@अर्जुन प्रधान
सरकारले सार्वजनिक तथा जोखिमपूर्ण क्षेत्रको संरक्षण गर्ने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका अवैध बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ।
यसैक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथली क्षेत्रको बस्ती पूर्ण रूपमा खाली गरिसकिएको छ। त्यस्तै, वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा पनि बस्ती हटाउने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत संरचनाहरू हटाउने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार प्रभावित क्षेत्रहरूमा कुल ८७१ परिवार बसोबास गर्दै आएका छन्। जसमा शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ परिवार रहेका छन्।
बस्ती हटाउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयलाई सामान व्यवस्थापन र ढुवानीमा सहयोग गरेका थिए। स्थानीय बासिन्दाको सहकार्यका कारण थापाथली क्षेत्रमा बस्ती हटाउने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य प्रभावित क्षेत्रका बासिन्दाहरू पनि सम्पर्कमा आउने क्रम जारी छ।
सम्पर्कमा आएका परिवारहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखी विवरण संकलन गरिनेछ। त्यसपछि उनीहरूलाई काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी गरिएको छ। साथै, घरायसी सामग्रीहरू कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।
सरकारले अब होटलमा राखिएका परिवारहरूको पहिचान गरी वास्तविक सुकुम्बासी छुट्याउने प्रक्रिया सुरु गर्ने जनाएको छ। वास्तविक सुकुम्बासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेका सरकारी अपार्टमेन्ट तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिने योजना छ।

सरकारले यस अभियानलाई दीर्घकालीन व्यवस्थापनतर्फ अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।
(उल्लेखित विवरण दीपा दाहाल, जो बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ हुन्, को सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक जानकारीका आधारमा तयार गरिएको हो।फोटो पनि साभार )












