३ माघ, काठमाडौं । सरकारले सातै वटा प्रदेशका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
तोकिएका प्रदेश प्रमुखमध्ये ५ जना कांग्रेस आबद्ध छन् । दुई जना भने राजपा र संघीय समाजवादी फोरम आवद्ध छन् । प्रदेश १ को प्रमुख भएका सुब्बा, प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर र प्रदेश ६ का दुर्गाकेशर खनाल पाँचै जना कांग्रेस आबद्ध छन् । प्रदेश २ का रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् भने प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । प्रदेश प्रमुख तोकिएसँगै अब उनिहरुले राष्ट्रपतिसमक्ष सपथ लिनेछन् सो लगत्तै राष्ट्रियसभा चुनावको बाटो समेत खुल्नेछ । यस्तै सरकारले आजै एक नम्बका लागि बिराटनगर, दुईको जनकपुर, तीनको हेटौंडा, चारको पोखरा, पाँचको रुपन्देही, छको सुर्खेत र सातको धनगढी अस्थायी मुकाम तोकेको छ । योसँगै बिगतदेखि आफ्नो क्षेत्र नै राजधानी हुनुपर्ने मागसहित आन्दोलित सर्बसाधरण थप रुष्ट बनेका छन् । यसरी रुष्ट हुनेमा धनकुटा, दाङ र दिपायलका सर्बसाधारण छन् । ती ठाउँहरुमा तनावको अवस्था सृजना भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ । तथापी अस्थायी मुकाम तोकिएको स्थानबारे कतिपय सांसद समेत असन्तुष्ट रहेपछि आन्दोलन चर्किने आंकलन भएका छन् ।