मेरो भोइस /डान्स युनिभर्स सिजन २” – आवाज, कला र पहिचानको अन्तर्राष्ट्रिय यात्रा

0
279

अर्जुन प्रधान

विश्वभर छरिएर रहेका नेपाली प्रतिभाहरूको समुन्नत मञ्च निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको “मेरो भोइस युनिभर्स सिजन २” ले यस वर्ष सांगीतिक र नृत्यात्मक उत्सवलाई साँच्चिकै वैश्विक बनाएको छ। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित यो अन्तर्राष्ट्रिय रियालिटी शोले २० भन्दा बढी देशका नेपाली प्रतिभाहरूलाई एउटै छातामुनि ल्याएको छ – जहाँ भाषा, संगीत, नृत्य र नेपालीपनको भावनाले सारा दूरीहरूलाई नजिक बनाएको छ।

प्रतियोगिताको प्रारम्भिक अडिसन विश्वका प्रमुख महादेशहरूमा सम्पन्न भइसकेको छ। पहिलो चरणमा अमेरिकाको ओहायो राज्यको कोलम्बस (जनवरी २५–२६, २०२५) मा अडिसन सम्पन्न भयो । त्यसपछि लण्डन (बेलायत) र लिस्बन (पोर्चुगल) मा फेब्रुअरी १५–१६, २०२५ मा तथा टोकियो (जापान) र हङकङमा फेब्रुअरी १५–१६, २०२५ मा अडिसन सम्पन्न भयो । सिड्नी (अष्ट्रेलिया) मा फेब्रुअरी २३, बैंकक (थाइल्याण्ड) र दुबई (यूएई) मा फेब्रुअरी २२–२३, दोहा (कतार) मा फेब्रुअरी २१, मुम्बई (भारत) मा मार्च १–२ र सिलिगुडी (भारत) मा मार्च ८–९, २०२५ मा अडिसन कार्यक्रम सम्पन्न भयो । अन्तिम चरणको अडिसन नेपालका विभिन्न शहरहरू – झापा (बिर्तामोड), कास्की (पोखरा), बाँकेको (नेपालगञ्ज) र काठमाडौं – मा चैत्र १६–१७, २०८१ (अर्थात् मार्च ३०–३१, २०२५) मा सम्पन्न भयो ।

प्रत्येक स्थानमा अडिसनमा सहभागी हुने उम्मेदवारहरूलाई ‘साइटलेस अडिसन’ नामक नयाँ ढाँचामा प्रदर्शन गर्न लगाइयो, जहाँ निर्णायकहरू प्रदर्शनकर्ताका अनुहार नदेखी स्वरको आधारमा छनोट गर्छन्। यस कदमले प्रतिभा छनोटमा पूर्वाग्रह हटाउँदै उत्तम आवाज पहिचान गर्ने विश्वास गरिएको छ ।

सिजन २ को मेगा अडिसन अमेरिकाको कोलम्बस शहरबाट सुरु भयो। जनवरी २५–२६, २०२५ मा प्रारम्भिक चरण सम्पन्न भएपछि यो यात्राले बेलायत, पोर्चुगल, जापान, हङकङ, अष्ट्रेलिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, कतार, भारत हुँदै नेपालसम्मको बहुआयामिक रूप लिएको छ। बिर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौंमा सम्पन्न अन्तिम अडिसनसँगै प्रतियोगिताले फाइनलको पूर्वतयारी पूरा गरेको छ।

राष्ट्रपति पौडेलको शीतल निवासमा स्वागत – यो पनि पढ्नुहोस् ः- https://globalpostinfo.us/?p=17664

यसपटक प्रयोग गरिएको ‘साइटलेस अडिसन’ अवधारणाले प्रतियोगितालाई अझ विश्वसनीय बनाएको छ। जहाँ प्रतिस्पर्धीहरू अनुहार नभई आवाजको आधारमा छनोट भए – जसले कला र क्षमताको वास्तविक मूल्याङ्कन गर्न सहज बनाएको छ। निर्णायकहरूले आवाजको निखार, सृजनात्मकता, भावनात्मक गहिराइ, र प्रस्तुतीकरणलाई मापन गर्दै छनोट प्रक्रिया अघि बढाएका छन्।

“मेरो भोइस” को निर्णायक प्यानलमा सुसंस्कृत र अनुभवी नामहरू छन् – दीप श्रेष्ठ, अन्जु पन्त, शिव परियार, सुरेश अधिकारी, कर्मा ग्याल्छेन बोम्जन र लाबुनी चक्रवर्ती। उता “मेरो डान्स युनिभर्स” का लागि मिथिला शर्मा, दिलीप रायमाझी, कबिराज गहतराज, शिल्पा मास्के, शंकर बीसी र किरण थापा निर्णायकका रूपमा उपस्थित छन्। कार्यक्रमको रौनक थप्न रिमा विश्वकर्मा, राजा राजेन्द्र पोख्रेल, नरेश भट्टराई, तेरिया मगर जस्ता चर्चित सञ्चारकर्मी तथा कलाकारहरू होस्टको रूपमा प्रस्तुत छन्।

यो प्रतियोगिता केवल स्वरकै होइन, नृत्यकलाको पनि महोत्सव हो। नर्तकहरूले शरीरका चाल, भंगिमा र अनुहारको भावद्वारा कथाहरू बोलेका छन्। ५ जना उत्कृष्ट नर्तकहरू अमेरिकाबाटै फाइनलमा प्रवेश गरेका छन्। नृत्य यहाँ केवल मनोरञ्जन होइन, सांस्कृतिक सम्प्रेषण र पहिचानको सशक्त माध्यम बनेको छ।

१५० भन्दा बढी प्रतिस्पर्धीहरूले प्रस्तुत गरेका आवाजहरूले केवल गीत मात्रै होइन, उनीहरूको जीवनकथा पनि सुनाए। हङकङका टोपराज तामाङ, मोरङका फुर्वा तामाङ, दार्जिलिङका मिलन गुरुङ, युगाण्डाकी अभिलाषा खतिवडा, सुर्खेतका सागर हमाल, दार्जिलिङकी मनिषा क्षेत्री – यी नामहरूले दर्शक र निर्णायक दुवैलाई मन्त्रमुग्ध पारे। ‘गोल्डेन ह्यामर’ प्राप्त गरेका १२ जनाले सिधै टप–४० मा स्थान बनाएका छन्।

सागर हमालले ४१४ अंक, मनिषा क्षेत्रीले ४२१ अंक, र अफ्रिकी भूमिमा नेपाली प्रतिनिधित्व गरिरहेकी अभिलाषा खतिवडाले ३९९ अंक ल्याउनु – यो तथ्यले देखाउँछ, कला सीमाहीन छ।

इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भन्नुहुन्छ, “जुनसुकै देशमा भए पनि नेपाली भाषा, कला र सांस्कृतिक चेतनालाई जोगाइराख्न यी कार्यक्रमले ठूलो भूमिका खेलेका छन्।” आयोजक संस्थाले सबै प्रतिस्पर्धीहरूको आवतजावत, बसोबास र प्रशिक्षणको व्यवस्था गर्दै नेपाल टेलिभिजनमार्फत कार्यक्रमको प्रसारणसमेत गरिरहेको छ।

कार्यक्रमको अन्त्यमा टप–५० प्रतिभा छानिएपछि, अब आगामी चरणमा टप–४० चयन हुनेछ। उत्कृष्ट गायक वा नर्तकलाई १ करोड रुपैयाँ, उपविजेतालाई २५ लाख, र तृतीय स्थानलाई १० लाख रुपैयाँ पुरस्कार दिइनेछ। टप १० मा पुग्ने सबैलाई पनि नगद पुरस्कारको व्यवस्था छ – जसले प्रतियोगीहरूको उत्साह झनै बढाएको छ।

“मेरो भोइस युनिभर्स सिजन २” केवल एउटा प्रतियोगिता होइन, यो एउटा सांस्कृतिक पुनर्जागरणको यात्रासमेत हो – जहाँ नेपाली कला, भाषा र पहिचानलाई संसारका कुना–कुनामा पु¥याउने डिल्ली अधिकारी सरको सपनाले साकाररुप लिएको छ ।
साँचो अर्थमा, यो मञ्च एउटा आवाज, एउटा नृत्य र एउटा नेपाली हृदयबाट सुरु भएर विश्वव्यापी एकताको गीत बनेको कार्यकारी निर्देशक चूडामणि भट्टराईले ग्लोबलपोस्टलाइ बताउनुभयो ।”

स्रोत: कार्यक्रम आयोजक, इन्ट्र फाउण्डेसनको एप,प्रतियोगितामा सहभागी विवरण, सञ्चारमाध्यममा प्रकाशित समाचार तथा प्रत्यक्ष संवादका आधारमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here