विवाहित नारी सेलिब्रेटी र साउन

0
2323
सिर्जना दुवाल श्रेष्ठ

जतिसुकै आधुनिक भए पनि आफ्नो संस्कृति एवं सामाजिक रीतिथिति चटक्कै भुल्न सकिँदैन । त्यसैले हुनसक्छ, हिन्दू महिलाहरूमाझ साउने सोमबार तथा तीजको व्रतको महत्व उत्तिकै छ । सेलिब्रेटीहरू आफ्नो व्यस्त जीवनशैलीका बाबजुद यस्ता पर्वमा उल्लासपूर्ण ढंगले सहभागी हुन्छन् ।

मिस नेपाल उषा खड्गीलाई हरेक चाडपर्व मन पर्छन् । शिवजीप्रति विशेष आस्था राख्ने उषा आफ्नो छोरा जन्मनुअघिसम्म हरेक सोमबार व्रत बस्थिन् ।

अहिले छोरा सानै भएकाले आफूलाई गार्‍हो हुने हुँदा उनी पूरै व्रत बस्दिनन् तर हरेक सोमबार मन्दिर गएर पूजाआजा गर्ने, चोखो लाउने–खाने गर्छिन् । साउन महिना शिवको महिना तथा सोमबार मनपर्ने बार भएकाले पनि उनलाई अन्य महिनाको तुलनामा यो महिना बढी मन पर्छ । यो समयमा प्रकृति पनि उत्तिकै सुन्दर हुने र झमझम वर्षाका कारण आफ्नो मन पनि प्रफुल्लित हुने खड्गी बताउँछिन् । खड्गी भन्छिन्–‘म आफै फेसन डिजाइनर पनि भएकाले साउनमा हरियो, पहेंलो तथा रातो रंगका पहिरनहरू मोडिफाइ गरेर लगाइरहेकी हुन्छु । साउनको सोमबार सकेसम्म हरियो रंग मिश्रित पहिरन लगाउँछु भने हरियो चुरा, पोते, पालिस अनि मेहन्दीमा ठाँटिन्छु ।’ उषा साउनका लागि भनेरै आफ्ना लागि हरियो रंग मिक्स गरिएका कम्तीमा ४ वटा पहिरन बनाउँछिन् ।

यसअघि साउने सोमबारका दिन लङ कुर्ती लगाउने खड्गीले यसपटक ओलिभ ग्रिन कलरको वान पिस बनाएकी छिन् । साउने सोमबारमा चोखो खाने, लगाउने आदि चलन अन्धविश्वास नभै आत्मविश्वास एवं मानसिक शान्तिका लागि भएको उनको तर्क छ ।

समाचारवाचिका मृदुला खनाललाई साउने सोमबारको व्रत सारै मनपर्छ । भ्याएसम्म वा ड्युटी अफ हुँदा उनी व्रत बस्छिन् । मृदुला साउने सोमबार चोखो भएर शिवजीको पूजा गरी चोखो मात्र खान्छिन् । अरू बेला सानो टीका मात्र लगाउने खनाल साउने सोमबारका दिन चुरा, पोते एवं टीकामा सजिएर हिँड्छिन् । एक त शिवजीको महिना त्यसमा पनि गर्मी तथा वर्षामा माछा, मासु खानु स्वास्थ्यका लागि समेत उपयुक्त नहुने भएकाले उनी यो महिना चोखो मात्र खान्छिन् । सोमबारका दिन त कुनै पनि हालतमा माछा–मासु खाँदिनन् । यो महिना उनको खानामा फलफूल र जुसको मात्रा बढी हुन्छ । आफू सानो छँदा नै आमाले साउने सोमबारको महिमा बताएकाले यसप्रति आफूमा पूर्ण आस्था रहेको र विवाहपछि आफ्नो उक्त आस्था अझ बढेको खनाल बताउँछिन् । मृदुला साउनभरि नै हरिया पहिरन, हरियै चुरा, पोते र टीका लगाउने फेसनप्रति सकारात्मक छिन् । साउनको सोमबार बाहिर हिँड्दा हरियो पहिरन वा एसेसरिज केही लगाइएको छैन भने नमज्जा लाग्ने उनले बताइन् । खनाल साउनमा दिदीबहिनी तथा साथीहरूलाई चुरा, पोते तथा टीकाजस्ता सौभाग्य सामग्री पनि बाँड्छिन् ।

गायिका देविका केसी वर्षको आधा समय नेपाल र आधा समय विदेशमा हुन्छिन् । देविकालाई तीजभन्दा पनि साउन रमाइलो लाग्छ । उनलाई वर्षायाम एकदमै मन पर्छ । देविका भगवान् शिवप्रति बढी नै आस्थावान् छिन् । साउनको नामैले पनि मुड फ्रेस हुने उनी बताउँछिन् । केसी सानैदेखि शिवजीको नाममा साउने सोमबारको व्रत बस्थिन् । गुरुङसँग विवाह गरे पनि आफूले सानैदेखि मानिरहेको धर्म–संस्कृतिलाई नछाडेको केसी बताउँछिन् । उनलाई विवाहपछि श्रीमान् तथा छोराका लागि व्रत बस्दा एकदमै रमाइलो लाग्छ । देविका साउन महिनाभरि शाकाहारी हुन्छिन् भने साउने सोमबारका दिन लुगा, चुरा, पोते, टीका आदि सबै हरियो नै लगाउँछिन् । यतिबेला उनी वाटरप्रुफ मेकअपमा हुन्छिन् । केसीका अनुसार साउन विवाहित महिलाहरूका लागि विशेष महिना हो ।

नायिका स्वस्तिमा खड्कालाई साउन महिना सारै मन पर्छ । विवाहपछि आफूलाई हिन्दू धर्मका धेरै चाडपर्व मनपर्न थालेको खड्का बताउँछिन् । खड्का साउने सोमबारका दिन बिहानै उठेर नुवाइधुवाइ गरी शिवजीको पूजा गर्न मन्दिर जान्छिन् । स्वस्तिमा त्यो दिन फलफूल र जुस मात्र खान्छिन् । एक त गर्मी र झरीले गर्दा अरू समय पनि हल्का खाना मात्र खाने खड्का यतिबेला त अझ गरिष्ठ खानाबाट टाढिने बहाना मिल्ने कुरा बताउँछिन् । उनलाई साउने सोमबारमा हरियै लुगा लगाएर हिँड्न भने मन लाग्दैन । यस्तो चलन आफू सानो छँदा त्यति थाहा नपाएको र अहिले आएर यो महिलाहरूले आफैंले चलाएको चलन हो कि जस्तो लाग्ने हँुदा आफू खानपानमा चोखोनितो गर्ने तर हरियै भएर नहिँड्ने केसीले बताइन् । उनी श्रीमान्को आयु लामो हुन्छ भन्ने विश्वासमा भन्दा पनि चलिआएको संस्कृति मान्नुपर्छ भन्ने मान्यताका कारण यसमा रमाउँछिन् ।

नायिका करिश्मा मानन्धरको विचारमा हिन्दू संस्कृति संसारकै शक्तिशाली संस्कृतिमध्ये एक हो । त्यसकारण उनी दसैं, तिहार, तीज आदिमा जस्तै साउने सोमबारलाई पनि उत्तिकै श्रद्धापूर्वक मनाउँछिन् तर व्रत भने बस्दिनन् । करिश्मा फलफूल, जुस, दही आदि खाएर शिवजीलाई नमन गर्छिन् । प्राकृतिक रूपमै साउनको वातावरण सुन्दर एवं रमाइलो हुने भएकाले यो समय उनलाई विशेष प्यारो लाग्छ । करिश्मालाई पनि साउनमा हरियो रंगमै सजिएर हिँड्नुपर्छ भन्ने लाग्दैन तर अहिले बाटोमा धेरैजसो महिला रातो, हरियो एवं पहेंलो रंगमै सजिएर हिँडेको देख्दा आफूले पनि कुनै एक सोमबार भने ती रंगको कम्बिनेसन मिलाएर हिँड्न थालेको उनी बताउँछिन् ।

गायिका रजिना रिमाल सोर्‍ह शृंगारमा सजिएर हिँड्न रुचाउँछिन् । रिमाल साउनमा घरमै हुँदा पनि हरियो पहिरन, रातो–हरियो चुरा, पोते तथा टीका लगाएर बस्छिन् । सानैदेखि आमाले साउनमा व्रत बसेर चोखो खाएको देखेकी रजिना प्रत्येक वर्ष साउने सोमबारको व्रत लिन्छिन् । श्रीमान्का लागि यसरी व्रत बस्नु राम्रो हुन्छ भन्ने मान्यतामा विश्वास राख्दै उनी महिनाभरि चोखो खान्छिन् । यसरी सजिएर भगवान्को दर्शन गर्न जाँदा एक प्रकारको शक्ति मिलेको अनुभव हुने रिमाल बताउँछिन् ।

(समाग्री स्रोत : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here