डा.इन्दु प्रभा देवी असममा रहेर नेपाली साहित्यकर्ममा निरन्तर रहिरहेको एउटा सिद्धहस्त नाम हो ।
गमिरि,असम मा सन् १९६९ मा जन्मनुभएकी इन्दु प्रभा देवीका माता पीता पुष्प दवाडी , श्रीमती राधिका दवाडी हुनुहुन्छ । एम.ए (असमीया १९९३, नेपाली २०१३ ), एम.फिल (लोकसंस्कृति १९९६), पी,एच,डी ( असमीया र नेपाली भाषाको रूपतत्वः एक तुलनामूलक अध्ययन) गौहाटी विश्वविद्यालय को औपचारिक अध्ययन पुरागर्नुभएकी देवी अहिले त्यहाँको नेपाली साहित्यकर्ममा क्रियासिल ब्यक्तित्व हुन । सहयोगी अध्यापिका,असमीया विभाग,वि बरुवा कलेजमा कार्यारत छिन् ।
निकै लामो समय देखी क्रियासिल डा. इन्दु प्रभा देवीका हालसम्म ‘माधव कन्दलि र रामायण (माधव कन्दलिकृत असमीया रामायणको अयोध्या काण्डको नेपाली अनुवाद,२००६’,‘सपनाको जरो पहिल्याउँदै (कविता संग्रह,२००७)’ ‘शब्दशिल्पर कारुकार्य(असमीया निबन्ध संकलन,२०१०)’,‘एक सय लिमारिक (हास्य व्यङ्ग्य मुक्तक संग्रह,२०११)’, ‘ती पाइलाहरू(कविता संग्रह,२०१२)’,‘प्राप्ति अप्राप्ति (कथासंग्रह,२०१७)’,‘तबेलामा घोडाहरू (कविता संग्रह,२०१८)’ प्रकाशीत छन् ।
त्यस्तै गरेर उनिद्वारा सह–सम्पादित कृतिः(असमीया)‘आधुनिक असमीया नाटकःविचार आरु विश्लेषण(२०१५)’,‘हेम बरुवार कविता विचार (२०१५)’,‘असम साहित्य सभाः मनन आरु मन्थन’ पनि प्रकाशित छन ।
बि.आर.बि रोड,घर नं–१३,हेप्पीभिला,बारोवारी,गुवाहाटी–३, कि स्थाइ बासिन्दा डा. इन्दु प्रभा देवी साहित्यिक गतिबिधीमा कृयाशिल छिन् । उनी कामरूप जिल्ला समिति,असम नेपाली साहित्य सभाको सभापती हुन ।
त्यस्तै गरेर सदस्य, असम साहित्य सभा र सदस्य, असम लेखिका संस्था समेत रहेकि उनि,(हरिभक्त कटुवाल स्मृति पुरस्कार,(२००८), कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार,(२०१६), हाम्रो गौरव सम्मान (हाम्रो स्वाभिमानद्वारा), (२०१७) बट पुरस्कृत समेत भईसकेकि छिन ।
उनै साहित्यकार डा. इन्दु प्रभा देवी सँग ग्लोवलपोष्ट का निम्ती नेपालबाट ज्योति भट्टराईले गरेको कुराकानी हामिले प्रस्तुत गरेका छौं ।
तपाई को बिचारमा भाषा के हो ?
भाषा मानव सभ्यताको सर्वोत्कृष्ट उपज हो, महत्तम उपलब्धि हो । मनका अनुभव र विचार सम्प्रेषणको र आदानप्रदानको सशक्त माध्यम हुनाले भाषा मानिसलाई सामाजिक र जीवश्रेष्ठ बनाउने कारण पनि हो ।
भाषा र समुदायको संम्बन्ध कस्तो हुन्छ ?
भाषा र समुदायको सम्बन्ध नङमासुजस्तै हुन्छ । एउटा भाषा कुनै समाज वा समुदायमै उत्पन्न हुन्छ, विकशित हुन्छ । समुदायले शब्दमा दिएको यादृच्छिक अर्थलाई कुनै प्रश्नै नगरी निःसङ्कोच स्वीकार गर्दै पारम्परिक रूपमा मानिसले भाषा सिक्छन् र त्यही भाषाबाट पछि त्यो समुदायको हितका निम्ति काम गर्छन् । भाषाबिनाको समुदाय वा समुदायबिनाको भाषा कल्पना गर्न नसकिने कुरा हो ।
असममा बसेर नेपाली साहित्यमा कार्यरत हुनुहुन्छ, के कस्ता अप्ठेरा र सजीलाहरु छन तपाई को साहित्य कर्ममा ?
सजिलाभन्दा अप्ठेरा धेरै छन् । म जहाँ हुर्किएँ,त्यहाँ नेपाली माध्यममा पढ्ने अथवा नेपाली विषय पढ्ने सुविधा थिएन । अझै छैन । हामी असमका धेरजसोले असमीया माध्यममा र अल्पसङ्ख्यकले हिन्दी वा अंग्रेजी माध्यममा पढेका हौँ । नेपाली भाषा आफ्नै घरमा सिकेर, आफ्नै अनुरागले नेपाली साहित्य पढेर यहाँ साहित्यचर्चा गर्छौँ । नेपाली पुस्तक विक्री वितरणको सुविधा पनि कम छ । असमका अनेक सामाजिक राजनैतिक संकटहरूकै बीच केही लेखेर आफ्नै खर्चले पुस्तक छापेर साहित्यलाई टेवा पुर्याउनु पर्ने स्थिति छ । प्रकाशकहरू पनि अघि बढेर आउँदैनन् ।
सजिलो यहाँ यही छ,यहाँको भाषासाहित्य सिक्ने मौका पाउनाले हाम्रो चिन्तनलाई थप मदद पु्¥याएको छ । अनुवाद र तुलनामूलक अध्ययनको क्षेत्र पनि फष्टाएको छ । मौलिक रचनामा यहाँका जनजीवन र प्रकृति आधार बनेर आएका छन् । मेरो आफ्नो साहित्यकर्ममा पनि यिनै अप्ठेरा र सजिलाहरु छन् ।
कविता तपाईको बिचारमा के हो ?
कविता साहित्यको त्यो विधा हो जसमा शब्दले अर्थभन्दा पनि माथि अर्कै अर्थ खोजिबस्छ । शब्दले ब्रह्म हुनुको प्रकृत तात्पर्य बोक्छ कवितामा । मलाई लाग्छ, जीवनलाई अमरत्व दिन सक्ने अमृतबिन्दुजस्तो हो कविता । यसले सहृदय पाठकलाई आफ्ना थोरै शब्दद्वारा नै भावको अथाह समुद्रमा, अनिर्वचनीय आनन्दमा पौडिनलाई छोडिदिन्छ । पाठकको मन र अहंकारसहितै चित्तवृत्ति र बुद्धिवृत्तिलाई सजिलै छोइबस्छ असल कविताले ।
कबि बाँचेको परिबेश र उस्को राजनैतिक परिबेशले कबिको भाष्यमा के कस्तो प्रभाब पर्छ ?
कविताका मुख्य विषय सधैँ केवल दुइटा हुन्छन् (जीवन र प्रकृति)। तसर्थ कवि बाँचेको प्राकृतिक वा सामाजिक अथवा राजनैतिक परिवेश कवितामा आएकै हुन्छ । कवि समाजबाट भिन्न सत्ता होइन । उसले भोगेको वा देखेको यथार्थलाई उसले नकोरिसक्दैन । उसको भाष्यमा त्यो परिवेश मुख्य वा गौण रूपमा झल्किन्छ नै ।
भारतमा रहेर नेपाली भाषामा कलम चलाउनेहरुलाई तपाई के भन्नुहुन्छ ? भारतीय नेपालीभाषी साहित्यकार की नेपाली डायस्पोरिक साहित्यकार ?
भारतीय नेपालीभाषी साहित्यकार भन्छु ।
भारतका गोर्खाहरूले यहाँ कयौँ पुस्ता बिताइसके । न अब यहाँ नेपालबाट प्रबासिने पीडा छ, न त्यस्तो केही पीडाको साहित्यिक अभिव्यक्ति । अहिलेको जमात विस्थापित जमात होइन । एउटा समयमा कतिपय लेखकका रचनामा प्रबासी हुने दुःखको झलक पाइन्थ्यो, लाग्थ्यो यो डायोस्पोरिक साहित्य होला । अहिले त्यस्तो अनुभवको ‘अ’ सम्म छैन जब, डायोस्पोरिक भन्न कसरी मिल्छ ?
आसममा रहेर साहित्यकर्म गरिरहनुभएका साहित्यकारहरुमा लिल बहादुर क्षेत्री पश्चात नेपालमा प्रत्यक्ष अरु साहित्यकारहरु किन चिनजान नभएको होला जस्तो लाग्छ तपाई लाई ?
नचिनिएका होइनन् तपाईँलाई थाहा होला, हरिभक्त कटुवाल चिनिएका थिए । तर अरूअरू साहित्यकार नचिनिएका कतिपय कारण यस्ता होलान् :
क) उनीहरूको लेखनको पृष्ठभूमि लीलबहादुर क्षत्रीको बसाईँको पृष्ठभूमिझैँ नेपाल भएन ।
ख) बसाईँ उतैको साझा प्रकाशनले छपायो । तर यताका अरू प्रतिष्ठित लेखकहरूका कृति यतैका प्रकाशकले छपाउँनाले होला नेपालमा यी साहित्यिकहरू त्यति चिनजान भएनन् ।
ग) उताका प्रकाशित पुस्तकहरू यता आउँछन् तर यताबाट उता पुस्तकहरू पुग्ने सजिलो व्यवस्था छैन ।
तपाई पेशाका हिसाबले प्राध्यापक हुनुहुन्छ, त्यहाँको नेपालीभाषाको बिकासको स्थितीलाई कसरि हेरिरहनुभएको छ ? सन्तुष्ट हुनुहुन्छ कि छैन ?
हिजोआज यहाँ सबै आफ्नो भाषाप्रति जागरुक भएका छन् । जमीनमा गाडिएका आफ्ना जरा खोज्ने क्रम सुरु भएको छ । असमिया संगसंगै नेपाली भाषा सिक्ने र पढ्ने इच्छा बढेको छ । स्कुल कलेजको माध्यम जे भए पनि गौहाटी विश्वविद्यालयको क्ष्म्इी बाट नेपालीमा एम.ए. गर्ने सुविधा लिएका छन् । धेरैजनाले साहित्यिक संस्था लगायत अन्य जातीय संस्थाहरूको कार्यक्रममा भागिदारिता बढेको छ । हाम्रा युवा पीढी आफ्नो जाति र भाषाप्रति सचेत हुँदै कलेजकलेजमा आफ्ना भाषाका साहित्यिक संस्थाहरू खोल्दैछन । सबै उत्साही छन अहिले आफ्नो भाषाको निम्ति केही गरेर देखाउन र यस्तो देखेर एउटा सन्तुष्टि आउँछ मेरा मनमा (अनागत दिनमा भारतको पूर्वतिरको यो सबैभन्दा पहिला घाम उदाउने देशमा बस्ने हामीहरूको भाषासाहित्य पनि झलमल हुने नै छ ।
तपाई बिधागत हिसाबले कबिता कर्ममा बढिहुनुहुन्छ, साहित्यका अन्य बिधा भन्दा किन कबितालाई रोज्नुभएको हो ? धेरैले यस्लाई कम चल्तिको बिधा भन्छन (बजारका हिसाबले) तपाई ले भने कबिता संग्रहनै प्रकाशित गर्न लाग्नुभएको छ किन ?
म कविता मात्र लेख्दिन,कथा पनि लेख्छु,निबन्ध पनि । मेरो कथासङ्ग्रह ‘प्राप्तिअप्राप्ति’ पोहोरसाल दिल्लीमा भएको भाषादिवसमा विमोचन भएको हो । तर पहिला मैले कविता नै लेखेँ र पाठकबीच परिचित भएँ । मैले पहिलै भनिहालेँ यहाँ विक्री वितरणको सहज व्यवस्था नै छैन । र त्यसैले बजारको कुरा त्यति सोचिँदैन । मलाई किन हो किन कविता असाध्ये मन पर्छ । कलेजमा पनि म असमिया वा पालिप्राकृत भाषासंगसंगै असमिया कविता पढाउने गर्छु । कविताप्रतिको गहीरो अनुरागले नै मलाई यो चौथो कवितासङ्ग्रह प्रकाश गर्न अघिबढाएको हो ।
तपाई आफुले जानेका अन्य भाषामा लेख्नुहुन्छ कि लेख्नुहुन्न ?
म असमिया विभागकी प्राध्यापिका हूँ । नेपालीमा मैले पछि क्ष्म्इीबाट एम. ए. गरेकी हूँ । लोकसंस्कृति विभागमा एम.फिल र असमिया विभागमै विद्यावारिधि भएको हो मेरो । तसर्थ मैले असमिया भाषामा नलेख्ने कुरै आएन । मैले नेपाली भाषामा पछि लेख्न थालेकी हूँ, पहिला त असमियामै लेख्थेँ । असमियामा लेखिएका कथा,कविताहरू छन तर सङंकलित गरेकी छुइन अहिलेसम्म । ‘शब्दशिल्पर कारुकार्य’ शीर्षक असमिया निबन्ध सङ्ग्रह भने सन् २०१० मा प्रकाशित भएको छ । त्यसपछि लेखिएका अरू खोजपरक निबन्धहरू पनि छन । कुनै दिन संकलित गर्नेछु । असमिया सहसम्पादित कृति पनि छन तीनवटा ।
आञ्चलिकताका हिसाबले असममा बोलिने लवज केहि फरक लाग्छन, र त्यहाँको साहित्य पनि केहि फरक लाग्छन साहित्यमा आएका आञ्चलिकताले भाषामा के कस्ता प्रभाब पार्दछन जस्तो लाग्छ तपाई लाई ?
स्वाभाविक कुरा हो यो । मलाई लाग्छ आञ्चलिकताको छाप ठाउँ विशेषको साहित्यलाई समृद्ध पार्ने विशेषता नै हो । विशेषगरी साहित्यको शब्दरचना,रूपरचना र वाक्यरचनामा स्थानीय प्रभाव परेको देखिन्छ । तर शब्दरचनाको क्षेत्रमा यो प्रभाव बढी हुन्छ । यहाँनेर एउटा कुरा उल्लेख गर्न मन लाग्यो, यो विशेषता यहाँको साहित्यमा मात्रै छैन, पश्चिमबङ्गको नेपाली साहित्यमा पनि छ, नेपालकै साहित्यमा पनि छ । असममा र पश्चिमबङ्गमा ‘अभिनन्दन’लाई ‘सम्बर्धना’ पनि भनिन्छ, ‘योगदान’लाई ‘अवदान’ पनि भनिन्छ । नेपालका कतिपय साहित्यमा पश्चिम नेपालको भाषाको छाप पाइन्छ भने कतिपयमा हिन्दी उर्दुको । हामी यहाँ असममा नेपाली भाषाका दन्तेकथा, तुक्का, उखान, लोकरीतिनीति आदि हरेक पारम्परिक साहित्य र लोकसंस्कृतिसितै असमिया लोककथा, प्रवाद प्रवचन, लोकविश्वास,,रीतिनीति आदिलाई अंगालेर हिँडेका छौँ । सुनकेस्री रानीको कथा सुन्दा वा सम्झिँदा असमिया तेजीमलाको कथा हाम्रा मनमा आइहाल्छ, नेपाली उखान तुक्का भन्न खोज्दा असमिया प्रवाद प्रवचन त्यही बीचमा मनबाट बाहिरिन खोज्छन् । असमिया अनेक शब्द हाम्रा दैनिक प्रयोग गरिने जीवनका शब्दकोषमा पसिसकेका छन्, पचिसकेका छन । साहित्यमा धेरै सचेत भएर लेख्दा मात्र शुद्ध नेपाली लेखिन्छ, नभए यहाँको हाम्रो संमिश्रित भाषाको छाप परिहाल्छ । संमिश्रित जीवनको छाप त सचेतै भए पनि पर्छ नै । तर पचिसकेका स्थानीय शब्द साहित्यमा आए साहित्य समृद्ध नै हुन्छ । किनकि साहित्य गतिशील तत्व हो, यसले लिन पनि जान्दछ, दिन पनि । हामीले साहित्यमा अंग्रेजी शब्द प्रयोग गर्दा हुने तर आफ्ना स्थानीय शब्दहरू प्रयोग गर्न नहुने केही कुरा छैन ।
तपाई को कबिता संग्रह ‘तबेलामा घोडाहरु’ भित्र के कस्ता कबिताहरु छन ?
यस सङ्ग्रहमा ५० वटा कविता छन् र ती कविताहरूमा जातीयचेतना, नारीवादी चेतना, अस्तित्वबोधको संकट, सामाजिक विसंगति, समकालीन पीडा आदि नै अभिव्यक्त भएका छन् । यस प्रसङ्गमा ‘तबेलामा घोडाहरू’मा मैले लेखेको आत्मकथनबाटै अलिकति उद्धृत गर्न मन लाग्यो
(‘‘आधुनिक र समकालीन कविताले ती जनताको कुरा गर्छ जो कविताबाट धेरै टाढा छन् । जीवन धान्ने बाटामा सङ्घर्षरत ती निमुखा हेपिएका मान्छेहरूका पक्षमा, तिनीहरूका निम्ति कविताले बोलिरहन्छ । रङ्गिन दिनको चाहनाको भारी बोकेर कविताले काँढा टिप्ने काम पनि गरिरहेको हुन्छ, काँढामा हिँड्ने काम पनि । कविताले युद्धमा रक्ताम्मे एक्लो विच्छिन्न सत्ताले आफ्नो रगत आफै पुछ्नु पर्ने असहाय हाहाकारको कुरा गर्छ, त्यो हाहाकारले जन्माएको विद्रोहको कुरा गर्छ । खुनजस्तो जूनको कुरा गर्छ, आफ्नै रापमा डढेको घामको कुरा गर्छ । माटामाथि उम्रदै गरेका बिरुवाहरूमा बिसाएर कविताले कहिले मुमूर्षू चराको कण्ठ भई कौलास्छ, कहिले बाहिरको र सर्जकको मनको गहन कोलाहलमा डुबेर चिच्याउँछ । जीवन र जगतका निम्ति कहिले आगो फुक्छ, कहिले वर्षा बन्छ । अनि प्रयोगको कुरा के गरौँ । अस्थिर अडानमा उभिएको जीवनको अर्थको खोजीमा कयौँपल्ट नाघ्ने गर्छ शब्दका सोझा चलित अर्थका परिधिहरू । नवीन बाटो हुँदै पाठक मनसम्म पुग्ने रहरमा कयौँपल्ट छोडिहिँड्छ चलित बाटाका परिचित कुइनेटाहरू । यस सङ्ग्रहका कविताहरूले पनि माथि भनेजस्तै केके कुराहरू गरेका छन् आफ्नै धुनमा ।’’)
कबिताका निम्ती बिचार प्रधान हुन्छन कि कला प्रधान हुन्छन् जस्तो लाग्छ तपाई लाई ?
‘तेरो दाहिने हात ठुलो कि देब्रे? भनेर सोध्दा म यसरी नै अकमक्क पर्छु होला । विचार मात्रै कविता हुन्थ्यो भने संसारका सबै कवि हुने थिए । विचार वा भावको अभिव्यक्ति मात्रै कविता होइन, यद्यपि कवितामा विचार त लुकेकै हुन्छ । कला मात्र प्रधान भयो भने पनि त्यो कविता हुँदैन । कविले विचार र कलाको समुचित समन्वय राख्न सके मात्र कविता उत्कृष्ट हुन्छ । तर त्यही हो, विचार दाहिने हात त कला देब्रे हात । कुनैको काम धेर होला कुनैको कम, तर अप्रधान त कुनै होइनन् । ठीक भनेका थिए कलरिजले– एयभतचथ ष्क तजभ द्यभकत धयचमक ष्ल तजभ दभकत यचमभच।
साहित्यकारको आफ्ना बुझाई साहित्यमा ल्याउँदा के के कुरामा ध्यान दिनुपर्दछ जस्तो लाग्छ तपाई लाई ?
यस प्रसङ्गमा साहित्यिकले मनन् गर्नु पर्ने पहिलो कुरा हो,यो बुझाई समाजको निम्ति हितकारी हो कि होइन । हो भने पनि साहित्यिकारले आफ्नो बुझाईलाई सोझै उतार्नु चाहिँ भएन । अर्ती नै दिनु छ भने पनि त्यो परोक्ष रूपमा पाठकसमक्ष पुगोस । कलात्मक साहित्यिक भाषा निर्माण गर्न सके मात्र साहित्य रुचिकर हुन्छ । तथ्यहरूको दस्तावेज,ऐतिहासिक कुराहरूको सङ्गालो मननशील साहित्य बन्छ, तर सृष्टिशील साहित्यको निम्ति स्वैरकल्पना पनि चाहिन्छ र उत्कृष्ट संरचना पनि । साहित्यिकले पनि जीवन भोगेको हुन्छ, नजिकबाट देखेको हुन्छ र तेसैले साहित्यमा उसको बुझाई वा जीवन जगतप्रतिको दृष्टि आउँछ नै र आउनु पर्छ नै । साहित्यिकले त्यो बुझाई र दृष्टिलाई परोक्षरूपमा, मनोज्ञरूपमा उतार्न सक्नु पर्दछ ।
साहित्यकारहरु चिन्तक हुनपर्छ कि पर्दैन ? बिना चिन्तनको साहित्यले के कस्ता असरहरु समाजमा पर्नेगरेका छन जस्तो लाग्छ तपाई लाई ?
किन पर्दैन ? साहित्यिकवर्ग नै समाजको सबैभन्दा सचेत र अध्ययनशील वर्ग मानिन्छ । साहित्यिकको जति गहीरो चिन्तन हुन्छ, उति नै त्यो साहित्य पठनीय हुन्छ, महत हुन्छ । विश्वका अमर साहित्यकृतिहरू हेर्नुहोस,त ? केले अमर भएका छन् ? चिन्तनले ।
गहीरो चिन्तनबिनाका साहित्य केवल सङ्ख्या बढाउने काममा आउलान्, हितकारी काममा आउँदैनन् । दुरदर्शी चिन्तन नहुने,जीवनमुखी चिन्तन नहुने साहित्यकर्मले पहिला त साहित्यकै क्षति गर्छ र त्यसपछि समाजको र वर्तमान तथा आउँदो पीढीको ।
समाज र साहित्यबिचको संम्बन्ध के कस्तो हून्छ ?
साहित्यबिनाको समाजको कुरा सोचिहेरौँ त ? अहँ, सोच्नै सकिन्न । निस्पट्ट अँध्यारो रातजस्तो, मरेको नदीजस्तो, सुकेको रूखजस्तो, फुटेको खेतजस्तो । अनि समाजबिनाको साहित्य ?
दुबै एकअर्कासित सम्पृक्त छन । समाज छ र साहित्यको सिर्जना भएको छ, साहित्य छ र समाज जीवनका महत्तम उपलब्धिले मुखरित भएको छ ।
तपाई यस कृतीबाट कत्तिको आशाबादी हुनुहुन्छ ?
यस सङ्ग्रहका कतिपय कविता मैले असममा मात्र होइन मिजोरम,मणिपुर र दिल्लीमा वाचन गरेकिथिएँ । श्रोताहरूले मन पराउनु भएको थियो र मलाई लाग्छ पाठकले रुचाउनु हुनेछ यो कृति ।
नेपाली साहित्यको अन्तराष्ट्रियकरणका निम्ती के कस्ता कदम चाल्नुपर्दछ जस्तो लाग्छ तपाई लाई ?
हिजोआज अन्तराष्ट्रिय साहित्यिक संस्था खोलिएका छन् र ती संस्थाले केही पदक्षेप लिँदै पनि छन । यो ग्लोबलपोष्टले पनि त काम गर्दैछ । विश्वमा छरिएर बसेका साहित्यिक(समालोचकहरूलाई विभिन्न ठाउँमा भेला पारेर साहित्यको गतिविधिहरू केलाउने, विभिन्न ठाउँका साहित्यिक कृतिहरू एकत्रित पारेर ती माथि विमर्श गर्ने, पुरस्कार दिने, विश्व स्तरका पत्रिकाहरू प्रकाश गर्ने आदि कामलाई निरन्तरता दिने जस्ता कदमहरू चाल्नु पर्छ भन्ने लाग्छ मलाई ।
संसारभरि छरिएर रहनुभएका हाम्रा पाठकहरुलाई आफ्नो साहित्यकर्म र असमको नेपालीभाषी साहित्यको स्थितीको बारेमा के भन्न चाहानुहुन्छ ?
पहिला असमको नेपाली साहित्यको कुरा गरौँ । सिक्किम र दार्जिलिङपछि नै भारतका अरू राज्यभन्दा नेपाली साहित्यको विकास असममा बढी छ । कविता,कथा, निबन्ध, अनुवाद र तुलनामूलक साहित्य विधा यहाँ फस्टाएका छन् भने नाटक,उपन्यास,बालसाहित्य र समालोचना कम फष्टाएका विधा हुन । दुइटा मौलिक उपन्यासले, एउटा कविताकृतिले, एउटा बालसाहित्यकृतिले अहिलेसम्म साहित्य अकादेमी पुरस्कार प्राप्त गरिसकेका छन् भने अनुवादमा धेरैजनाले यो पुरस्कार थापिसकेका छन् । आधुनिक युगमा पसेपछि स्वच्छन्दावादी,प्रगतिवादी,नवप्रगतिवादी हुँदै अहिले सन १९८० पछि समकालीन प्रवृत्ति लिएर साहित्य रचना हुँदैछन् यहाँ । पत्र पत्रिकाको कमी हुनु,समालोचकको अभाव हुनु, विक्री वितरणको सहज सुविधाहरू नहुनु,अन्य भाषा पढेर आफ्नै प्रयासमा नेपाली साहित्य चर्चामा अग्रसर हुनु पर्ने स्थितिमा रहनु जस्ता अप्ठेराहरू झेलेर पनि यहाँ जेजति साहित्य रचिएका छन् ,तिनीहरूको अवश्य पनि आफ्नै महत्त्व छ ।
अब आफ्नो साहित्यकर्मको कुरा गरौँ । मेरो पहिलो कृति अनुवाद हो । चौधौँ शताब्दीका असमिया कवि माधव कन्दलि रचित रामायणको अयोध्या काण्डको अनुवाद । २००६ सनमा साहित्य अकादेमी, कोलकाताले प्रकाश गरेको । त्यसपछि सन् २००७ मा मेरो पहिलो मौलिक कवितासङ्ग्रह ‘सपनाको जरो पहिल्याउँदै’ प्रकाशित भयो । २०१० मा असमिया निबन्ध सङ्ग्रह ‘शब्दशिल्पर कारुकार्य’, २०११ मा हास्यव्यङ्ग्य मुक्तक सङ्ग्रह ‘एक सय लिमारिक’, २०१२ मा कविता सङ्ग्रह ‘ती पाइलाहरू’, २०१७ मा कथा सङ्ग्रह ‘प्राप्तिअप्राप्ति’ प्रकाशित भएका हुन् । भने हालै २०१८ मा कविता सङ्ग्रह ‘तबेलामा घोडाहरू’ प्रकाशमा आएको छ । मेरो पहिलो कविता सङ्ग्रहले यहाँ हरिभक्त कटुवाल स्मृति पुरस्कार र ‘ती पाइलाहरूले’ कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार प्राप्त गरेका छन् । मेरो हास्यव्यङ्ग्य कवितासङ्ग्रहलाई नेपाली भाषामा लिमारिक शैलीको सर्वप्रथम मुक्तक सङ्ग्रह हो भनी यहाँका वरिष्ठ कवि नव सापकोटा लगायत अन्य एक दुइजना साहित्यिकले मन्तव्य गरेका छन । मेरा निम्ति यी साहस हुन साहित्यकर्ममा अघि बढने ।
तपाईले पनि त यो प्रश्नावली पठाएर अर्को साहस दिनुभएको छ ।
अन्त्यमा आफ्ना केहि कुरा छुटेका छन भन्ने लाग्छ भने भनिदिनुहुन अनुरोध गर्दछु ?
छुटेका कुरा सधैँ धेरै हुन्छन् बोलेकाभन्दा, लेखेकाभन्दा । छुटेका कुरा आज नगरौँ । असमाप्त वार्तालापले मात्र अर्काे वार्तालापको मौका दिने छ । कि कसो हो,भन्नु त ?
तपाईलाई र ग्लोबलपोष्टका कर्मकर्तालाई हार्दिक धन्यवाद ।