कविता
आमा !
मलाई तिमी मातेको मन पर्छ
मातेकै सुरुमा
यो नरभक्षी व्यवस्थाले जन्माएको
हिटलरको दरसन्तान जस्तो बाउसँग
मुखमुखै लागेको मनपर्छ
तिम्रो सपना रुँदै हिँड्ने
त्यो एकान्त डगरमा
तिमी मातेर लर्बराउँदै हिँडेको मनपर्छ
आमा तिमी मातेको मन पर्छ
अरुबेला तिमीसँग त्यत्रो हिम्मत कहाँ ?
अरुबेला तिमीसँग त्यत्रो शाहस कहाँ ?
तिमी त आमा कम, नोकर बढी देखिन्छौ
दाम्लाले बाँधिएकी दासी जस्ती देखिन्छौ
दुःखको ढिकी–जाँतोले
तिमीलाई पच्छ्याउँछ कहिल्यै छाडेन
आधारातमा उठेर मकै पिस्यो
मकैसँग केही घुन पिस्यौ
तर पिसेनौ कहिल्यै उपियाँ
दासताको झन्डा बोकेर उफ्रिरह्यो उपियाँ
र छाया बनेर पच्छाइरह्यो तिमीलाई
झिसमिसे मै उठेर ढिकी कुट्यौ
तर ढिकी कुटेनौ तिमीले
ढिकीले तिमीलाई कुटिरह्यो
कंगारुको जस्तो कुप्रियो तिम्रो शरिर
कुल्चिदियो मलाई ताते गराउँने औँलाहरु
आज त्यही बांगो औँला देखाउँदै
आगनमा निस्किएर
सारा दुनियाँलाई गाली गरेको मन पर्छ
आमा तिमी मातेको मनपर्छ ।
गैरीगाउँको चमेली फूपूलाई
कुनै अन्जान परदेशीले पेट बोकाएर गयो
कहिल्यै नफर्किने परदेशीको नाममा
गलबन्दी बुनेर बसेकी छिन् फुपू
तिनै बन्न नसकेकी लाहुरेनी फुपुलाई
चौतारामा घिस्याउँदै ल्याएर
मैलो सारी माथिमाथि उचाल्न लगाइ
नाच्न लगाएको मनपर्छ
बोक्सीको आरोपमा
मलमुत्र खुवाए दमिनी बज्यैलाई
न्यालालयको तराजुमा
सँधै पराचित भो बज्यैको आँशु
उनै बज्यैको हातमा हसियाँ थमाइ
सडक बीचमा उभिन लगाएको मनपर्छ
तिमी मातेपछि
जड्याह बाउलाई ढोकाभित्र थुनेर
कुखुरा बेच्न बजार जान्छौ
कोठाभित्र थुनिएको
त्यो अत्याचारी बाउको अनुहारमा दौडिने
त्रासको रंग मनपर्छ
आमा तिमी मातेको मनपर्छ ।
तिम्रो आँला जस्तै
बांगिएको छ जिन्दगी
तिम्रो ढाड जस्तै
कुप्रिएको छ रहर
तिमी त वंश धानिदिने
आँशुको इन्जिनले चल्ने मेसिन
उहिल्यै जात्राबाट तिमीलाई
बाउले घिसारेर ल्याउँदा
उतै बनको बाटोमा छुट्यो तिम्रो पच्छौरी
त्यही पच्छौरीसँगै छुट्यो
जीवनका तमाम रहरलाग्दा अध्यायहरू
त्यसपछि तिमी
कहिल्यै नबिसाउने दुःखको रेलमा
यात्रा गरिरह्यौ एक्लै
आमा तिमी मात
तिमी मातेको मनपर्छ ।
यो पृथ्वी तिम्रै रगत चुसी
मातिरहेको छ आदिमकालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ तिमीमाथि
आमा, तिमी मात
मलाई तिमी मातेको मन पर्छ ।
दिनचर्या
बिहान
बल्छीमा फट्याङ्ग्रा उनेर
नदी किनारामा उभिन्छु
दिउँसो
सिलमा माछा उनेर
बजारको डिलमा उभिन्छु
बेलुकी
आफैंलाई नाम्लोमा उनेर
सुपरमार्केटको गेटमा उभिन्छु
मेरो देश
ठ्याक्कै म जस्तै छ
बिहान
बल्छीमा रोटी उनेर
भोको बस्तीमा उभिन्छ
बेलुकी
भोको मान्छेलाई नै बल्छीमा उनेर
कर्पोरेट बिल्डिङबाहिर उभिन्छ ।