ग्लोवलपोष्ट रिर्पोट/अशोज १३, २०७४
बेलडाँगी/पछिल्लो समयमा भूटानी शरणार्थी शिविरमा एक्लिनेक्रम बढेसँगै दशैं खल्लो बन्दै गएको छ । उनीहरुलाई न दशैं आउँछ न तिहार । न उनीहरुको आफ्ना सन्तानहरु नै शिविरमा कोही छन् । लामो समयसम्म शरणार्थी सुविधाहरु लिँदै आउनु भएका एक बृद्धाले बुढेसकालमा आएर न राशन न पानीको अवस्था हुनु परेको छ ।
भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर जी/२ मा अर्काले छाडेको घरमा बस्दै आउनु भएका ८३ बर्षीय रुक्मणी न्यौपानेलाई दशैं तिहार कसरी मान्नु हुन्छ भनेर सोध्यो भने आँखा भरी आँशु पार्नु हुन्छ । यस्तै अर्का वेलडाँगी २ सेक्टर जी/१ हट नम्बर ४१ बस्ने ७६ बर्षीय बृद्ध दुर्जधन गुरुङ्गले पनि दशैं नमाएको धेरै भयो । गुरुङ्ग आधा परिवार भूटान र केही अमेरिका छन् । बृद्ध गुरुङ्ग भने शिविरमा एक्लै बस्न बाध्य हुनु भएको छ । राजनैतिक गतिविधिमा लागेको आरोपमा भाग्नु भएका गुरुङ्गलाई आफ्नो देश सन्तानको औधी माया लागेर आउँछ तर के गर्नु भेट्न नै गाह्रो छ, उहाँले। भन्नु भयो ।
कतिपय शरणार्थीहरुलाई संस्थाले दिँदै आएको राशन काटेर अहिले भोक भोकै रहनु पर्ने अवस्थामा पुरयाएको छ । यस्तो अवस्थामा दशैं कसरी मान्ने भन्ने हुन्छ उहाँहरु । वेलडाँगी २ सेक्टर जी/१ हट नम्बर ७२/७३ का छविलाल मिश्रको सवै आफन्त अमेरिकामा छन् । उहाँको सेन्सेस स्लिपमा नाम पनि छ । तर पनि सरोकारवाला संस्थाले परिचय पत्र नदिए पछि उहाँले पाउने सुविधा नपाए पछि सामान्य दुध व्यवसाय गरेर परिवारको गुजारा गर्दै आउनु भएको छ ।
भूटानबाट सन् १९९० देखि लखेटिएका नेपाली भाषी भूटानीहरुले एकै स्थानमा रहँदा त जसो तसो चाडबाड मनाउँदै आएका थिए । तर पछिल्लो समयमा राशन कटौती र एक्लिनेक्रम बढेसँगै चाडबाड खल्लो बन्दै गएको छ । नेपाली भाषी भूटानी शरणार्थीहरुको एक्लो र खल्लोपनको अन्त्यका लागि अव सरोकारवाला निकाय र नेपाल सरकारले चासो राख्न नितान्त आवश्यक रहेको शरणार्थी सम्बन्धीका बुद्धिजीविहरुले बताउनु भएको छ ।