भुटानका राजनीतिक बन्दी, मानवअधिकार र न्यायको माग गर्दै, राजा समक्ष खुला पत्र

0
16

@newsdeskusa

भुटानका राजनीतिक बन्दीहरूको अवस्था फेरि एकपटक अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको छ। भारतको दार्जिलिङ निवासी अजय एड्वार्ड्सले भुटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलाई लेखेको खुला पत्रले करुणा, न्याय र मेलमिलापको गहिरो प्रश्न उठाएको छ।

भारतीय गोर्खाका रूपमा आफूलाई चिनाउँदै एड्वार्ड्सले नेपालीभाषी राजनीतिक बन्दीहरूप्रति दया देखाउन राजासमक्ष विनम्र अपिल गरेका छन्। उनले हिंसामा संलग्न नभई असहमति व्यक्त गरेकै कारण दशकौँदेखि जेल जीवन बिताइरहेका बन्दीहरूलाई क्षमादान दिन आग्रह गरेका छन्। उनका अनुसार यो केवल कानुनी निर्णयको कुरा होइन, मानवीय विवेक र नैतिक नेतृत्वको परीक्षा हो।

विभिन्न मानवअधिकार संस्थाका प्रतिवेदन अनुसार भुटानमा अझै पनि कम्तीमा तीन दर्जन हाराहारी राजनीतिक बन्दीहरू कठोर अवस्थामा छन्। लामो समयदेखि थुनामा रहेका उनीहरू पर्याप्त स्वास्थ्य सेवा, पोषणयुक्त खाना, न्यानो कपडा र परिवारसँग सम्पर्कजस्ता आधारभूत अधिकारबाट वञ्चित रहेको उल्लेख गरिएको छ। केही बन्दीहरू जेलमै बिरामी परेका छन् भने शा बहादुर गुरुङको हिरासतमा भएको मृत्युले यस विषयलाई अझ गम्भीर बनाएको छ।

मानवअधिकारवादीहरूको भनाइमा भुटानले अन्तर्राष्ट्रिय मञ्चमा “ ग्रॉस नेशनल हैप्पीनेस ” को अवधारणा प्रस्तुत गरे पनि, राजनीतिक बन्दीहरूको वास्तविक अवस्था त्यसको ठीक उल्टो देखिन्छ। न्यायिक प्रक्रिया बिना कठोर सजाय, लामो एकान्त थुनुवा र मानवीय व्यवहारको अभावले राज्यको नैतिक छविमाथि प्रश्न उठाएको छ।

यस विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका (GCRPPB) का संस्थापक एवं समन्वयक राम कार्कीले भुटानको संविधानले राजालाई क्षमादान र सजाय घटाउने विशेष अधिकार दिएको स्मरण गराउँदै अब मानवीय पहल आवश्यक रहेको बताएका छन्। उनका अनुसार अनुसार “यो मानवतासँग जोडिएको गहिरो विषय हो, जसले तत्काल ध्यान खिच्नुपर्छ । राजनीतिक बन्दीको मुद्दा बदला वा दोषारोपणको होइन, शान्ति र पुनर्मिलनले इतिहासलाई चिनाउने हो।”

खुला पत्रमा अजय एड्वार्ड्स लेख्छन्,

“जब दया सम्भव छ, कुनै पनि परिवारले जेलभित्र आफ्ना प्रियजन गुमाउनु हुँदैन। अर्को मृत्यु अब दोहोरिनु हुँदैन।”

यो खुला पत्र एक व्यक्तिको भावना मात्र होइन। यो भुटानभित्र र बाहिर रहेका हजारौँ परिवारको साझा पीडा, आशा र न्यायको आवाज हो। राजनीतिक बन्दीहरूको भविष्यसँगै यो पत्रले भुटानले कुन बाटो रोज्छ? करुणा र मेलमिलापको, कि मौन पीडाको भन्ने प्रश्न पनि छाडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here