१३ भदौ, काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारी पूरा भएको छ । शिखर सम्मेलन लक्षित गरी सडक मर्मतसम्भार तथा स्वागतद्वार निर्माण कार्य सम्पन्न भएका छन । सम्मेलनको सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायका झण्डै १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । त्यसको संयोजनको जिम्मा नेपाली सेनालाई दिइएको छ । विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गरेको सम्मेलनमा कुनै पनि पक्ष कमजोर हुन नदिन सरकाले कृत्रिम पार्क खडा गर्नेदेखि अस्थायी रुपमा सडक संरचनालाई ब्यवस्थित बनाउने सम्मका काम सम्पन्न गरेको छ । यही १४ र १५ गते हुने कार्यक्रमलाई कुनै रोकटोक हुन नदिन तथा सडकमा ट्राफिक जाम हुने अवस्था सृजना नगर्न जोर बिजोर नियम बुधबारदेखि नै लागु गरिएको छ । त्रिभुवन बिमानस्थलमा यात्रु बाहेकलाई प्रवेश निशेष गरिएको छ भने भिआइपी आउने र जाने समयका क्रममा ३ घण्टालाई उडान तथा अवतरण बन्द गरिएको छ ।
७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखको जमघट
बिमस्टेकमा नेपालसहित ७ सदस्य राष्ट्रका प्रमुखहरुको जमघट हुँदैछ । यो क्रम मंगलबारबाटै सुरु भइसकेको छ । बिहिबार उद्घाटन हुने बिमस्टेक सम्मेलन अघि नै भारत, भुटान म्यानमार, श्रीलंका, थाइल्याण्ड, म्यानमार र नेपालका सरकार तथा राष्ट्र प्रमुखको जमघट हुनेछ ।
काठमाण्डौस्थित होटल सोल्टिमा हुने कार्यक्रमका लागि मंगलबारदेखि नै बिदेशी पाहुनाको आगमन सुरु भइसकेको छ । मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइसकेका छन भने बुधबार बिहानै भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइसकेका छन । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता हुनेछ । सम्मेलनले बहुपक्षीय आर्थिक हितका खातिर बिभिन्न एजेण्डाहरुमा सहमति गर्नेछ ।