@अर्जुन प्रधान
ओमाहा, नेब्रास्का
अमेरिकाको ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम” ले नेपाली समुदायको गहिरो माया, सम्मान र एकताको सुन्दर दृश्य प्रस्तुत गरेको छ।
नेपाली हास्यकला र सामाजिक सेवामार्फत लामो समयदेखि समाजलाई हाँस्न र सोच्न सिकाउँदै आएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) प्रति व्यक्त गरिएको आत्मीयताले कार्यक्रमलाई भावनात्मक र सम्झनालायक बनाएको आयोजकको समिक्षा छ ।
कार्यक्रमका अवसरमा धुर्मुस–सुन्तलीको दीर्घकालीन सामाजिक तथा मानवीय योगदानको कदर गर्दै अमेरिकास्थित ग्रेट इभेन्ट्स सेन्टरले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई विशेष सम्मानपत्र प्रदान गर्यो।
उक्त प्रमाणपत्रमा “नेपालका विपद्–प्रभावित समुदायका लागि एकीकृत बस्ती निर्माण, स्वास्थ्य सेवामा गरिएको सहयोग तथा राष्ट्रिय गौरव बढाउने परियोजनामा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो। यसले उनीहरूको कार्य केवल मनोरञ्जनमा सीमित नभई समाज रूपान्तरणतर्फ उन्मुख रहेको सन्देश दिएको छ।


कार्यक्रममा सहभागी हुँदै धुर्मुस–सुन्तलीले आफूहरूलाई दिइएको सम्मान व्यक्तिको लागि मात्र नभई सेवाको भावनाप्रतिको सम्मान भएको अनुभूति भएको बताएका छन्। “हामीले थालेको सानो यात्रालाई यहाँसम्म ल्याइपुर्याउने शक्ति भनेकै नेपाली समुदायको साथ, विश्वास र माया हो,” उनीहरूको धन्यबाद ज्ञापन पत्रमा उन्लेख छ ।

यस विशेष कार्यक्रमको आयोजना तथा सफल व्यवस्थापनका लागि ग्रेट इभेन्ट्स सेन्टर तथा संस्थाका प्रमुख डा. कुमार गुरुङ सहित सम्पूर्ण टिमप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष, अगुवा व्यक्तित्व, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूको सहभागिताले विदेशमा रहे पनि नेपाली समुदाय कति संगठित, संवेदनशील र एकअर्काप्रति जिम्मेवार छ भन्ने सन्देश दिएको आयोजक पक्षको भनाइ छ। यो कार्यक्रम केवल सम्मानमा सीमित नरही नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धताको प्रतीक बनेको देखिन्थ्यो।


विदेशी भूमिमा बसेर पनि नेपाल र नेपालीप्रतिको माया यसरी झल्किनु गर्वको विषय भएको उल्लेख गर्दै धुर्मुस–सुन्तलीले आगामी दिनमा पनि समाजका लागि सकारात्मक काम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।












