@अर्जुन प्रधान
भूटानका सबैभन्दा लामो समयदेखि कारागारमा रहेका राजनीतिक बन्दी शाह बहादुर गुरुङ को जेलमै मृत्यु भएपछि भूटानको कारागार प्रणाली र राजनीतिक बन्दीहरूको अवस्थामाथि गम्भीर मानव अधिकार प्रश्न उठेको छ। ह्युमन राइट्स वाच (HRW) ले गुरुङको मृत्युलाई लिएर भूटान सरकारसँग तत्काल स्पष्टीकरण माग्दै स्वतन्त्र छानबिनको माग गरेको छ।
६५ वर्षीय गुरुङको डिसेम्बर महिनामा थिम्पु नजिकैको चामगाङ कारागार मा मृत्यु भएको हो। आँखाको समस्याको उपचार खोजिरहेका बेला उनको मृत्यु भएको बताइए पनि कारण अझै स्पष्ट छैन। गुरुङ सन् १९९० मा नेपाली भाषी अल्पसंख्यक समुदायका अधिकारका लागि आवाज उठाएको आरोपमा पक्राउ परेका थिए र ३५ वर्ष जेल जीवन बिताएका थिए।
HRW का अनुसार भूटानमा हाल करिब ३० जना राजनीतिक बन्दी छन्, जसमा धेरैले आजीवन कारावास भोगिरहेका छन्। कारागारभित्र बन्दीहरूलाई पर्याप्त खाना, लुगा, ओछ्यान, औषधि र उपचारबाट वञ्चित गरिने तथा कतिपय अवस्थामा पैसा तिर्ने बन्दीलाई मात्र औषधि दिने गरिएको गम्भीर आरोप छ।
यसैबीच, ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान (GCRPPB) ले HRW को पहललाई स्वागत गर्दै गुरुङको मृत्युमाथि स्वतन्त्र र निष्पक्ष छानबिन र सबै राजनीतिक बन्दीहरूको तत्काल रिहाइ का लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब बढाउन आह्वान गरेको छ। संगठनले एम्नेस्टी इन्टरनेशनल लगायत विश्वव्यापी मानव अधिकार संस्थाहरूलाई सार्वजनिक रूपमा आवाज उठाउन आग्रह गरेको छ।
“दशकौँसम्म कारागार र निर्वासनका कारण छुट्टिएका परिवारहरू सत्य, न्याय र अर्थपूर्ण क्षतिपूर्तिको पूर्ण हकदार छन्, साथै लामो कारावासबाट बाँचेकाहरूका लागि पुनर्स्थापना प्रक्रिया सुनिश्चित हुनुपर्छ,”GCRPPB का संस्थापक र विश्वव्यापी समन्वयक राम कार्कीले भने ।
भूटानी कानुनअनुसार आजीवन सजाय माफी वा घटाउने अधिकार राजासँग मात्र रहेको सन्दर्भमा HRW ले गुरुङसँग जेलमा कस्तो व्यवहार गरियो भन्नेबारे सरकारको स्पष्ट जवाफ र कारागार अवस्थाको समग्र सुधार माग गरेको छ।
मानव अधिकारकर्मीहरूका अनुसार गुरुङको मृत्यु भूटानले अन्तर्राष्ट्रिय रूपमा बनाएको शान्त र सुखी देश को छविभन्दा कारागारभित्रको कठोर यथार्थ कति फरक छ भन्ने कुराको गम्भीर संकेत हो।












