विश्व भूटानी साहित्यिक संगठन र सुरभि कला केन्द्रको समन्वयमा एक साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

0
47

@अर्जुन प्रधान

विश्व भूटानी साहित्यिक संगठन (GBLO) र सुरभि कला केन्द्र को समन्वयमा सुरभि कला केन्द्रको प्राङ्गणमा एक साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रा. डा. गोबिन्द राज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने प्रा. डा. गंगाराम अधिकारी को विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व गुरु गायक तथा संगीतकार अनिल फागोले गर्नुभएको थियो भने सञ्चालन साहित्यकार खगेन्द्र खुशी ले गर्नुभएको थियो।

साहित्यकार खगेन्द्र खुशी

कार्यक्रममा बोल्दै प्रा. डा. गोबिन्द राज भट्टराई ले भूटानी साहित्य र संस्कृतिको जगेर्नाप्रति चासो व्यक्त गर्दै नयाँ पुस्तामा कला र साहित्यको चेतना हस्तान्तरण हुनु नै जातिको ‘सास’ वा अस्तित्वको आधार भएको बताउनुभयो। उहाँले देशविहीनताको पीडाका बाबजुद पनि आफ्नो पुर्ख्यौली माटोको बासना र सांस्कृतिक पहिचानलाई सधैं जीवित राख्नुपर्ने कुरामा जोड दिनुभयो।

त्यसैगरी, प्रा. डा. गंगाराम अधिकारी ले वि.सं. २०८३ सम्म झापाको साहित्यिक इतिहासमा भूटानी साहित्यकारहरूको उपस्थितिबारे खोजमूलक कृति तयारीमा रहेको जानकारी दिनुभयो।

कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पातलो अन्तरे ले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका स्थापनाकला देखि हालसम्मको साहित्यिक कार्यको सम्बन्धि जानकारी दिनुका साथै कविता वाचन गर्नुभयो।

साहित्यिक सत्रमा आख्यानकार ज्ञानु बुढाथोकी तथा स्रष्टाहरू शेखर कोइराला, भूपेन्द्र तिम्सिना, रश्मि असफल, हरि पराजुली, दिल भूटानी तथा ‘मेरो कविता : द रिदम अफ पोयट्री’ सिजन–१ का टप–७ कवि अबिलाल राई लगायतले आफ्ना सृजना वाचन गरेका थिए।

त्यसैगरी, प्रशान्त न्यौपाने, दिपिका चम्लागाईं, संकल्प राई र आशिष नेपाली लगायतका कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा सुरभि कला केन्द्रकी विद्यार्थी दिक्षिता मिश्र ले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने विश्व भूटानी साहित्यिक संगठन (GBLO) का कोषाध्यक्ष शेखर कोइरालाले शब्दमार्फत स्वागत गर्नुभएको थियो।

कार्यक्रममा सुरभि कला केन्द्रका विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने विभिन्न स्रष्टाहरूले साहित्यिक रचना वाचन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। अन्त्यमा, कार्यक्रमका अध्यक्ष अनिल फागो ले आफ्नो सांगीतिक प्रस्तुति सहित कार्यक्रमको विसर्जन गर्नुभएको थियो।

उक्त कार्यक्रमले साहित्य र संगीतप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्रष्टा र दर्शकबीच सृजनात्मक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको साहित्यकार दिलिप घिमिरेले विश्वास व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here