भूपाल लुइटेल
१९ अश्विन, काठमाण्डौं। स्थापनाको झण्डै ७० बर्षमा कम्युनिष्ट पार्टी कहिले सशस्त्र संघर्ष त कहिले लोकतान्त्रीक संघर्षको नाममा फुट्ने र जुट्ने क्रम जारी छ । यसरी फुट्ने र जुट्ने नाममा अहिले पनि झण्डै २ दर्जनको हाराहारीमा कम्युनिष्ट पार्टी अस्तित्वमा छन । यो क्रम चलिरहँदा प्रमुख दुई कम्युनिष्ट पार्टीहरुको चुनावी तालमेल र पार्टी एकताको विषयले नेपाली राजनीतिलाई पुनः एक पटक तरगिंत बनाएको छ ।
कसैले यसलाई अनिष्टको संकेत भनेर टिप्पणी गरिरहेका छन त कसैले सत्तास्वार्थबाट प्रेरित भएकाले अचम्म मान्ने विषय नभएको भनिरहेका छन । असोज १७ मा एमाले, माओवादी र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने गरी भएको ६ बुँदे सहमतिपछि नेपाली कांग्रेसले चुनावको सारथी मात्र गुमाएको छैन जनमत र सरकार जोगाउन समेत हम्मे हम्मे परेको टिप्पणी भइरहेका छन । सत्तामा रहेर विपक्षीसँग पार्टी एकता र चुनावको तालमेल गर्ने निर्णय गरेको माओवादीका कारण बिच्किएको कांग्रेस अब प्रजातान्त्रिक शक्तिहरुबीचको एकतातिर अग्रसर देखिएको छ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चुनावका लागि कांग्रेसले पनि प्रजातान्त्रिक शक्तिहरुसँग तालमेल गर्नुपर्ने बताउँछन् ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले माओवादी केन्द्रका कारण सरकारको बैधानिकतामाथि नै प्रश्न उठ्ने अवस्था आएको बताउँछन । सरकारमा रहँदै विपक्षीसँग गठजोड गर्ने माओवादी प्रवित्तीले सरकारलाई परेको अप्ठ्यारोलाई इंगित गर्दै गजुरेलले भने ‘माओवादीको ढुलमुले चरित्रले सरकार अप्ठ्यारोमा छ, अब शेरवहादुर देउवाले प्रचण्डले बस भन्दा बस्ने छोड भन्दा प्रधानमन्त्रीको कुर्सी छाड्ने हो।’
राष्ट्रिय जनमोर्चा भने बामपन्थी पार्टीहरुबीच भएको एकता वा तालमेल आश्चर्यको विषय नभएको टिप्पणी गर्छ । जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी अहिले एमालेसँगै माओवादीले गठबन्धन गर्नुले विगतमा उसले एमाले सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको औचित्य प्रमाणित नभएको बताउँछन । बाम एकता सम्बृद्धिका लागि एक भएपनि अहिल्यै नेपालमा कम्युनिष्ट र कांग्रेस २ वटा मात्र पार्टी सम्भव होला भन्नेमा भने केसी विश्वस्त छैनन । उनि भन्छन् “कम्युनिष्ट पार्टीहरु सिद्धान्तत च्यूत भइसकेका छन ।”
बिभाजित विश्लेषक
नेपालमा कम्यूनिष्ट पार्टिहरु जुट्ने भन्दा फुट्ने प्रबृद्धि धेरै छ । एउटै पार्टिभित्र पनि गुट र उपगुटको हाँगा बाक्लैसँग झाँगिएका छन । यस्तो प्रबित्तीकाबीच एकाएक नेपाली राजनितीमा बाम एकता र प्रजातान्त्रिक एकताले अहिले नेपालको राजनीति तातेको छ । ब्यक्तिगत र पार्टिगत स्वार्थले प्रायः सबै नेता ग्रसीत छन् । यसैको गतिलो उदाहरण हो बाम एकता । राजनीति शास्त्रका अध्यापक लोकनारायण चौधरीका अनुसार नेपालको राजनीतिक स्थायित्वका लागि बाम एकता कोशेढुंगा सावित हुनेछ । ‘निर्वाचनको मतपरिणाम अनुसार पनि नेपालका ६५ प्रतिशत भन्दा बढि जनता बामपन्थी नै हुन्,’ चौधरीले भने ‘सरकार र राजनीतिक स्थायित्वका लागि बाम एकताले राम्रो सन्देश दिएको छ । ’
२५० वर्ष देखको अस्थिर राजनीतीले अव चाँहि केहि स्थिरता पाउला कि भन्ने आशा पलाएको अर्का राजनीतिक बिश्लेषक केपी शर्मा बताउँछन । शर्मा भन्छन् ‘अब नेपालमा बहुपार्टिहरुको खिचातानी सकिएर दुई पार्टिबीचको मात्र प्रतिस्पर्धा रहने वातावरण बन्दै गएको छ ।’
अर्का बिश्लेषक डाक्टर गोबिन्द गुरागाँईले भने नेपालमा बाम एकता सम्भव नभएको बताउँछन् । अहिले सुनीएको बाम एकताको कुरा पाटीबीचको एकता नभई चुनाबी तालमेलमा सिमित हुने गुरागाँई आंकलन छ । उनि भन्छन् ‘अहिले पनि सशस्त्र संघर्ष कि लोकतान्त्रिक संघर्ष भन्नेमा एउटै पार्टीभित्र आन्तरिक द्वन्द्वमा रुमलिने कम्युनिष्ट पार्टीहरुको यो गठबन्धन धेरै दिन टिक्नेमा नै शंका छ ।’
तर एकता अभियानको घोषणा गर्दा हातेमालो गर्ने तीनै शीर्ष नेताहरुका विगत व्यवहारबाट आमनागरिक मात्र होइन, उनीहरुकै कार्यकर्ता समेत आशावादी छैनन् । यसलाई पुष्टाई हुनेखालकै अभिव्यक्ति दिन्छन राप्रपाका सहमहामन्त्री राम थापा । भन्छन ‘माओवादी विसर्जनको बाटोतिर लाग्यो एमालेले पनि लोकतान्त्रीक संघर्षकै बाटो रोज्छ भन्नेमा अब शंका छ किनकी माओवादीको पृष्ठभूमि नै सशस्त्र संघर्ष हो जुन अहिले पनि शंकाको घेरामै छ ।’ यद्यपी आफ्ना कार्यकर्तासँगै आमनागरिकमा आशा र विश्वास जगाउने काम भने शीर्ष नेताहरुको आगामी कदम र व्यवहारबाटै भर पर्ने बिश्लेषकहरुले बताइरहेका छन् । यथार्थतामा कम्युनिष्ठ एकता प्रलोभनमा नफसेसम्म कायमै रहने राजनीतिकका जानकारहरु बताउँछन् । तर यसका लागि विदेशी चलखेलविरुद्ध एकतासँगै प्रलोभनको चक्रव्यूहमा फस्ने कम्युनिष्टहरुको विगतको छवि भने सुध्रिन आवश्यक रहेको विश्लेषकहरु बताउँछन् ।