@अर्जुन प्रधान
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज घिमिरेलाई ओएम सेन्टर दिव्य धामको मुख्य पुजारीको रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ।
संस्थाका अध्यक्ष कमल धिमालका अनुसार “यस नियुक्तिले ओएम सेन्टर दिव्य धामको आध्यात्मिक, वैदिक र सांस्कृतिक यात्रामा नयाँ ऊर्जा र स्पष्ट दिशानिर्देश थप्ने विश्वास गरिएको छ।”
आचार्य श्री पर्वत राज घिमिरेको जन्म दोलखा, नेपालमा भएको हो। उहाँले महेश संस्कृत गुरुकुल विद्यापीठ, देवघाटधामबाट शाङ्कर वेदान्त विषयमा आचार्य तहसम्म अध्ययन गर्नुभएको छ। साथै त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ।
शैक्षिक तथा सेवामूलक अनुभवका दृष्टिले आचार्य घिमिरेले महेश संस्कृत गुरुकुलमा नौ वर्ष अध्यापन गर्नुभएको छ। त्यसैगरी उहाँले नेपाल सरकारमा अधिकृतका रूपमा सेवा गर्नुका साथै सैनिक महाविद्यालय सल्लाघारी, भक्तपुरमा चार वर्ष भाषा तथा साहित्य अध्यापन गर्नुभएको अनुभव पनि छ।
उहाँले डा. स्वामी रामानन्द गिरि, स्वामी रमणानन्द गिरि तथा डा. स्वामी केशवानन्द जस्ता साधुसन्तहरूबाट दीक्षा तथा मार्गदर्शन प्राप्त गर्नुभएको छ। आफ्ना गुरुहरूको शिक्षाअनुसार उहाँ वैदिक परम्परा, शुद्ध आचरण र आध्यात्मिक अनुशासनप्रति दृढ रहँदै आउनुभएको जिबिएचओले जनाएको छ।
जिबिएचओले आचार्य घिमिरेको नेतृत्वमा धार्मिक विधि–विधान, पूजा–आराधना, संस्कार तथा समुदाय केन्द्रित आध्यात्मिक सेवाहरू उच्च मर्यादा, पारदर्शिता र समावेशी भावनाका साथ सञ्चालन हुने अपेक्षा व्यक्त गरेको छ।

यस पावन अवसरमा ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशनले समाजका विद्वान् तथा गुरुजनहरूको उपस्थितिमा आचार्य श्री पर्वत राज घिमिरेलाई हार्दिक स्वागत गर्दै उहाँको सफल, सेवामुखी नेतृत्व र कार्यकालको कामना गरेको छ।
जिबिएचओ (Global Bhutanese Hindu Organization) अमेरिकामा बसोबास गर्ने भुटानी‑नेपाली हिन्दू समुदायको गैर–नाफामूलक संस्था हो। यसको उद्देश्य आफ्नो धर्म, भाषा र संस्कृतिलाई जगेर्ना गर्नुका साथै हिन्दू पूजा, संस्कृतिक कार्यक्रम, नेपाली र संस्कृत भाषा शिक्षा, योग/ध्यान, र समुदायलाई सामाजिक तथा भावनात्मक सहयोग पुर्याउने काम गर्दैआएको छ।
संस्था २०१३ मा सुरू भएको हो र अहिले ओहायोमा Om Center Divya Dham मार्फत ठूलो स्तरका धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्दैआएको छ।
जिबिएचओ भुटानी‑नेपाली समुदायका लागि संस्कृति र पहिचान जगेर्ना गर्ने केन्द्रको रूपमा स्थापित भएको छ।












