अर्जुन प्रधान
रंगकर्मी विमल सुवेदीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘हिउँको गीत’ को छायांकन अमेरिका, ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउड फिल्म छायांकन गरिने स्टुडियो र पेन्सलभेनियाको पिट्सबर्गमा सम्पन्न भएको छ।
अभिनेत्री वर्षा राउत र निर्देशक तथा अभिनेता जोयस पाण्डेको मुख्य भूमिकामा रहेको यस फिल्मले नेपाली भाषी भूटानी र आप्रवासी समुदायको संघर्ष, सपना, र आकांक्षालाई समेटेको छ। भूटान, नेपाल, र अमेरिकामा जन्मेका फरक पुस्ताका कथाहरूलाई प्रस्तुत गर्दै फिल्मले भूटानी शरणार्थीहरूको पीडा र संघर्षको दस्तावेज बनाएको निर्माण टिमले जनाएको छ।
निर्देशक सुवेदीका अनुसार ‘हिउँको गीत’ नेपाली भाषी भूटानी समुदायको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेज हुनेछ। फिल्म “हिउको गित” र अंग्रेजीमा “ The Snow Singing “ एकैसमयमा छायांकन सम्पन्न्न भएको निर्देशक सुवेदीले बताए । फिल्मको कथा १२ वर्षअघि लेखिएको थियो, जसमा आधारित भएर सुवेदीले यसअघि नाटक ‘हिटलर आउँदैछ’ बनाएका थिए।
फिल्ममा वर्षा र जोयससँगै पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य, केदार उप्रेती, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाललगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा पेन्सलभेनिया र ओहायोका थुप्रै लोकेशनमा ४० भन्दा बढी कलाकारले अभिनय गरेका छन्।
नेपाल, भूटान, ताइवान, चीन, र मेक्सिकोका प्राविधिकहरूले फिल्मको निर्माणमा योगदान दिएका छन्। चिनइन गाउँलेले फिल्म खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन्।
फिल्ममा कालिप्रसाद बास्कोटा, अर्जुन रसाइली, मदन गोपाल, र डम्बर नेपालीको संगीत रहेको छ। साथै, शंकर बिसी र कौशिला खनालको नृत्य निर्देशनले फिल्मलाई थप आकर्षक बनाएको छ।
नेपाली भाषी भूटानी समुदायको संघर्षलाई विश्वसामु ल्याउने प्रयासमा ‘हिउँको गीत’ The Snow Singing “ ऐतिहासिक महत्वको कृति बन्ने अपेक्षा गरिएको छ। फिल्मलाई चाँडै नै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण टोलीले जनाएको छ।