न्यानोपनको यात्राः क्यानकुन (मेक्सिको) मा मित्रता, स्वाद र स्वतन्त्रताका पाँच दिन— पातलो अन्तरे

0
21


केही यात्राहरू विश्रामका लागि योजना गरिन्छन्, केही साहसिकताका लागि—तर विरलै हुने केही यात्राहरू जीवनभर बोकेर हिँड्ने कथामा परिणत हुन्छन्। मेक्सिकोको क्यानकुनमा बिताएका हाम्रा पाँच दिन त्यस्तै थिए—अचानक बनेका क्षणहरू, साझा हाँसो, सांस्कृतिक खोज, र मानव तथा प्रकृतिको न्यानोपनले थाकेका आत्माहरूलाई कसरी निको पार्छ भन्ने मौन अनुभूति।
यो केवल घुमफिर मात्र थिएन। यो मित्रता, धैर्य, र जीवनकै उत्सव थियो। धन्यवाद अन्नपूर्णा इन्स्योरेन्स एजेन्सी तथा कृष्ण खनाल|

पहिलो दिन: ढिलाइ, मोडहरू, र अप्रत्याशित खुशी
यात्राको सुरुवात सहज थिएन। IAD बाट हाम्रो उडान रद्द भयो, र विभिन्न राज्यबाट आएका हामी १२ जना साथीहरू उड्नुअघि नै रोकियौँ। तर त्यो ढिलाइले हामीलाई पहिलो पाठ सिकायो—कहिलेकाहीँ मोडहरूले नै अझ सुन्दर सम्झना जन्माउँछन्।
हामी काम गर्ने संस्था अन्नपूर्णा इन्स्योरेन्स एजेन्सी तथा कृष्ण खनाल सरको सहयोगले छिट्टै वैकल्पिक व्यवस्था भयो। IAD नजिकैको सुन्दर Airbnb मा बस्यौँ—१५ बेडरुम, टेबल टेनिस र स्वीमिङ पुलसहितको ठूलो घर।
साँझ पर्नासाथ घर नेपाली कराओके, गजल, कविता र हाँसोले भरियो। खेल राति ढिलोसम्म चलिरह्यो। थकान पनि खुशीसामु हार मान्यो। करिब राति १ बजे सुत्यौँ—मेक्सिको नपुग्दै यात्रा सुरु भइसकेको थियो।


आजको उक्ति:“कस्तो प्लेनले छोडेर कस्टमर सर्भिसँग बाझ्दा बाझ्दै आएजस्तो अनुहार बनाको?? 😜”

दोस्रो दिन: चिसो हावाबाट क्यारिबियनको न्यानोपनतर्फ
बिहानै कफी, स्न्याक्स र उत्साहसहित उठ्यौँ। Uber मार्फत IAD पुग्यौँ र Capital One Lounge मा समय बितायौँ—लामो यात्रामा साना आराम कति महत्त्वपूर्ण हुन्छन् भन्ने सम्झना।
शाकाहारी साथीहरूले ओटमिल, फलफूल र कफी लिए; अरूले स्यान्डविच र पेय पदार्थ। सेवा उत्कृष्ट थियो—बार टेन्डेन्ट सुशील र सन्तोषप्रति विशेष धन्यवाद।
एक दिनको ढिलाइपछि अन्ततः क्यानकुनतर्फ उड्यौँ। १,३५४ माइलको उडानमा नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र फ्लोरिडाका छाना तलबाट बग्दै जाँदा, दैनिक जीवनका तहहरू बिस्तारै झर्दै गएको अनुभूति भयो।
साँझ ५ बजे क्यानकुन अवतरण गर्दा ८५ डिग्रीको उष्ण हावाले स्वागत गर्‍यो। चिसोबाट घाममा नुहाएको त्यो क्षण अविस्मरणीय रह्यो।


आजको उक्ति:“December 12, 12 people, 12 PM flight, gate 12, seat 12। अनि कसरी 12 बज्दैन त हाम्रो!”

तेस्रो दिन: इस्ला मुहेरेस—पाल, गीत र आत्माको यात्रा
उत्साहले दिन सुरु भयो। बिहान ८ बजे लबीमा भेला भई निजी ६ घण्टे आइल्यान्ड बोट टुर बुक गर्‍यौँ। थप सहकर्मीहरूसहित अब हामी अन्नपूर्णा इन्स्योरेन्स एजेन्सी का १७ जना साथी भयौँ। गाडीभरि नेपाली गीत गुन्जिरहे।
मुख्य आकर्षण—इन्जिनबिनाको क्याटामारान पाल। हावा र छालले मार्गदर्शन गरेको त्यो शान्त यात्रा हाम्रो नाचगान र हाँसोसँग सुन्दर रूपमा घुलमिल भयो।
आइल्यान्डमै दिउँसोको खाना—सरल, आत्मीय, र आश्चर्यजनक रूपमा परिचित। स्वाद, मानिसहरूको न्यानोपन—सबैले नेपालको झल्को दियो। समुद्रपारि संस्कृतिहरू पनि कति नजिक हुन्छन्!
पछिल्ला दुई घण्टा आइल्यान्डको अर्को पाटोमा बितायौँ—नीलो शान्तिमा रमाउँदै।


आजको उक्ति:“Drunk and towed is normal in Cancun.”

चौथो दिन: जंगलको साहस र मध्यरातको भोक
चौथो दिन शुद्ध एड्रिनालिन थियो। समुद्रकिनार फोटोशूटपछि जंगल सफारीतर्फ लाग्यौँ। भ्यानभित्रै गीत, नाच, ठट्टा र जीवनका पाठहरू बगिरहे।
सफारीका अनुभवहरू: • जंगलमाथि जिप-लाइन (धेरैका लागि पहिलो), • स्विमिङ र फ्री जम्प, • हिलो बाटोमा ATV राइड, • अन्त्यमा ताजगी दिने स्विम।
दिउँसोको खाना पछि Riu Cancun फर्कियौँ। रात ७ बजेदेखि बिहान २ बजेसम्म संगीत, नाच र उत्सव।
सुत्नुअघि भोक लाग्यो—तर भागवतजीले घरबाट ल्याएको “चाउचाउ” ले फेरि प्रमाणित गर्‍यो: नेपाली स्वाद सधैं कथामा पुग्छ।


आजको उक्ति:“गाउनु र चिच्याउनुमा फरक हुन्छ।”

पाँचौँ दिन: विदाइ, कृतज्ञता र मौन अनुभूति
अन्तिम दिन शान्त आयो। उत्साह, थकान र अलिकति उदासी मिसिएको। अन्तिम पटक पौडी खेलेर, खाना खाएर चेकआउट गर्‍यौँ र एयरपोर्टतर्फ लाग्यौँ।
कसैको अनुहारमा अझै रातको रमाइलो बाँकी थियो, कसैले मौनमै सम्झनाहरू बटुल्दै थियो। मेक्सिकोका रंग—समुद्र, खाना, मानिस र हाँसो—मनमा गहिरो बसे।
क्यानकुन → नर्थ क्यारोलाइना → MDT हुँदै करिब १२:०५ AM सुरक्षित अवतरण।


आजको उक्ति:“जिन्दगीमा एकचोटी त आफैले आफैलाई नचिन्ने गरी रमाउनुपर्छ।”

यात्राभन्दा परका अनुभूतिहरू
यो यात्रा केवल घुमाइ थिएन। यसले सिकायो:

• न्यानो आतिथ्य,

• भाषा पार गर्ने संगीत र नाच,

• नरिवल, रंग र स्वादले भरिएको भोजन,

• जिप-लाइनदेखि जंगल यात्रासम्मको साहस,

• साझा क्षणले गाढा बनाएको मित्रता,

• र—जीवन जतिबेला पनि बदलिन सक्छ भन्ने तयारी।
क्यानकुन केवल गन्तव्य होइन—एक अनुभूति हो। जसले पूर्ण रूपमा बाँच्न, ठूला स्वरमा हाँस्न, र जीवनले बोलाउँदा क्षणभर रोकिन सिकाउँछ।

म फेरि मेक्सिको किन जान चाहन्छु?
किनकि मेक्सिकोले संसारलाई खुला बाहुपासले स्वागत गर्छ।किनकि यसको मौसम सौम्य छ, मानिसहरू अझ न्यानो छन्, र सम्झनाहरू दीर्घकालीन।र किनकि केही ठाउँहरू नक्सामा मात्र होइन—हृदयमा बस्छन्| 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here