नारायण गाउँले मेरा फेसबुके साथी हुन् | उनको र मेरो फेसबुकमा बाहेक भेट भएकै छैन | उनी बेलायतमा वसोवास गर्छन् | आज उनको फेसबुकले स्वस्थानीका विषयमा बोलेको छ | उनी बेलायतमा बसेर पनि स्वस्थानीको कुरा गरिरहेका छन् | किनभने स्वस्थानी उनको आफ्नो पहिचानसंग जोडिएको कथा हो, उनको आफ्नो स्वस्थानी हो | उनको स्वस्थानीले उनलाई तान्यो, उनी तानिए | सबैको आ-आफ्नो स्वस्थानी छ | वेलायतमा धेरै देशका मान्छे वस्छन् | ती सबै आफ्नो स्वस्थानीमा बाँचिरहेका छन् | आफ्नो स्वस्थानीसंग जीवित छन् | भाषा फरक होला, कथा फरक होला, नवराज र गोमा नहोलान् तर कुनै पनि स्वस्थानी बाहिर छैननन् | मैले लेख्दै गरेका हरेक फरफका स्रोत नारायण नै हुन् किनभने उनको लेखनले मलाई स्वस्थानीतिर तानेको छ | मैले स्वस्थानीका विषयमा लेख्दैछु |
नारायण र मेरो स्वस्थानी मिल्छ | मैले मेरो स्वस्थानीलाई माया गर्छु र उनले पनि गर्दा रहेछन् | तर सबैले हाम्रो स्वस्थानीलाई नै माया गरुन् भन्ने पटक्कै छैन | किनभने मान्छेका आ-आफ्ना स्वस्थानी हुन्छन् | सबै मान्छेहरू नवराज र गोमासंग जोडिएको हामी नेपालीको स्वस्थानीसंग अभ्यस्त हुनुजरुरी छैन | स्वस्थानीका आ-आफ्ना पक्ष होलान् तर यसले उठान गरेको कुराले एउटा सत्य खोल्छ, त्यो हो – मान्छेको समाज र सामाजिक सांस्कृतिक मान्यता र पहिचानका आधारहरू कथा नै हुन्छन् | यदि कुनै समाजबाट त्यस समाजको कथा हटाई दियो भने न समाज जीवित रहन सक्छ न पहिचान नै नै |
स्वस्थानी अर्थात् आफ्नो ठाउँको कथा सबैसंग छ | म बाहुनको छोरो हुनुमा, पर्वतवासी हुनुमा, नेपाली हुनुमा कथा नै कथा जोडिएको छ | एउटा राई, गुरुङ, थारू, भारतीय, अमेरिकी, बेलायती हुनुमा उसको कथा नै जोडिएको हुन्छ | कथा हटाइदिने हो भने अमेरिकी र बेलायती रहन्न न राई वा गुरुङ नै रहन्छन् | मिथक, कथा, उखान, खानपान, देवी-देउता, हिमाल-पहाड, तराईको वसोवास जन्मेको, हुर्केको भोगाई तथा बुझाई यहाँसम्मको देशवासी हुनुको अहंकार समेत कथाको जरोबाट झाँगिएको हुन्छ | असलमा, हरेकका आ-आफ्ना कथाहरू तिनका आफ्ना स्वस्थानी हुन् | गोमा र नवराज मेरो स्वस्थानी हुन् |
स्वस्थानी एउटी गोमा ब्राह्मणीको कथा मात्र होइन यो स्थानीयता र पहिचानको अस्तित्व जोगाउने आन्दोलन हो | हरेक वर्ष नेपालीहरूले आफ्नो पिंढीमा बसेर स्वस्थानी अर्थात् आफ्नो कथाको स्मरण गर्छन् | आजको स्वस्थानी जुन रूपमा हामी सुन्ने सुनाउने गरिरहेका छौँ, यो एउटा प्रथाको निरन्तरता होला, तपाईंको आफ्नो, मेरो आफ्नो स्थानीयतासंग खासै सरोकार राख्ने नहोला तर हामी आफ्नो पहिचान जोगाउन स्वस्थानी अर्थात् स्थानीय कथामा निर्भर छौँ भन्ने तत्थ्यमा कसैले विमति राख्न मिल्दैन | न राइ-लिम्वुले, न बाहुनक्षेत्रीले न अमेरिकन वा वेलायतीले | सबै स्वस्थानीमा बाँधिएका छन्, कुँदिएका छन् र यसलाई बोकेर हिड्न बाध्य छन् |
हो, कथाले संस्कृतिको निर्माण गर्छ र संस्कृतिबाट कथा कुथिन्छ | कथा र संस्कृति कुन परवर्ति हो र कुन अपरवर्ती ? भन्न सकिन्न तर यी दूवै काँधमा काँध मिलाएर हिडी नै रहने छन् | समयले कथा र इतिहास बदल्न सक्दैन तर संस्कृति भने वदलिदिन्छ | आजको नेपाली समाजमा गोमा र सत्यदेवको संस्कृति छैन, न त्यस बखतको सभ्यता नै बलियो छ | आजको नेपाली समाजले सात वर्षकी छोरीलाई सत्तरीवर्षको बूढो मान्छेसंग विवाह गर्ने विषयमा सोच्न पनि सक्दैन | एस्ता कुराहरू कानुनी रूपमा वर्जित मात्र गरिएका छैनन् समाजको मनोविज्ञान नै वालविवाह वा वेमेल विवाह विरुद्ध विकसित भएको छ | यही संस्कृतिको परिवर्तन हो | इतिहास स्थायी हुन्छ, संस्कृति गण्डकीको पानीझैं निरन्तर प्रवाहशील हुन्छ |
एकजना इजरायली इतिहासकारले निकै मेहेनेत गरेर एउटा उम्दा किताव लेखेका छन् – होमो देउस | यसले पनि मान्छेको भविष्यको इतिहास विगतको कथाले मात्र सुरक्षित राख्छ भनेका छन् | निश्चय नै, कथाहरू सुरक्षित नराख्ने र यिनलाई निरन्तरता नदिने हो भने इतिहासमात्र होइन, राष्ट्र, समाज र जातिको पहिचान नै मेटिन्छ | दुर्भाग्यवस, अहिलेको नेपाली समाज आफ्नो कथा अर्थात् स्वस्थानी मेट्नका लागि आफ्नै लागि परेको छ | आफ्नो स्वस्थानी भन्दा विदेशीले लेखिदिएको स्वस्थानी पढेर सुनाउन उद्द्यत छ | छिमेकिको स्वस्थानी मेटाएर मात्र आफ्नो स्वस्थानी स्थापना गर्न सकिन्छ भन्ने घृणावादी चिन्तनको सिखार भएको छ |
अव आफ्नै स्वस्थानीको कुरा गरौँ | स्वस्थानी पढ्नका लागि माघ महिना नै चाहिन्छ | स्वस्थानी एक्लै होइन परिवारका सबै सदस्यहरू मिलेर सुनिन्छ र सबैभन्दा महत्वपूर्ण तत्थ्य यो एकमहिनासम्म निरन्तर चलिनै रहन्छ | हरेक दिन एक अध्यायको दर यसको श्रवण हुन्छ | अन्त्यमा, खास किसिमको पूजाआजा गरेर यो टुंगिन्छ | अन्तिम पूजाआजा सामाजिक हुन्छ | इष्टमित्र, छिमेकीहरूसंग सहमिलन गरेर प्रसाद साटासाट हुन्छ | पूजाआजाको विशेषता भने कै भेला र एकआपसमा भलाकुसारी नै हो |
स्वस्थानीको सम्वन्ध आफ्नापन, आफ्नाहरूसंग बढी छ | मनोबैज्ञानिकरूपमा विश्लेष्ण गर्ने हो भने स्वस्थानीले परिवार, समाजसंग कुनै कारणवस विछोडिएका सदस्यलाई पुन: परिवार र समाजमा पुन:स्थापित गर्ने प्रयास गरेको छ | यदि कथाको चुरोलाई बुझ्ने हो भने विविधकारणवस आफन्त, आफ्नो संस्कृति, परम्परा वा धर्मकर्मसंग विछोडमा परेकाहरू “स्वास्थानी”को प्रभावले पुन: भेट भएका छन् | मैले भन्नु पर्दैन – आफ्नो समाज, परिवार वा संस्कृतिसंग जोडिंदा मान्छेले प्राप्त गर्ने सुखको कुनै सीमा हुँदैन | आज पनि हरेक मान्छे आफु जन्मेको, हुर्केको ठाउँमा फर्केर अन्तिम श्वास फेर्न चाहन्छ |
सौभाग्यवस, नेपाली समाजले ब्यबस्थितरूपमा स्वस्थानीको उपक्रम गर्छ | विश्वको कुनै पनि समाजले आफ्नो स्वस्थान, स्वजाति तथा पहिचानको रक्षाको लागि एतिराम्रो उपक्रम गरेको छ भने हामीले सहकार्य गर्नुपर्छ | ग्लोबलाइजेसनका नाममा स्वस्थानीलाई स्वत: मृत्युको मुखमा पठाउन सकिन्न र हुँदैन | तर कार्लमार्क्स र हब्सआदिलाई आफ्नो कुलदेवता ठान्ने राजनैतिक नेतृत्व र अक्सफोर्ड वा क्याम्ब्रिजलाई आफ्नो ज्ञानको एकमात्र आधारमान्नेहरूका लागि आफ्नो स्वस्थानी नपच्नुलाई मैले अस्वाभाविक ठान्दिन | जिसस, कार्लमाक्स वा हब्सलाई कुलदेवताको रुपमा पूज्नेले स्वस्थानीलाई अन्धविश्वास नै भन्नेछन् | उनीहरूले स्वस्थानीलाई माया गर्नुको कुनै औचित्य पनि मैले भेट्दिन |
मैले भनिसकें गोमाको समयका धेरै संस्कृतिहरू अहिलेका लागि अस्वीकार्य र मृतप्राय भैसकेका छन् तर कथा भने बलियो रूपमा जीवित छ | यो कथाको मनोबैज्ञानिक सवलता भनेकै समाज र परिवारका सदस्यहरूलाई भावनात्मक रूपले एकआपसमा जोड्न बलियो काम गर्नुहो | हाम्रो नेपाली समाज कथाले बाँधिएको छ | कथाका आधारमा उत्सवहरू निर्मित भएका छन् | चाडवाडहरू बनेका छन् | संस्कार र परम्पराहरू निर्मित भएका छन् | यदि गहिरोसँग विचार गर्ने हो भने हाम्रा ३६५ दिनहरूका आ-आफ्ना कथा छन् र ती कथाका आधारमा हाम्रो समाज, परिवार गतिशील छ |
क्याम्ब्रिज र रोमआदिले विकास गरेको पराई तथा अधकल्चो प्रगतिशीलताका भरियाहरूका लागि स्वस्थानीका ब्रतहरू “अन्धविश्वास, नारीस्वतन्त्रताको अपहरण, पुरुष-प्रधानताको मलजल, एकलवादी चिन्तन, घोर पाश्चगामिता” हुनु स्वभाविक ठहरिन्छ | किनभने स्वस्थानीको विकासमा तिनको मृत्यु लुकेको हुन्छ | आफ्नो संस्कृतिको जग खोज्न हिंडेका रोम र पश्चिमाहरूले स्वस्थानीको सकारात्मक पक्ष खोतलेर आफ्नो लागि चिहान किन तयार परुन् ! उनीहरू यस मामिलामा आफ्नो मृत्युको लागि चिहान आफै बोकेर हिड्ने जिसस बन्न तयार नहुनुलाई अनौठो मान्न पर्दैन | स्वस्थानीको विकास भनेको स्वधर्म, स्वसंस्कृति तथा परम्पराप्रतिको समर्पण पनि हो |
माघमहिनामा पढिने र सुनिने स्वस्थानी ती कथाहरू मध्येको एउटा प्रभावशाली कथा-परम्परा हो | ब्रत/कथा सुन्न कै लागि परिवारका सदस्यहरू एकठाउँमा भेला हुन्छन् | ब्रत/कथा सुनेर त्यसमा सहमति-असहमति व्यक्त गर्छन् | ब्रत/कथाका वखत र त्यसपछि छिमकीहरूसंग अनुभव/संवाद स्थापित हुन्छन् | बालबच्चाहरूले पैसा नै नतिरी (विद्यालयले संस्कृति सिकाउने नाममा मोटो रकम असुल्छन्) आफ्नो रितिरिवाज, संस्कृति तथा पहिचान सिक्छन् | परिवार र समाज एउटा “कथा”मा बाँधिएर अगाडी बढ्छ किनभने स्वस्थानीको लक्ष नै समाज, परिवार तथा व्यक्तिलाई कथाका आधारमा जोड्नु हो |
दार्शनिकरूपमा स्वस्थानीले मानवीय कर्तब्यको पहिचान, स्थापना तथा निरन्तरताका लागि जीवित प्रेरणा दिन्छ | मान्छेलाई नैतिक जीवन बाच्न प्रेरित गर्छ | अनैतिक मान्छे कुनै पनि हालतमा कर्तब्यशील र जवावदेही हुँदैन | मन, बचन तथा कर्मका विच समन्वय गर्न नसक्ने व्यक्ति असामाजिक वा अनैतिक हुन्छ | स्वस्थानीले व्यक्तिलाई नैतिकतापूर्ण जीवन यापन गर्दै परमतत्व अर्थात् परमसत्यको साक्षात्कार गर्न अभिप्रेरित गर्छ | स्वस्थानीको स्पष्ट संदेश छ – मान्छेले सुख, आनन्द तथा लौकिक सुख प्राप्त गर्नुपर्छ तर यसको प्राप्ति अनैतिकताबाट कुनै हालतमा उपयुक्त हुँदैन |
आजको समाजमा गोमा र सत्यदेवको विवाह नैतिकताको कसौटी रहेन तर विवाह संस्था भने जीवन्त छ | आफ्नो स्वस्थानीबाट खसेका विदेशीहरूले व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिएर विवाह-संस्थालाई अनादर गर्दा त्यहाँको पारिवारिक जीवन अस्तव्यस्त भएको छ | पतिपत्नीको प्रेमपूर्ण सम्बन्ध केवल यौनाचार र कागजी प्रक्रियामा सीमित भएको छ | स्वस्थानीको कथाले आफ्नो माटोसंग अझैं भनौं आफ्नो “जरोकिलो”संग जोडिन आग्रह गर्छ | प्रगतिशीलताको नाममा स्वस्थानी अर्थात् आफ्नोपन छोड्नु भनेको अर्काको लागि आत्महत्या गर्नु नै हो | बुझ्ने हो वा बुझ नपचाउने हो भने स्वस्थानीले स्पस्ट रूपमा क्याम्ब्रिज, अक्सफोर्डहरूले आफ्नो परिवेशमा स्थापित गरेका विकासका अतिवादी मानदंडहरूका लागि आत्महत्या हामी नेपाली नगर्न प्रेरित गर्छ |
वेद, पुराण, पिटकहरूले बोलेका कथाहरू स्वस्थानी हुन् | नेपाली समाजको इतिहासको जरोकिलो यिनै कथाहरूबाट उजागर हुन्छ | मैले पढेका अधिकांश पश्चिमा कथाहरू वियोगान्तक छन् र रोद्ररसमा तिनको अन्त्य भएको भेटिन्छ तर वैदिक-पौराणिक वा स्वस्थानीहरू सधैं सम्योगान्तक र सुखान्तमा समाप्त हुन्छन् | दुखान्तमा टुंगिने स्वस्थानीले सधैं मनोबैज्ञानिक विद्रोह, कलह र भिन्नताको भविष्य निर्माण गर्छ भने सम्योगान्तक कथाले सहअस्तित्व, सहृदयता, सर्वोदयको कामना गर्छ | नेपालीहरूको स्वस्थानीले सर्वोदय अर्थात् सबैको विकासको बाटो खोल्छ | साम्यवादका कुलगुरू कार्लमार्सको विद्रोही प्रतियोगितात्मकको अन्त्य पनि नेपाली स्वस्थानी मै लेखिएको छ | प्रजातन्त्रका कुलगुरुहरूको व्यक्ति-केन्द्रित घृणावादलाई पनि यसले चुनौती दिन्छ |
यो कुरा स्वस्थानीले बोलेको छ | स्वस्थानीले “पश्चिमाहरू, इसाईहरू, मुस्लिमहरू, धर्म नमान्ने नास्तिकहरू साम्यवादलाई नै आफ्नो मूलधर्म मान्ने साम्यवादीहरू वा अरू कुनैको नाम तोकेर प्रवेश-निषेध गरेको छैन | उसले आफ्नो द्वार सवैका लागि खुला राखेको छ | कुनै शर्त थोपरेको छैन | प्रकृतिदेखि व्यक्तिसम्मको अस्तित्वलाई ख्याल गरिएको छ | कथा, कर्तब्य, इतिहास, रोमान्चकता, क्रियाकलाप र स्थानीयता नै स्वस्थानीको पदचाप हो | बुझ्नेहरूका लागि स्वस्थानी श्रीखण्ड हो र नबुझ्ने वा बुझ्न नचाहनेहरूका लागि पनि श्रीखण्ड नै हो | किनभने स्थानीय पहिचान विना कुनै सामाजिक व्यक्तिको अस्तित्व असम्भवप्राय हुन्छ -भन्ने कुरा मैले बोल्न पर्दैन |
सौभाग्यवस, नेपाली समाजले ब्यबस्थितरूपमा स्वस्थानीको उपक्रम गर्छ | विश्वको कुनै पनि समाजले आफ्नो स्वस्थान, स्वजाति तथा पहिचानको रक्षाको लागि एतिराम्रो उपक्रम गरेको छ भने हामीले सहकार्य गर्नुपर्छ | ग्लोबलाइजेसनका नाममा स्वस्थानीलाई स्वत: मृत्युको मुखमा पठाउन सकिन्न र हुँदैन | तर कार्लमार्क्स र हब्सआदिलाई आफ्नो कुलदेवता ठान्ने राजनैतिक नेतृत्व र अक्सफोर्ड वा क्याम्ब्रिजलाई आफ्नो ज्ञानको एकमात्र आधारमान्नेहरूका लागि आफ्नो स्वस्थानी नपच्नुलाई मैले अस्वाभाविक ठान्दिन |
नारायण गाउँले बेलायतबाट स्वस्थानीको कुरा उठाएका छन् | विश्वमा घृणावादको विजारोपण गर्ने वेलायती दर्शनविरुद्ध त्यहाँ रहेका नेपालीहरू आ-आफ्नो स्वस्थानी विकास गर्न एकआपसमा सहकार्य गरेर घृणावाद विरुद्ध चुनौती बन्न सक्छन् | नाक, जात, धर्म, कर्म, थलोआदिको प्राकृतिक विभिन्नता छुट्टिनका लागि होइन जोडिनका लागि हो भन्ने दर्शन स्थापित गर्न सक्छन् | मालामा उनिएका फरक-फरक फूलहरूको आफ्नो छुट्टै अस्तित्व रहन्छ नै साथैं समग्ररूपमा मालाको पनि आफ्नै अस्तित्व हुन्छ | स्वस्थानी आफ्नो अस्तित्वको रक्षाको सकारात्मक आन्दोलन हो | आफ्नो स्वत्वसंग जोडिने अहिंसक संकल्प हो | स्वस्थानी एकआपसमा जोडिने र घृणावाद विरुद्ध अभ्युदय फैलाउने चिन्तनका रुपमा विकसित होस् |
अन्त्यमा, हरेक व्यक्तिले आफ्नो स्वस्थानीप्रति समालोचनात्मक दृष्टिकोण राख्नुपर्छ तर क्याम्ब्रिज, रोम वा एकेश्वरवादीहरूले तयार पारेका घृणावादी मानदंडलाई अमृत ठानेर आफ्नै छिमेकीको स्वस्थानीप्रति घृणा गर्नुहुँदैन | वेद-त्रिपिटकहरूले अभ्युदयको कुरा गर्छन् र छिमेकीको स्वस्थानीपसंग सहकार्य नगरी सर्वअभ्युदय फलित हुनैसक्दैन | मैले स्पष्टसंग भन्नुपर्छ – छिमेकीको अर्थ नेपालका रैथाने धर्म, संस्कृति, जाति तथा परम्परा नै हुन् | यिनै हाम्रा आफ्ना स्वस्थानी हुन् | म आफ्नो स्वस्थानी र त्यसको जरोकिलोका विषयमा सजग छु तर तपाईं नि ?