३५ वर्षीय केभिन एन्ड्र्युजद्वारा आक्रमण, प्रहरी अधिकारी प्रदीप तमाङको मृत्यु

0
140

ग्विनेट काउन्टी गोलीकाण्ड

(अपडेट : फेब्रुअरी १, २०२६)

@अर्जुन प्रधान

अमेरिकाको जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा ड्युटीकै क्रममा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अर्का एक अधिकारी गम्भीर घाइते भएका छन्।

ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार घटनामा संलग्न अधिकारीहरू मास्टर पुलिस अफिसर डेभिड एम. रिड (#१८०२) र पुलिस अफिसर सीनियर प्रदीप तमाङ (#२७४१) रहेका छन्।

घटनामा गम्भीर घाइते भएका मास्टर पुलिस अफिसर रिडको हाल अस्पतालमा उपचार भइरहेको छ। उनी गम्भीर तर स्थिर अवस्थामा रहेको जनाइएको छ। रिड सन् २०१५ सेप्टेम्बरमा ग्विनेट काउन्टी प्रहरी विभागमा आबद्ध भएका थिए र ९४औँ पुलिस एकेडेमीका स्नातक हुन्।

यसै घटनामा पुलिस अफिसर सीनियर प्रदीप तमाङ ले उपचारका क्रममा ज्यान गुमाएका छन्। तमाङ सन् २०२४ जुलाईमा प्रहरी विभागमा आबद्ध भएका थिए र मे २०२५ मा १२१औँ पुलिस एकेडेमीबाट स्नातक भएका थिए।

प्रहरीका अनुसार आइतबार बिहान करिब ७:३० बजे, १७९० ईस्ट पार्क प्लेस बुलेभार्डमा ठगीसम्बन्धी उजुरी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यही क्रममा एक व्यक्तिले दुई प्रहरी अधिकारीमाथि गोली चलाएका थिए। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा संदिग्ध व्यक्ति घाइते भएका थिए।

घटनामा संलग्न संदिग्धलाई ३५ वर्षीय केभिन एन्ड्र्युज भनेर पहिचान गरिएको छ। उनी ज्यान जोखिममा नपर्ने खालका चोट लिएर अस्पतालमा उपचाररत छन् र उपचारपछि ग्विनेट काउन्टी जेल पठाइने जनाइएको छ।

घटनाको अनुसन्धान जर्जिया ब्युरो अफ इनभेस्टिगेशन (GBI) ले आफ्नो नियन्त्रणमा लिएको छ।

घटनामा प्रभावित प्रहरी अधिकारी तथा उनका परिवारलाई सहयोग गर्न चाहनेहरूका लागि ग्विनेट काउन्टी पुलिस फाउन्डेशनमार्फत आधिकारिक दान संकलन भइरहेको छ।

दान गर्न इच्छुकले फाउन्डेशनको वेबसाइटमा रहेको “Line-of-Duty Support Fund” रोज्न सक्ने जनाइएको छ।

अधिक जानकारीका लागि ग्विनेट काउन्टी पुलिस फाउन्डेशनसँग सम्पर्क गर्न सकिनेछ।

स्रोत

ग्विनेट काउन्टी प्रहरी विभाग

11Alive News (Atlanta)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here