा,

आफ्नो अस्तित्व खोज्दै

आफ्नो रङ्ग र सुगन्ध रोज्दै

 निश्चय पनि उनको साहित्यिक मोह मुर्झाएको रहेनछ । उनी छुट्टै रङ्ग र सुगन्ध खोज्न लालायित छन्– धन्सिरी र तुर्साभन्दा अर्कै ध्रूर्वमा, ब्रम्हपुत्र र इरावदीभन्दा पनि टाढा, मेची र महाकालीभन्दा पनि धेरै पर, मिसिसिप्पी र मिजौरीका किनारतिर ।  त्यही मुर्झाउन नसकेको उनको साहित्यिक मोह र नेपालीभाषाप्रतिको अगाध स्नेहको परिणति हो यो– “म जयमायाको सन्तान” कविता कृति । जहाँ नेपाली भाषाको अध्ययन हुँदैन अनि घरपरिवार र सिमित समाजमा मात्र प्रयोग हुन्छ त्यहाँ नेपाली भाषा र जातीय पहिचानको भविश्य के होला ? यही चिन्ताले कवि विथोलिएका छन् । यो चिन्ता उनका धेरै कवितामा टड्कारो रुपमा आएको छ । पश्चिमेली मुलुकहरुमा हुर्किरहेको नयाँ पुस्तालाई मातृभाषाको ज्ञान हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो, त्यसका लागि कविले खबरदारी गरेका छन् –पुनर्वासित आजको पुस्तालाई । कविले भाषासँगै जोडेर जातीय पहिचान र अस्तित्वको सवाललाई यसरी उठाएका छन् ।

गन्तव्यको खोजिमा

हिँडाइएकी/हिँडेकी जयमाया

अब कोलम्बसदेखि कहाँ जानु पर्ने हो

पुकारिन जयमायाले – हे प्रभु ! म किन नेपाली हुँ ??”

 यसरी सँधै बसाइँ सरिरहनु पर्ने विवशता बोकेको नेपालबाहिरको अस्थिर नेपाली समाजको (नेपाली जातिको) बिडम्बनापूर्ण नियतिको कारुणिक चित्र प्रस्तुत गरेका छन् –कविले । यो नेपाली हुनुको पीडा हो, नेपाली परिचयको पीडा हो । जब राष्ट्रियता, भाषा र जातिबोधको भौगोलिक र भावनात्मक विभाजन हुन्छ यस किसिमको पीडाको अन्त्य कहिल्यै हुँदैन । यो संसारभरका अनेक मुलुकहरुमा परायपन भोगिरहेका र अन्य (अदर) बनाइएका मानिसहरुको कथा पनि हो ।

कवि सिवा, कविताका विषयवस्तु खोज्न टाडा जाँदैनन्, आफुले भोगेको समय, समाज र परिवेशलाई कवितात्मकताको कसीमा अनुबन्धित गर्दछन्। वैयाक्तिक जीवनका अनुभाव, अनुभूति र भोगाइका सन्दर्भहरुको उठान गरेर लेखिएका उनका कविता यथार्थिक जीवनका चित्र हुन्।

यो ओछ्यान कहिले उठ्दैन,

कहिले उसको हुन्छ

अनि कहिले मेरो हुन्छ

तर कहिले हाम्रो हुँदैन।

………..

घर छ,

परिवार छ,

ओछ्यान छ,

अनि जीवन छ

तर केवल आधा–आधा।

व्यक्तिवादी पश्चिेमी जीवन शैलीको एउटा दृष्टान्त हो यो । हिजोको भन्दा भिन्न जीवनमूल्य र परिवेश छ यहाँ तर त्यसैलाई स्वकार्दै,अप्नाउँदै जानुको विकल्प पनि त छैन । पुरानै गाउँ र ठाउँको माया मनको एक कुनामा संगालेर, अर्को एक कुनामा नयाँ ठाउँलाई अँगाल्नु बसाइँ सर्नेहरुको नियति हो ।

गोलन्टी नै नभए पनि

मेरै कोल्रेन मेरा बचेराहरुको रहर

हजारौँ सपनाहरुको घर

कवि अब यही नयाँ ठाउँमा बसेर जिन्दगीको नयाँ आयाम खोज्न चाहन्छन् । सपना र रहरहरुको खेती गर्न चाहन्छन् । नफर्किने दिनको स्वप्निल स्मृतिमा हराएर मात्रै पुग्दैन रहेछ सायद, कवि उन्नति र प्रगतिका स्वभिमानी नवीन कथा पनि निर्माण गर्न चाहन्छन् ।  

एकमुठ्ठी तिम्रै स्वभिमानले

सिङ्गो विश्व उचालेको

नयाँ कथा पढ्ने रहर छ। 

कवि सिवाको अर्को विषय हो मानिस– उसको व्यवहार, चरित्र र प्रवृति । लोभ, घृणा, उपेक्षा र विभेदको अन्त अनि प्रेम, सद्भावना र समानताका लागि आग्रह गर्ने कवि मनुष्य जीवनको उदारता र महानताको खोजी गर्दछन् । अघिल्लो कवितासंग्रहमा देखिएको क्रान्तिकारी र विद्रोही चेतनालाई विश्राम दिएका कविले छुवाछुत र जातीय विदेभ विरुद्धको वैचारिक लडाइँलाई भने यस संग्रहमा पनि निरन्तरता दिएका छन्।  

धर्म….?

के धर्म…?

त्यहि धर्म ओडेर त हो नि,

हिजो तिमीले,

बलेसीमा पिरा ओछ्याएको,

धारो फेर्नु भनेको

अनि तिमी आँउदा

भूर्इँतिर हेर्नु भनेको

धर्म र जातका नाम हुने विभेद नेपाली समाजको कलंक  हो । वर्तमान समयमा केही परिवर्तन आएता पनि त्यसको अन्त भएको छैन । यही विभेदपूर्ण र अनुदार व्यवहारका कारण कतिपय सन्दर्भमा धर्म परिवर्तनको परिचर्चा हुने गर्दछ ।  तर कवि त्यसलाई धर्म परिवर्तन स्वीकार्दैनन् बरु फरक आस्था अनुग्रहणका रुपमा लिन्छन् । उनका केही कविता यही आस्थाको धरातलमा उभिएका छन् । जेठो भेँडो, खोई मेरो साईमोन ? उहाँ र संसार जस्ता कवितामा यशुको महिमा गरिएको छ ।

सारमा भन्नु पर्दा कवि सिवाका कवितामा मानवीय प्रवृति, जातिवोध, इसाइधर्मप्रतिको आस्था र जीवन भोगाइका सन्दर्भहरु उत्घाटित भएका छन् । उनको जीवनप्रतिको दृष्टि महत्वकांक्षा र सपनाहरुको तृप्ति मात्र होइन, एक भ्रमका रुपमा पनि आएको छ । एकाध कवितामा निरासाजन्य अभिव्यक्ति पाइएता पनि उनी भविश्यप्रति आस्थावान देखिन्छन् । सामाजिक क्षुद्रता र अनुदारताको आलोचना गर्ने उनका कविताले असल जीवनमूल्यको स्थापनामा जोडदिएका छन् । माया एन्जेलेउको अनुवादित कविता ‘म अझै उठ्ने छु’ कविको अठोट्को बिम्ब हो । हो, देशको भूगोल र इतिहासबाट बिलयन गरिएका भूटानीहरु अहिले पश्चिमी मुलुकहरुमा साँच्चै नै ‘धुलो झैं’ उठ्न खोजिरहेका छन् । उनीहरु उठ्न चाहन्छन् अतीतका दुःखदायी जीवनबाट, निरङ्कुशताको भय र आतङ्कबाट अनि न्याय र सुनुवाई बिनाको इतिहासको कलङ्कबाट । 

प्रतिमान सिवाका कविता सरल र सहज छन् । सरल मात्रै होइन कतिपय कविता अति सरलीकृत छन् । कविताले कतै लयात्मकता र अनुप्रासिकतालाई समातेका छन् भने कतै मुक्त प्रवाहमा बगेका छन् । कवितामा प्रयुक्त बिम्ब र मिथक दुबोध्य छैनन्, बोधगम्य छन् । संग्रहमा आएका बिम्बहरु केही स्वनिर्मित हुन् भने केही साहित्य, इतिहास, विज्ञान र बाइबलबाट आएका छन् । उनका अधिकांश कविता छोटो आकारका छन् । कवि सिवाका कविता र तिनको विशेषताका बारेमा केही कुरा गर्ने घृष्टता मैले गरिनै सकेँ । कविता पढेपछि पाठकवर्ग र अध्ययेताहरुले तिनको गुण–दोषको अरु छिनोफानो गर्ने नै छन् । हाम्रो साहित्यमा कवि सिवा ‘उनको नानीलाई हैँसे’ कविताको त्यही बुढो पडारीको रुख हुन् र हुने नै छन् भन्ने आशा गरेको छु । यी तलका हरफहरु सहित कवि प्रतिमान सिवालाई बधाई तथा शुभकामना –

आज तिमी चड्दैछौ, बड्दैछौ

अनउ’ तिम्रो हातमा छ

केवल अघि मेलोमा हेर,

पछाडी त्यै पडारी म खडा छु

कृति: म जयमायाको सन्तान (कविता सङ्ग्रह्)
प्रकाशक: मातृभाषा संरक्षण समूह्
पृष्ठ: १७९
मूल्य: अमेरिकी १०.०० डलर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here