कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

0
9
अर्जुन प्रधान

साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच विशिष्ट व्यक्तित्वलाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट अभिनन्दन गरेको छ। अनामनगरस्थित डालो रेष्टुरेन्टमा शुक्रबार आयोजित कार्यक्रममा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास, कलाकार चैत्यदेवी सिंह तथा हास्यकलाकार सन्तोष पन्तलाई सम्मान गरिएको हो। साथै, अमेरिकामा रहेकी कवि दीपा राई पुनलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’ समर्पण गरिएको थियो।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित थिए। अध्यक्ष लेकाली र कर्माचार्यले अभिनन्दित स्रष्टाहरूलाई दोसल्ला ओढाई, ढाका टोपी तथा फूलमाला लगाइ अभिनन्दनपत्र प्रदान गरेका थिए। कार्यक्रममा पूर्व कुलपति कर्माचार्यले सम्मानित व्यक्तित्वहरूमध्ये केही आफ्ना बालसखा र केहीलाई पर्दामार्फत् चिनेको स्मरण गरे। स्रष्टाहरूको योगदानको कदर गर्दै सम्मान र अभिनन्दन गर्ने साहित्यिक पत्रकार संघको परम्पराको उनले प्रशंसा गरे।

अध्यक्ष लेकालीले स्वागत मन्तव्यका क्रममा वि.सं. २०२९ मा स्थापित संघले विभिन्न कठिनाइ र उतारचढावबीच निरन्तर सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताए। संस्थापक अध्यक्ष भवानी घिमिरेको स्मरण गर्दै उनले संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रम आयोजना गरेको तथा अनेकौँ स्रष्टालाई सम्मान र अभिनन्दन गरिसकेको जानकारी दिए। उनले पछिल्लो समय स्रष्टाहरूका कृतिलाई श्रव्य माध्यममा ल्याउने अभियानसमेत अघि बढाइएको बताए। “संघले कहिले खोला, कहिले नदी र कहिले समुद्रजस्ता चुनौतीहरू पार गर्दै आफ्नो यात्रालाई निरन्तरता दिएको छ,” उनले भने। समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्वहरूको परिचय प्रस्तुत गर्दै उनीहरूको सिर्जना, साधना र क्षेत्रगत योगदानबारे चर्चा गरेका थिए।

प्रधानले ८२ वर्षीय कवि ज्ञान उदासलाई कवि–साहित्यकार मात्र नभई पत्रकारितासँग पनि जोडिएको व्यक्तित्वका रूपमा चित्रण गरे। उदासका आठ कृति प्रकाशित भइसकेका छन् भने उनले ‘हस्ताक्षर’ नामक सङ्ग्रहसमेत सम्पादन गरेका छन्। कार्यक्रममा कवि उदासले दुई मुक्तक पनि वाचन गरेका थिए। चित्रकार प्रा. मदन चित्रकारलाई प्रधानले पारिवारिक विरासतमा प्राप्त प्रतिभालाई आफ्नै साधना र अध्ययनबाट विशिष्ट उचाइमा पुर्याएका कलाकारका रूपमा चिनाए। प्रख्यात चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदन चित्रकारले २०३४ सालमा पहिलो चित्रकला प्रदर्शनी गरेका थिए। उनका चित्रमा धर्म, दर्शन, मन्त्र, श्लोक र ज्यामितीय संरचनाको प्रभाव देखिने प्रधानको भनाइ थियो। कलाकार चैत्यदेवी सिंहको योगदानबारे बोल्दै प्रधानले उनी नेपाली चलचित्र, अभिनय, नृत्य र गीति नाटकको बहुआयामिक व्यक्तित्व भएको बताए। ‘कुमारी’ चलचित्रकी नायिका सिंहले २०२२ सालमा ‘आमा’ चलचित्रमा आमाकै भूमिका निर्वाह गरेकी थिइन्। सोभियत संघ, रूसबाट कलामा एम.ए. गर्ने र विदेशमा चलचित्रसम्बन्धी अध्ययन गर्ने पहिलो नेपाली कलाकारमध्ये उनी पर्ने उल्लेख गरिएको थियो।

संस्कृतिविद् डा. श्रेष्ठलाई इतिहास, पुरातत्त्व तथा संस्कृतिको अनुसन्धानमा समर्पित अध्येता भन्दै प्रधानले उनको नेवारी संस्कृति, सम्पदा र स्थानीय इतिहाससम्बन्धी अनुसन्धानको चर्चा गरे। सिद्धपोखरी र सुकुलढोकालगायतका विषयमा उनका कृति परिचर्चित रहेको उनले बताए। कलाकार सन्तोष पन्तको अभिनय यात्राबारे प्रधानले रेडियो नाटक, मञ्च, टेलिश्रृङ्खला तथा मनोरञ्जनका विभिन्न माध्यममा उनले निर्माण गरेको छुट्टै पहिचानको चर्चा गरे। प्रतिस्पर्धात्मक मनोरञ्जन क्षेत्रमै पनि आफ्नै शैली, प्रस्तुति र व्यङ्ग्यात्मक अभिनयमार्फत् पन्तले दर्शकमाझ अलग स्थान बनाएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राख्दै स्रष्टाहरूको योगदानको अभिलेखीकरण र सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। समालोचक प्रधानले सम्मान तथा अभिनन्दन कार्यक्रमसँगै स्रष्टाका कृतिको प्रदर्शनी, अप्रकाशित पाण्डुलिपिको प्रकाशन र सिर्जनाको संरक्षणतर्फ पनि संस्थाहरूले ध्यान दिनुपर्ने धारणा राखे। अभिनन्दित स्रष्टाहरूले आफूहरूलाई खोजीखोजी सम्मान गरिएकोमा साहित्यिक पत्रकार संघप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा किरण खरेलको शब्द, चन्द्रराज शर्मा र शिवशंकरको सङ्गीत तथा तारादेवीको स्वरमा लोकप्रिय रहेको गीत—“आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे, जीवन कति सुन्दर हुन्थ्यो होला”—गायिका सरिता सायमीले प्रस्तुत गरेकी थिइन्। संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here