भूपाल लुइटेल/१६ कात्तिक, काठमाण्डौं । केन्द्रको प्रतिनिधी छान्न चार बर्षपछि भइरहेको यो चुनाव विगतको जस्तो संविधान बनाउनका लागि भइरहेको छैन । संविधान कार्यान्वयनका लागि संघीयता कार्यान्वयनको पहिलो खुड्किलो मानिएको यो चुनावलाई राजनीतिक दलहरुले राजनीतिक संक्रमण सकिएको र विकास र समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताइरहेका छन् ।
तर विकास गर्ने बेलामा बाहानामात्र बनाएको आरोप लगाउँदै कतिपय नयाँ उम्मेद्वारले पूराना र कहलिएका नेताहरुलाई चुनौती थपिरहेका छन् । यस्तो चुनौती काठमाण्डौं दुईमा पनि छ । जहाँ पूर्बप्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपाल र कांग्रेस पूर्ब सांसद दिपक कुइँकेल विवेकशील साझा पार्टीका उम्मेद्वार डा. सूर्यराज आचार्यको चुनौती खेपिरहेको आंकलन गरिएको छ । रौतहटको गौरमा जन्मिएका ६५ बर्षीय माधव कुमार नेपाललाई सर्बसाधारण अस्थिर राजनीतिज्ञ भनेर आलोचना गरिरहेका छन् । ०४८ सालदेखि सांसदमा पुगेका नेपालले काठमाण्डौंबाटै जित्दा पनि रौतहटको प्रतिनिधी बन्न गएकोमा यहाँका मतदाता चित्त दुःखाइरहेका छन् ।
काठमाण्डौंको कोटेश्वरमा बस्दै आएका नेपाल भने आफूले बिकास निर्माणमा मात्र नभई पार्टीको जिम्मेवारीमा रहँदासमेत महत्वपूर्ण कार्य गरेको बताउँछन् । नेपाल भन्छन् “०४७ सालको संविधान निर्माण गर्दादेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउदासम्म मैले खेलेको भूमिका अहम छैन भनेर सायदै नकारिएला ।”
राजनीतिक परिवर्तनका लागि १३ बर्षको उमेरदेखि राजनीतिमा आबद्ध भएको स्मरण गर्दै नेपाल भन्छन “जनताको जीवनस्तर परिवर्तनकै लागि भनेर बैंकमा खाएको जागिर पनि त्यागे, १५ बर्ष त भूमिगत भएर हिड्नुपर्यो त्यतिमात्र कहाँ होर अढाई बर्ष त बन्दी नै भए ।” प्रधानमन्त्री भएका बेला शान्ति प्रक्रिया टुंगोमा पुर्याउन समेत सफल भएको दावी गर्दै आइरहेका छन् । विकासै गरेन भन्नेहरुलाई नेपाल आफू प्रधानमन्त्री भएका बेला गरिव र सुकुम्बासीलाई १४ हजारसम्म घर बाढेको स्मरण गराउँदै एमाले र बामपन्थीका लागि भोट दिन आह्वान गर्दै हिडिरहेका छन् । यद्यपी आफ्नै क्षेत्रको शहरभित्रको गरिवीले पिल्सीएका र बिकास समृद्धिका भोका जनताले भने उनले राजनीतिक परिवर्तनका लागि खेलेको भूमिकालाई सम्मानै गरेपनि त्यसलाई गौण मान्न थालिसकेको टिप्पणीहरु भइरहेका छन् ।
अन्य जिल्लाकाले जस्तो यहाँका उम्मेद्वारले विकासका आधारभूत पूर्वाधार बनाउछु भन्नु परेको छैन । तर भएकाको अवस्था यस्तो भद्रगोल छ कि त्यसको व्यवस्थापन गर्न नवनिर्माण गर्न भन्दा गारो छ । बाटो पिर भन्दा धुलोको पिर, आफ्नो घर नभएपनि अर्काको घर भत्किदा खेप्नु पर्ने पिर, शहरभित्रको गरिवी, व्याप्त बेरोजागारी आदिका कारण मतदाताहरु त्यसलाई सम्बोधन गर्ने उम्मेद्वार खोजिरहेका छन । यस्ता समस्या सम्बोधन गर्ने उम्मेद्वारलाई खोला किनारमा बस्ने मतदाताले पनि सम्झिरहेका छन् । तर उम्मेद्वारहरु भने आफूले नै जनताका यस्ता समस्या समाधान गर्ने बताइरहेका छन् । बिगतमा जितेर जिम्मेवारी लिने बेलामा क्षेत्र त्यागेर अर्कै ठाउँमा पुग्ने नेताबाट यस्ता समस्या समाधान नहुने तर्क गर्छ कांग्रेसका उम्मेद्वार दिपक कुइँकेल । बाटोघाटो, स्थानीय तहको क्षेत्र मिलान आदिमा आफुले भूमिका खेलेको दावीसहित कुइँकेल माधव कुमार नेपाललाई चुनौती दिदै हिडिरहेका छन् ।
तर जनता भने माधव कुमार नेपालको मात्र होइन दिपक कुइँकेलको पनि आलोचना गर्न पछि परेका छैनन् । पूरानो पार्टी भएर पटक पटक सत्ताको स्वाद लिएर केही नगरेको भन्दै उनिहरु कांग्रेसका उम्मेद्वारप्रति पनि सकारात्मक छैनन् । त्यसैले उनिहरु आफ्नो क्षेत्रमा काम नगरे पनि हारि जिती देशी बिदेशीले चिनेको भन्दै माधव कुमार नेपालकै पक्षमा देखिन्छन् । भावि प्रधानमन्त्री भइहाले केही गर्लान कि भन्दै कतिपय व्यक्तिहरु मदन भण्डारीको छविसँग तुलना गर्दै एमालेकै कुरा गरिरहेका छन् । अझ उनिहरुको आशा अब स्थायी सरकार भएर समृद्धि ल्याउनेका पक्षमा देखिएको छ ।
७४ हजार ७ सय ५६ जना मतदाता रहेको यो क्षेत्रमा स्थानीय तहको मतदानमा एमाले १९ हजार १९६ मतका साथ पहिलो, कांग्रेस १५ हजार ६२७, माओवादीले ५ हजार ७३४ र राप्रपाले ४ हजार ८५१ मत प्राप्त गरेको छ । गठबन्धन भएकाले मत एमाले र माओवादीको २४ हजार ९ सय ३० मत हुँदा कांग्रेस राप्रपा झण्डै ४ हजार मतले पछाडी छन । अर्थात उनिहरुको २० हजार ४ सय ७८ मत मात्र छ । यो बाहेक विगतमा मदन भण्डारीदेखिको विरासत रहेको यो क्षेत्र एमालेको पकड क्षेत्र समेत रहेकाले कांग्रेसलाई कमजोर मानिएको छ ।
अझ यी दुबै पार्टीका लागि टाउको दुःखाई बनेको छ, बिबेकशील साझा । अनि यो पार्टीका उम्मेद्वार बनेका छन पूर्वाधारविद्को रुपमा एसीयामै कहलिएका सूर्यराज आचार्य ।
कास्कीमा जन्मिएका ५५ बर्षीय आचार्य बिना तामझाम, बिना तडकभडक, बिना संगठन चुनावमा होमिए पनि उनको पृष्टभूमी कम्युनिष्ट नै हो । २०३६ सालमा अमृत साइन्स क्याम्पसमा आइएसी पढ्दा नै त्यो बेला मालेको विद्यार्थी संगठनमा लागेका आचार्य एक बर्षपछि अखिल त्यागेर पढाईमै मात्र ध्यान केन्द्रित गर्न लागे । पढाई लेखाईमा गरेको मेहनतको फल आचार्यले राम्रै पनि पाए । जापानमा पूर्वाधारविदको रुपमा काम गरिसकेका आचार्यले नेपालमै पनि झण्डै ५ वर्ष सरकारी सेवामा काम गरे । तर सरकारी काम गर्दाको बखत भएको उनको अनुभूतीले नीति निर्माण बनाउने ठाउँ राजनीति सुध्रिन आवश्यक रहेको ठम्यायो । यसैकारण राजनीतिमा होमिएको बताउने आचार्य जनताकोमा मत माग्न घरदैलोमा पुग्दा उत्साह र निराश दुबै बोक्ने गरेका छन् । अरु दललाई उदाहरण दिएर आक्रोश खन्याउनेहरुलाई उनि सम्झाइरहेका छन भने आफ्नो पार्टीको बाटो बताइरहेका छन् ।
घरदैलोमा हिड्दै गर्दा कतिपय मतदाताले राजनीतिले गरि खाने बाताबरण नै बिगारेको भन्दा आचार्यको मन कुडिने गरेको छ । घुमघामका लागि जादासमेत नेपालीलाई विदेशीले यो त यतै लुक्छ कि भनेर शंका गर्ने अवस्थामा देशलाई पुर्याइएको भन्दै एक मतदाताले गरेको प्रश्नमा आचार्य भनिरहेका छन् हामी अब त्यस्तो हुन दिदैनौं । पूराना पार्टीबाट वाक्क दिक्क भइसकेका कतिपय मतदाताले अब बिबेकशील साझाले पनि केही गरेन भने केही हुनेवाला छैन भनेको पनि सुन्छन आचार्य । यस्ता आवाजहरु सुन्दा उनलाई आफ्नो पार्टीप्रति बढ्दै गएको भरोसाले आत्मविश्वास पनि जगाउने गरेको छ । यसैकारण उनि भन्दैछन् ‘अब माधव नेपाल वा दिपक कुइँकेलहरु देशका लागि असान्दर्भीक हुनुभयो ।’
तर कतिपय बिश्लेषकहरुको बिचारमा बिवेकशील साझा पार्टीको चुनाव चिन्हबारे जनतालाई जानकारी नै नहुनु र बामपन्थी पार्टीहरुको एकतामा कार्यकर्ताले इमान देखाए विवेकशील साझा भोट काट्ने कैचीको रुपमा सिमित हुन सक्छ ।