टेकनाथ रिजाल भुटानको आधुनिक इतिहासमा एक यस्तो नाम हो, जसले व्यक्तिगत सुख-सुविधा र उच्च पदको मोह त्यागेर मानवीय मूल्य र जातीय पहिचानका लागि आफूलाई समर्पित गरे। प्रतिष्ठित मानवअधिकारवादी तथा पूर्व उच्चपदस्थ सरकारी अधिकारी रिजाल नेपालीभाषी ल्होत्साम्पा समुदायको अधिकारका लागि आवाज उठाउने ऐतिहासिक आन्दोलनका अग्रणी व्यक्तित्व हुन्। २७ मार्च १९४७ मा दक्षिण भुटानको चिराङस्थित लामिडारामा एक सामान्य कृषक परिवारमा जन्मिएका उनले आफ्नो क्षमता र लगनशीलताका बलमा भुटानी प्रशासनको सर्वोच्च ओहोदासम्मको यात्रा तय गरेका थिए।
रिजालको व्यावसायिक यात्रा सन् १९६४ मा सरकारी सेवाबाट सुरु भयो। नापी विभाग र इन्जिनियरिङ सेवामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका उनको प्रशासनिक निपुणता र सामाजिक सक्रियताले उनलाई राजनीतिको मूलधारमा डोर्यायो। सन् १९७४ मा लामिडाराबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भई उनले एक दशकसम्म दक्षिण भुटानी नागरिकका समस्याबारे विधायिकामा दृढ पैरवी गरे। उनको कार्यदक्षताको कदर गर्दै सन् १९८४ मा भुटानको सर्वोच्च परामर्शदातृ निकाय ‘रोयल एडभाइजरी काउन्सिल’ को सदस्य नियुक्त गरियो। यो पद ल्होत्साम्पा समुदायका लागि राज्यको नीति निर्माण तहमा एक बलियो प्रतिनिधित्वको आशा थियो।
तर, सन् १९८० को दशकको अन्त्यतिर भुटान सरकारले ल्याएको कठोर नागरिकता ऐन र ‘ड्रिगलम नाम्झा’ नामक सांस्कृतिक एकीकरणको नीतिले रिजालको जीवनमा नयाँ मोड ल्यायो। जनगणनाका नाममा नेपालीभाषीमाथि भएको विभेदविरुद्ध उनले राजासमक्ष बिन्तीपत्र चढाए, जसको बदलास्वरूप उनलाई पदमुक्त गरियो। ज्यान जोगाउन सन् १९८९ मा उनी भारत हुँदै नेपालमा शरण लिन पुगे। यद्यपि, दुई देशबीचको तत्कालीन दरबारिया सम्बन्ध र ‘विद्रोही’ लाई शरण नदिने अलिखित समझदारीका कारण १६ नोभेम्बर १९८९ मा उनलाई कानुनी प्रक्रियाविना नै नेपालबाट पक्राउ गरी भुटान सुम्पियो।
भुटान पुर्याएपछि रिजालले सन् १९८९ देखि १९९९ सम्म १० वर्ष अत्यन्तै कष्टकर जेल जीवन बिताए। चेम्गाङ्ग जेलको एकान्त कारावासमा उनलाई बाहिरी संसारबाट पूर्णतः अलग राखियो। उनले आफ्नो पुस्तक ‘टर्चर: किलिङ मी सफ्ट्ली’ मा उल्लेख गरे अनुसार, उनलाई अन्धकार कोठामा राख्ने र सुत्न नदिने जस्ता क्रूर मानसिक एवं शारीरिक यातना दिइएको थियो। सन् १९९३ मा आजीवन कारावासको सजाय सुनाइए पनि एमनेस्टी इन्टरनेशनलले उनलाई ‘प्रिजनर अफ कन्साइन्स’ घोषणा गरी विश्वव्यापी अभियान चलाएपछि सन् १९९९ मा उनले राजकीय आममाफी पाए।
रिहाइपछि पनि रिजाल थाकेनन्। उनले ‘निर्वासन’ र ‘प्यालेस टु प्रिजन’ जस्ता कृतिहरू मार्फत भुटानी दमनलाई विश्वसामु छर्लङ्ग पारे। जेल जीवनले शारीरिक रूपमा कमजोर बनाए पनि उनको वैचारिक दृढताले भुटानी शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो मद्दत गर्यो। जीवनको उत्तरार्धमा रहेका उनले २३ जुलाई २०२५ देखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका छन्। हाल उनी आफ्ना अनुभवहरू समेटिएको ‘जीवनको अन्तिम सन्देश’ नामक पुस्तक लेखनमा व्यस्त छन्, जुन भावी पुस्ताका लागि न्याय र अधिकारको लडाइँको महत्त्वपूर्ण दस्तावेज हुने निश्चित छ।
रिजालले भारत सरकारलाई लेखेको पत्रमा ठूलो कुरा मागेका छैनन्। उनले न्याय वा पैसाको माग गरेका छैनन्। उनले केवल एक वृद्ध, असहाय र एक्लो मानिसका रूपमा थोरै मानवीय सहायता, मार्गदर्शन र ऐक्यबद्धताको अनुरोध गरेका छन्। उनले पत्रमा लेखेका छन्, “इतिहास साक्षी छ, जब भुटान र नेपालका शक्ति केन्द्रले मलाई मार्ने योजना बनाउँदै थिए, तब अन्तर्राष्ट्रिय जगतको सहायता र दबाबले बचायो। त्यसैले मानवता, विवेक र न्यायले एक दिन जित्नेछ भन्नेमा म अझै विश्वस्त छु।”
रिजालको पत्रमा व्यक्तिगत माग मात्र छैन, यसले केही गम्भीर प्रश्नहरू पनि उब्जाएको छ:
• जब भारतीय मिडिया र मानव अधिकारवादी संस्थाहरू यस्तो ठूलो अत्याचारमा मौन बस्छन्, तब यी संस्थाहरूको औचित्य के हो?
• यदि संसारलाई धोका दिएर अपराध गर्दा सजाय हुँदैन भने, न्याय र मानवअधिकारका कुरा केवल कागजमा मात्र सीमित हुन् कि वास्तविकतामा पनि?
रिजाल भन्छन्, “जिग्मे सिङ्गे वाङ्चुकलाई अन्तर्राष्ट्रिय न्यायको कठघरामा उभ्याइनुपर्छ। तब मात्र संसारले मानवअधिकार र मानवीय गरिमाको अझै कुनै अर्थ छ भन्न सक्छ।” टेकनाथ रिजालको यो अपीलले भारत सरकार, अन्तर्राष्ट्रिय समुदाय र मिडिया सबैको ध्यान तान्नुपर्छ।
भारतले तत्काल मानवीय आधारमा यी वृद्धलाई आश्रय, सुरक्षा र स्वास्थ्य सहायता दिनुपर्छ।
लोकतन्त्रको हिमायती दाबी गर्ने भारतले निर्दोष वृद्धको अपील बेवास्ता गर्नु हुँदैन। अन्तर्राष्ट्रिय समुदायले भुटानको “कुल राष्ट्रिय खुसी” को आवरणभित्र लुकेको सत्य हेर्नुपर्छ। एक लाख मानिस लखेट्ने राजालाई न्यायको कठघरामा ल्याउने माग पुनः उठ्नुपर्छ। मिडियाले यो कथा सार्वजनिक गर्नुपर्छ किनकि चार दशकअघि सुरु भएको अन्याय अझै टुंगिएको छैन।
टेकनाथ रिजालले पत्रको अन्त्यमा लेखेका छन्, “इतिहास साक्षी छ कि मानवता, विवेक र न्यायले जित्न सक्छ।” यो एउटा वृद्धको अन्तिम आशा हो। जसले दश वर्ष जेल भोग्यो, देश, सम्पत्ति र परिवार गुमायो, ऊ अझै न्यायमा विश्वास राख्छ। यो विश्वास जोगाउनु अब विश्वकै जिम्मेवारी हो। भुटानलाई जवाफदेही बनाइनुपर्छ र उसले निष्पक्ष न्यायको सामना गर्नुपर्छ। तब मात्र संसारले मानवअधिकार र मानवीय गरिमाको अर्थ छ भन्न सक्नेछ।
भूटानी साहित्यकार रूपनारायण पोख्रेल को मार्मिक र गहिरो कविता “वृद्ध पक्षी” पनि एकपटक हेरौं।
एउटा वृद्ध पक्षी
बाक्लो बस्तीबीच -एक टहराको
माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
कुज्जिएका खुट्टा र पखेटा स्याहार्दै
आफ्ना उत्तरार्धका दिन काटी रहेछ
उसलाई बिल्कुलै सन्चो छैन
शारीरिक रूपमा निर्बल छ
मानसिक रूपमा जीर्ण छ
विगत प्रेतसरह एक भूत भएको छ
वर्तमान कहालीलाग्दो धुसामा बेरिएको छ
भविष्य हुस्सेले ढाकेको खोला गड्तिर जस्तो-
सुसाउँछ तर केही देखिँदैन
ऊ अपुरा सपनाका किर्कौलाहरू
एकान्तमा बसेर भावनाका नाङ्लामा
छिन्की रहन्छ
पक्षी न हो- एकनास बस्न पनि सक्तैन
ऊ बेलाबेला घिस्रँदै गुँडबाट निस्किन्छ
र, सकी नसकी बार्दलीको एउटा आटमा बस्छ
बार्दलीबाट घरी घरी टहरा आसपास
अनि, पर परसम्म देखिने
बोट-बिरुवा अनि पोथ्रा पोथ्रीहरुमा
निर्धक्क रमाइरहेका अनेकन् प्रजातिका
चराहरू देख्छ
ऊ, मनमनै उड्छ
चहार्छ अनेकन् वन जङ्गल
पहरा पखेरा, समतल मैदान अनि कुना कन्दरा
ऊ रमाउँछ प्रफुल्लित भई-
मानौँ ऊ वर्षौंपछि पुनः छुटेको छ
जन्जिरयुक्त पिञ्जराबाट
उसका खिइसकेका नङ्ग्रा
कुज्जिएका पखेटा जब कटक्क दुख्छन्
ऊ भरङ्ग हुन्छ र पाउँछ आफूलाई
कमिला सल्बलाई रहेका त्यही टहराको बार्दलीमा-
ऊ झस्किन्छ, उसको मन चस्किन्छ
भ्रम या यथार्थ- ऊ छुट्याउन सक्तैन – एकोहोरो
टोहोलाउनु, एकान्तमा छट्पटाउनु
सम्झँदै कहालीलाग्दो मृत विगतसँग तड्पिनु
वृद्ध पक्षीको दिनचर्या!
ऊ सकी नसकी घिस्रँदै पुग्छ उही पुरानो गुँडमा
कसैले जुटाइदिएको चारो टिप्न खोज्छ
त्यो विगतमा पिञ्जराका दिवाल कोट्याउँदा
मठुरिएको चुच्चोले टिपेको चारो- कतिचोटि
मुखमा नपुग्दै झर्छ;
मानौँ उसका सयौँ सपना त्यसरी नै
योजनाका मुखमा पुग्दा नपुग्दै- ऊ
शिकारी गिद्धका फन्दामा परेको थियो
जङ्गलमा चराहरूलाई खतरा हुँदा
ऊ चिच्याएर कराएको थियो;
उसले गिद्धका विरुद्ध करायो
अरू चरा तितरबितर भए;
कति अनाहकमा मरे
कति कसो कसो बाँचे
दश दिशान्तर भागे-
अरू चराका लागि ऊ कराएकै कारण
धेरै दशकअघि –
गिद्धका पिञ्जडामा परेको थियो
ऊ एक निडर पक्षी हो!
गिद्धका पिञ्जरामा ऊ गल्दै गलेन
वनमै आगो लाग्दासमेत ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर पिञ्जराबाट मुक्त भो-
लामो श्वास लियो!
लरबर- लरबर गर्दै- घिस्रिँदै
कुज्जिएका पखेटा फट्कार्दै
निरस अनि त्यो उजाड जङ्गल नियाल्यो
सुनसान थियो वन!
ती वर्षौँअघि दश दिशान्तर भागेका
चरा सम्झँदै उसले पनि त्यो वन छोड्यो
एक दूर जङ्गलमा बासस्थान खोज्दै ऊ पुग्यो
ती तितरबितर भएका चराहरू
एक नदी बगर छेउछाउ
बोट बिरुवाका छहारीमा
एकीकृत भएको भेट्यो-
एकाध ऊ खुसीले गदगद भो
मानौँ ऊ गुमेका सपना बटुल्न सक्ने भो
उसमा जोस पलायो
भित्र जस्तो भए पनि बाहिरी ऊ बहुतै रमायो!
समय, जीवन र सपना- केवल पल भरका
भने झैँ-
उसको खुशी लामो समय टिकेन
सपना चकनाचुर भए-
ती तितरबितर भएका चराले चिन्नै छोडे
ऊ फेरि एक्लो भो!
गिद्धका पिञ्जराबाट छुटेको ऊ
फेरि परिबन्धको शिकार भो
उसका आफ्ना ठानिएका चराहरू
पुनः आकाशमार्ग हुँदै अरू नै वनतिर लागे
उसका आफ्नैले पनि सात समुद्र तरे!
ऊ भने स्वार्थप्रेरित कौवाका परिबन्धमा पर्यो
फेरि उसको सपनाको धरहरा
भूकम्पले ढाले झैँ गर्ल्याम-गुर्लुम ढल्यो
अर्को पिञ्जरामा उसको जीवन सुरु भयो!
ऊ एक निडर पन्छी हो!
कौवाका पिञ्जरामा पनि ऊ गल्दै गलेन
लगाइएको डढेलोमा पनि ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर कौवाको पिञ्जराबाट मुक्त भो
तैपनि उसको मेरो भन्ने केही रहेन
ऊ एक टहराको माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
पिञ्जराकै सरह जीवन बाँची रहेछ
आजभोलि ऊ घरी घरी मन मनै बोल्छ-
‘मेरो छैन भन्ने केही छैन
मेरो आफ्नो भन्ने सबै थोक छ-
मसँग छ भन्ने केही छैन
मेरा आफ्ना सबै छन्
म सँग आफ्ना कोही छैनन्!’
ऊ मानसिक रूपमा यति जीर्ण छ
ऊ आज पनि उही गिद्धको इशारामा
जीवन बाँची रहेछ,
ऊ एकान्तमा पनि कसैले बोलेको सुन्छ
यसो गर उसो गर भनेको उसलाई याद छ
उसलाई सुत् भन्ने अर्कै छ
उसलाई उठ् भन्ने अर्कै छ
हिजोआज ऊ बिपनामा समेत सपनामा झैँ तर्सिन्छ
मानौँ ऊ एउटा कुनै अदृश यन्त्र मार्फत नियन्त्रित छ
ऊ गिद्ध र कौवाको जन्जिरभित्र
चेपिनसम्म चेपिएको छ!












