अखण्ड भण्डारी गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त

0
11

@newsdeskusa

सरकारले सोमबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट वरिष्ठ पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीलाई नियुक्त गरिएको जानकारी दिएका छन् । निर्णयपत्रमा ‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने’ उल्लेख छ ।

दीर्घकालदेखि पत्रकारितामा सक्रिय भण्डारी नेपाली पत्रकारिताका स्थापित नाम हुन् । उनले निजी मिडियामा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । कान्तिपुर दैनिकका विभिन्न विभागमा करिब १८ वर्ष काम गरेका भण्डारी पछिल्लो समय अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादकका रूपमा कार्यरत थिए । उनी ‘समाचारको भाषा’, ‘मलया एक्सप्रेस’ र ‘बोरा’ जस्ता पुस्तकका लेखकसमेत हुन् ।

नयाँ अध्यक्षको नियुक्तिसँगै गोरखापत्र संस्थानको नेतृत्व औपचारिक रूपमा टुंगिएको छ । १९०१ मा स्थापना भई १९६१ देखि दैनिक रूपमा प्रकाशन हुँदै आएको गोरखापत्र नेपाल सरकारको स्वामित्वमा रहेको देशकै पुरानो दैनिक पत्रिका हो । गोरखापत्र संस्थानले हाल नेपाली भाषाको गोरखापत्र र अंग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ प्रकाशन गर्दै आएको छ ।

पत्रकारितामा लामो अनुभव बोकेका भण्डारीको नेतृत्वमा गोरखापत्र संस्थानको सामग्री, व्यवस्थापन र व्यावसायिक स्तर थप सुदृढ हुने अपेक्षा सबैले गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here