सांसद्का सार्थक चार बर्ष

0
1000

२९ अश्विन, काठमाण्डौं (भूपाल लुइटेल) । नयाँ चुनावका लागि उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएपछि संसद शनिबार रातिदेखि स्वतःबिघटन भएको छ ।

संविधानसभाको पहिलो बैठक बसेको मिति २०७० साल माघ ७ गतेलाई आधार मान्दा सांसदहरुले १३ सय ५५ दिन विताए अर्थात झण्डै ४ बर्ष । सभासद बाहेक संविधान जारी भएयताको रुपान्तरित संसदको मात्र हिसाव गर्दा पनि सांसदहरुले ६ सय ६६ दिन बिताए । अघिल्लो संविधानसभा संविधान जारी नगरी विघटन भएको अवस्थासँग तुलना गर्दा सांसदहरुको यो कार्यकाल अत्यन्तै फलदायी र सार्थक देखिएको छ । यसलाई प्रष्ट्याउँदै सभामुख ओनसरी घर्तीमगरले संसद्को कार्यकालभरीमा ६ सय ६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराएकी छन् ।

सांसदको करिव ४ बर्षे कार्याललाई स्मरण गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड संसद स्वत विघटन हुँदै गर्दा पनि खुशी र गर्ब लागेको बताउँछन । विगतमा कामै नगरी संसद विघटन भएको तर यसपाली संविधान जारी गरेर पुनः चुनावका लागि मुलुक अघि बढिरहँदा खुशी र गर्ब लागेको प्रचण्डको भनाई छ ।

रुपान्तरित संसदको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अन्तिम दिन नै भएपनि ४ बर्षे अवधिलाई समिक्षा गर्दै विदाईको क्षण पनि सकारात्मक कारणले खुशीको रुपमा रुपान्तरित भएको बताएका छन ।

संसदको अन्तिम बैठकलाई सम्बोधन गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको यो कार्यकाल आजको पुस्ताको आवश्यकतालाई पूरा गर्नमा मात्र सिमित नरही ७ दशकअघिको तत्कालिन शीर्ष नेताहरु विपी कोइराला, पुष्पलाल लगायतको चाहानासमेत पूरा गर्न समेत सफल भएको स्मरण गरे ।

व्यवस्थापीका संसदको ४ बर्षे कार्यकाल सार्थक रहँदा रहँदै पनि यो अवधिमा शीर्ष नेतावीच घोचपेच हुने क्रम रोकिएन । खोचपेचबाट सुरु भएको एमाले कांग्रेसको सम्बन्ध संसदको म्याद सकिदासम्म पनि घोचपेचबाटै सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओलीले आचारसंहिताविपरित मन्त्री थपेर कुस्ती खेल्न खोजेको हो भन्ने प्रश्न गर्दा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले दिएको जवाफको सुन्न ओलीलाई सुझाए ।

साना दलको दुःखेसो

संघीय समाजवादी फोरमका नेता डा. शिबजी यादव संसदका ४ बर्षलाई स्मरण गर्दा विगतमा तिक्तता रहेपनि जाँदा जाँदै सांसदका अनुहारमा देखिएको खुशीले विभेदको अन्त्य गरेको भान भएको बताउँछन । तर सँगसँगै उनको दुःखेसो पनि उत्तिकै छ । मधेसकेन्द्रित दल फुट्दा खुशी मनाएका ठूला राजनीतिक दलले फेरि फुटाउने प्रयत्न गरेको उनि सुनाउँछन् ।

थरुहट लोकतान्त्रीक राष्ट्रिय मञ्चकी सांसद रुकमिणी चौधरीले संविधान जारी हुनु ऐतिहासिक सफलता भएपनि जनजाति आदिवासी मधेसी मुस्लीम थारुको विषयमा संविधान अपूरो भएको दुःखेसो राखिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधानसभामा आफ्नो दल प्रतिपक्षको रुपमा रहेरै वितेको आशयको सम्बोधन गरे । आफूहरुले संसोधनको प्रयास गरेपनि असफल भएको उदाहरण दिदै सुवालले भने “संविधानको प्रस्तावना अनुसारको व्यवस्था संविधानको धारा र उपधारामा उल्लेख नै छैन ।”

यावत गुनासोको बाबजुद सांसदहरु शनिबारबाट औपचारिकरुपमा भूतपूर्व भएका छन् । उनिहरु गुनासो र दुःखेसो राख्दै फेरी पनि सांसदको जिम्मेवारीमा फर्कन पाइन्छ कि भन्ने आशामा चुनावमा जुट्न आफ्नै गाउँ ठाउँ फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here