‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा

0
121

@अर्जुन प्रधान 

नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।

यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी’वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।

यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो शप्तस्वेताश्वा: my lucky charm’प्रस्तुत गर्नु भएको थियो । उहाँले यो मञ्च नयाँ कविहरूका लागि ‘आकाश चुम्ने अवसर’ भएको टिप्पणी गर्नुभयो ।

प्रतियोगितामा पाँचै जना प्रतियोगीले आ-आफ्नो मौलिक शैलीमा कविता वाचन गरेका थिए:

टोली प्रसाद राजवंशीले आफ्नो समुदायको माटो र सुगन्ध झल्किने कविता प्रस्तुत गर्नुभयो, जसलाई निर्णायकहरूले’अर्गानिक फ्लेभर’ भनी प्रशंसा गरे ।

सोनाम पाल्जोरले ‘नियति’ शीर्षकको प्रेमिल र छोटो कविता सुनाउनुभयो ।

बिनेश राई ‘मिन्जाई’ले परदेशीको पीडा र रेमिट्यान्सको यथार्थलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्नुभयो ।

सेसे थामसुहाङले ‘खरानी’ शीर्षकको दार्शनिक र शक्तिशाली कविता मार्फत निर्णायकको मन जित्नुभयो ।

प्रवेक हाङसोङले ‘सुन्दर पुतली’ को रूपकमार्फत जीवनको गम्भीर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्नुभयो ।

निर्णायकहरू हेमन्त यात्री, उत्तम तुमसा र सुमन इस्मारिका लगायत अज्ञात दधीले प्रतियोगीहरूको लेखन शिल्प  र प्रस्तुतिकरणको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । विशेष गरी निर्णायक उत्तमले बिनेश राईको कवितालाई ‘ट्रफी’ दिन लायकको भन्दै प्रशंसा गर्नुभएको थियो ।

बिनेश राई मिन्जाई यस शृङ्खलाबाट बाहिरिनु भएको छ

प्रतिस्पर्धाको कडा नियम र भोटिङका आधारमा बिनेश राई मिन्जाई यस शृङ्खलाबाट बाहिरिनु भएको छ । बाहिरिँदै गर्दा भावुक बनेका बिनेशले आफूले आदर्श मानेका कविको अगाडि कविता सुनाउन पाउनु नै आफ्नो लागि ठुलो उपलब्धि भएको बताउनुभयो । अब बाँकी चार प्रतियोगीबीच ‘मेरो कविता’ को उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।

आकृति बस्नेतले सञ्चालन गरेको कार्यक्रमलाइ निर्देशक केवल छेत्री र सह-निर्देशन पवित्र राईको टिमले यो सृजनात्मक यात्रालाई अगाडि बढाइरहनु भएको छ।

सम्मान

यसका साथै कार्यक्रमको अन्तिम चरणमा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथि लाइ निर्देशक केवल छेत्री सम्मान गरेका थिए । 

कार्यक्रमको प्रस्तुति My Platform ले गरेको हो भने Rhythm and Reality Event Private Limited र बेल्डाँगी नाट्य परिवारले सह–आयोजकका रूपमा रहेका छन्। प्रतियोगितालाई संस्थागत रूपमा NRA Express LLC ले सहयोग गरेको छभने कुल भुजेल, गोपाल विष्ट र परिवार, पेमा नर्भु लामा, भक्ति राई, विष्णु राई र सुकेन गुरुङले व्यक्तिगत रूपमा सहयोग पुर्‍याएका छन्।

कार्यक्रमको मुख्य आयोजक विश्व भूटानी साहित्यिक संगठन(GBLO) रहेको छ भने Former Beldangi 1 Youth Time Friends Forever डाइमण्ड प्रयोजकका रूपमा जोडिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here