२८ कात्तिक, काठमाण्डौ ।
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ । मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए । साँझको सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार व्रत थालेका व्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ । आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट व्रत सङ्कल्प गरेका व्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै व्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम शुरु भएको छ । छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोसेली पठाउने चलन छ । यसरी पठाइने कोसेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महिना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ ।