“एकता, शिक्षा र जागरण: दमकमा सम्पन्न ‘Bhutanese Christian Diaspora Meet 2026’”

0
7

@अर्जुन प्रधान

पूर्वी नेपालको रमणीय सहर दमक यसपटक आत्मिक उत्साहले भरिएको देखियो। दमकस्थित ज्योति मण्डलीमा आयोजित “Bhutanese Christian Diaspora Meet 2026” अन्तर्गत दुई दिने विशेष सम्मेलन प्रार्थना, स्तुति र वचनको संगतिमा सम्पन्न भएको छ।

अमेरिका लगायत विभिन्न देशहरूमा बसोबास गर्दै आएका भुटानी नेपाली ख्रिष्टियन दाजुभाइ–दिदीबहिनीहरू एकै छानामुनि भेला हुँदा मण्डली परिसर अन्तर्राष्ट्रिय आत्मिक परिवारको झल्को दिन्थ्यो। कार्यक्रममा “हेर्नुहोस्, कति असल र रमाइलो हुन्छ, जब दाजुभाइहरू एकतामा बस्छन्” (भजन १३३:१) भन्ने बाइबल पद सजीव बनेको अनुभूति गरिएको थियो।

भेटघाटका क्रममा सहभागीहरूले एकता र समर्पणको भाव बोकेको विशेष थिम गीत गाएका थिए। स्तुति–भजनका स्वरले हल गुन्जिँदा वातावरण प्रार्थनामय बनेको थियो। “जहाँ दुई वा तीन जना मेरो नाममा भेला हुन्छन्, त्यहाँ म तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:२०) भन्ने पदलाई सम्झँदै विश्वासीहरूले आत्मिक संगति सुदृढ पारे।

वक्ताहरूमा डा. माइकल थापा र पास्टर लाजरस थुलुङले परमेश्वरप्रतिको भरोसा, प्रवास जीवनका संघर्ष र सुसमाचारको जिम्मेवारीबारे प्रेरणादायी सन्देश दिनुभयो। उहाँहरूले “सबै कुरामा परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा भलाइका निम्ति मिलेर काम गर्छ” (रोमी ८:२८) भन्ने सन्देशमार्फत आशा र धैर्यको आह्वान गर्नुभयो।

यसै अवसरमा Bhutanese Nepali Christian Association of America (BNCA) अन्तर्गत BNCA Department of Education द्वारा सञ्चालन गरिएको ४० घण्टे अनलाइन बाइबल तालिमको ग्राजुएसन कार्यक्रम पनि सम्पन्न भएको छ। ८० भन्दा बढी सहभागीहरूले सफलतापूर्वक अध्ययन पूरा गरेका थिए। तालिममा बाइबलको आधारभूत शिक्षा, ख्रीष्टियन जीवनशैली, नेतृत्व विकास तथा मण्डली सेवासम्बन्धी विषयहरू समेटिएका थिए।

ग्राजुएसन समारोहमा बोल्दै BNCA का अध्यक्ष पास्टर शान राई र डा. माइकल थापाले शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई जीवन परिवर्तनको यात्रासँग जोडिएको उल्लेख गर्नुभयो। “वचनका सुनुवाइ मात्र गर्ने होइन, तर त्यसलाई पालन गर्ने बन” (याकूब १:२२) भन्ने पद उद्धृत गर्दै उहाँहरूले स्नातकहरूलाई सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

कार्यक्रमका क्रममा मण्डलीका सिनियर पास्टर एन.डी. थुलुङलाई प्रारम्भिक संघर्षका दिनहरूमा मण्डली स्थापना र सेवामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान तथा उपहार प्रदान गरिएको थियो।

दुई दिनसम्म चलेको सम्मेलन आत्मिक जागरण, अनुभव साटासाट र नयाँ पुस्तालाई विश्वासमा बलियो बनाउने संकल्पसहित सम्पन्न भएको आयोजकले जनाएको छ। “तिमीहरू संसारका ज्योति हौ” (मत्ती ५:१४) भन्ने पदलाई आत्मसात गर्दै सहभागीहरूले समाज र विश्वमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चलचित्र निर्देशक सन्तोष रामधमका अनुसार आगामी दिनहरूमा अझ उन्नत तहका तालिम सञ्चालन गर्ने योजना रहेको, जसले विश्वभर छरिएका भुटानी नेपाली ख्रिष्टियन विश्वासीहरूलाई एउटै आत्मिक परिवारमा जोडिराख्ने विश्वास व्यक्त गरिएको छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here