हिटलर आउदै छ 

0
385

अमेरिकामा नेपालीभाषी भूटानी समुदायका लागि “हिटलर आउँदै छ”

अर्जुन प्रधान

नेपालीभाषी भूटानी समुदायको यथार्थपरक र ऐतिहासिक संघर्षलाई चित्रण गर्ने सङ्गीतमय नाटक “हिटलर आउँदै छ” हालै अमेरिकाको विभिन्न राज्यहरूमा भव्य रूपमा प्रदर्शन भइरहेको छ।

 यो नाटकले भूटानी समुदायको सन् १९९० को दशकको अन्धकारमय इतिहास, मानसिक स्वास्थ्य समस्या, निर्वाशन, र पुनर्वासका कथाहरूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको निर्देशक बिमल सुवेदीले बताउनु भयो ।

“हिटलर आउँदै छ” नाटक भूटानी शरणार्थीहरूको संघर्ष, बलिदान, र असमानता विरुद्धको लडाइँलाई नाटकीय तरिकाले प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको हो। Happy Home Studios द्वारा प्रस्तुत यो नाटक भूटानी कम्युनिटी एसोसिएसन अफ एक्रन र इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको पहल र समन्वयमा तयार पारिएको हो। 

विभिन्न साझेदारहरू र समर्थकहरूको सहयोगमा यो कार्यक्रम सफल भएको समाजसेवी मनोरथ खनालले मिडियालाई बताउनु भएको छ । भूटानी कम्युनिटी एसोसिएसन अफ एक्रनका अध्यक्ष मनोरथ खनालले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन २१ जुलाई, २०२४मा “भुटानबाट निष्कासनपछि नेपालका शरणार्थी शिविरमा हुर्किएका तथा अहिले अमेरिका बसाइँ सरेका युवाहरूमा मानसिक समस्या, चिन्ता, तनाव, ड्रग्सको दुव्र्यसन, तथा सांस्कृतिक पहिचानको संकट देखा परिरहेको सन्दर्भमा यो अभियान महत्त्वपूर्ण रहेको एक प्रेश बिज्ञाप्ति माफर्त मिडियलाइ बताएका हुन् ।“

यो नाटक एक साङ्गीतिक, गम्भीर, डार्क, र हास्य मिश्रणको रूपमा डिजाइन गरिएको छ। यसको निर्देशन बिमल सुवेदीले गरेका छन् भने लेखनमा बिमल सुवेदी र जोएस पाण्डेले सहकार्य गरेका छन् । संगीतकार कालीप्रसाद बास्कोटा, मदन गोपाल, र अर्जुन रसाइलीले गीतकार कौशिला खनाल कर्मचार्य, प्रतिमा श्रेष्ठ, र आर.बी. खड्काका शब्दहरूलाई संगीतबद्ध गरेका छन्।

नाटकमा विभिन्न उमेर समूहका कलाकारहरूको सहभागिता रहेको छ, जसले नाटकलाई अझ जीवन्त र प्रभावकारी बनाएको छ। प्रमुख कलाकारहरूमा वर्षा राउत, जोएस पाण्डे, अर्जुन रसाइली, आर.बी. खड्का, बिक्रम मोहन, र अकाश खतिवडा, हेमन्त तिर्वा लगायत अन्या कलाकार छन् । नाटकको कोरियोग्राफी विक्रम मोहनले गरेका छन् भने कार्यकारी निर्माता राकेश भट्टराई हुन्। ध्वनि डिजाइनर इसाबेला जिमन, प्रकाश डिजाइनर लोगन बुशर, र छायांकनकर्ता लोगन हरिच रहेका छन्। 

“हिटलर आउँदै छ” नाटकले नेपाली भाषी भूटानी समुदायको इतिहास, परम्परा, र संघर्षलाई अमेरिकामा रहेका नेपाली भाषी दर्शकहरू माझ प्रभावशाली रूपमा प्रस्तुत गरिरहेको छ। यो नाटकले मनोरञ्जन मात्र प्रदान गरेको छैन, यसले सामुदायिक एकता र सशक्तिकरणको भावना पनि बलियो बनाएको संगितकार अर्जुन रसाइलीले बताउनु भएको छ ।

यो नाटक सेप्टेम्बर १ देखि टलमाज हाई स्कूल थियटर, ओहायोमा प्रदर्शन भइसकेको छ। भने यसको माग अन्य राज्यहरूमा पनि बढेको देखिन्छ । यसै सन्दर्भमा ग्लोबलपोस्टका निर्देशक पत्रकार अर्जुन प्रधानले निर्देशक बिमल सुवेदीसगं गरेको कुराकानी । 

हिटलर आउँदै छ” नाटकको मुख्य उद्देश्य के हो, र यसले नेपालभाषी भूटानी समुदायलाई कसरी सम्बोधन गर्छ?

नेपालीभाषी भुटानीहरुको भुटानदेखि नेपाल र नेपालदेखि अमेरिका लगायत विभिन्न देशमा आइपुग्दा भोग्नु परेका काहालीलाग्दो कालखण्डहरुको ईतिहास र त्यसबाट भएका विभिन्न शारिरिक तथा मानसिक यातनाहरु, साथै हाल हाम्रो नेपाली भाषी भुटानी तथा नेपाली डाएस्पोराका परिवार र समाजलाई नै छिन्नभिन्न बनाइरहेको मानसिक स्वास्थ्यको विकराल समस्याहरुलाई समेत समेटी तयार गरिएको यो नाटक, एउटा कालखण्डमा चरम यातना दिइ देशबाट जबसजस्ति लखेटिएका, पहिचान विहिन बनाइएका र शरणर्थी बनाइएका नेपाली भाषी एैतिहासिक, राजनितिक, सामाजिक तथा सँस्कृति दस्तावेजको एउटा अँश हो । यसले सबै कुरा समेट्न नसकेपनि समग्रमा यो इतिहासको अन्तरआत्मा लाइ बोकेको छ ।

यो नाटकमा सन् १९९० दशकको भूटानी शरणार्थीहरूको इतिहासलाई कसरी चित्रण गरिएको छ?

यो नाटक मैले विगतमा गरेको कामहरु भन्दा धेरै हिसावले भिन्न छ । यसमा अधिकाँश कलाकारहरु यसै समुदायका हुनुहुन्छ जसले यो इतिहास भोग्नु भएको छ । यो रिसर्च बाट तयार पारिएको नाटक हो । बन्द कोठामा बसेर कल्पनामा बगेर लेखिएको नाटक हैन । तसर्थ यसले सन् १९९० को दशको कहाली लाग्दो घटना र त्यसबाट भएको विकाराल समस्यालाइ विम्बात्मक प्रयोग बाट जस्ताको तस्तै देखाउने प्रयाश गरिएको छ । जसलाइ यो सम्पूर्ण इतिहाँस थाहा छ वाहाँहरुलाइ साक्षात्कार गर्ने अवसर मिल्ने छ भने जसलाइ आफ्नो इतिहास राम्रो सँग थाहा छैन । वाहाँहरुको लागी यो एउटा किताव हुनेछ भन्ने हामीलाइ लाग्छ ।

नाटकको नाम “हिटलर आउँदै छ” किन राखिएको हो? यस शीर्षकको पहिचान के अर्थ लुकेको छ?

हिटलर आउँदैछ नाम को प्रयोग विम्बको रुपमा भएको छ , हिटलर को थिए, त्यस्तो प्रवृत्ति कसरी विभिन्न कालखण्डमा विभिन्न ठाउँमा दोहोरिएको छन्, समाजमा, देशमा र आफ्नै घरमा पनि भन्ने कुरालाइ यसले विम्वको रुपमा भन्ने गर्छ । यसको गहिराइ बुझ्न नाटक नै हेर्नुपर्ने हुन्छ ।

नाटकका लेखक विमल सुवेदी र जोयस पाण्डेले नाटकमा कसरी संगीत, हांस्य र दुःखको संयोजन गरेका छन्?

यो कथा अत्यन्तै काहाली लाग्दो वर्वरताको अभिलेख हो । हामीले यो नाटक गरिरहँदा मानशिक स्वस्थ्यको कुरालाइ पनि समेटेका छौं । दर्शक पनि सर्भभाइभर र कलाकारहरु पनि सर्भाइभर भएकोले वाहाँहरुलाइ यसले मानशिक रुपले आघात नपुर्यायोस भनेर यो कालो दर्दनाक इतिहास र त्यसको पराकम्पलाइ सहज तथा रमाइले तरिकाले स्मृति भित्र लान खोजिएको छ । जसले गर्दा त्यो नाटक हेरिरहँदा वाहाँहरुले आफ्नो इतिहासलाइ रिभिजिट गर्न असहज महसुस नहोस ।

“हिटलर आउँदै छ” नाटकको कोरियोग्राफी र मञ्च सज्जा कस्तो छ, र यसले दर्शकलाई कस्तो अनुभूति दिलाउँछ?

नाटक दृश्य विधा हो । यसको शसक्त माध्याम भनेकै भ्ज्यिुलबाट कसरी देखाउन नकिन्छ भन्ने नै हो । सहित्यले भन्दा यसले फरक तरिकाले भन्न सक्नु पर्छ र शव्दले भन्न सजिलो पनि हुन्छ तर भिज्युल गारो प्रक्रिया भएपनि यो युनिभर्सल हुन्छ । र नाटक यूनिभर्सल विधा हो । यसको मिडियम भिज्युल नै हो । संवाद बाट मात्र देखाइने प्रक्रिय उकदमै पुरानो र अटोक्रेटीक प्रक्रिया हो । जसलाई कन्टेम्पोरेरी आर्ट मेकरहरुले रिजेक्ट गरिसके ।

 नाटकका मुख्य पात्र को हुन्, र उनीहरूको भूमिकालाई कसरी नाटकीय रूपमा प्रस्तुत गर्न सकिन्छ?

यसका सबै कलाकारहरु मुख्य पात्र हुन् । सबैको भुमिका उत्तिकै सशक्त र महत्वपूर्ण छ । उनिहरुको चरित्रले सन्देश मात्र नभएर जीवन दर्शन वाँडेर जान्छ दर्शक सँग ।

नाटक हेर्ने क्रममा दर्शकहरूले कसरी भूटानी(नेपाली समुदायको वास्तविकता र संघर्षको अनुभव गर्न सक्छन्?

अहिले सम्मको दर्शकले दिनु भएको प्रतिक्रियाबाट यो नाटक नेपाली भाषी भुटानी जो शरणर्थी भएर तेस्रो मुलुक पुनर्वास हुन वाध्य हुन पर्यो, वाहाँहरु सबैले यो हाम्रो समुदाएको पहिलो सशक्त र सहि दस्तावेज हो भनेर भन्नु भएको छ । यो नेपाली भाषी भुटानी ले मात्र नभएर सवैले हेर्ने पर्ने नाटक हो भन्नु भएको छ । यो एउटा दृश्य किताव हो हाम्रो अथेन्टीक इतिहाँस हो भन्नु भएको छ जसले गर्दा यसले वास्तविकतालाइ उजागर गरेको छ भन्ने लाग्छ । र यो नाटक हेरिरँहदा वाहाँहरुले आफ्नो इतिहास र भोगाइलाइ एैना अगाडी उभिएर हेरे जस्तो हुनेछ ।

यो नाटक विभिन्न अमेरिकाका राज्यहरूमा किन प्रस्तुत भएको छ, र यसले प्रवासी नेपाली भाषी भूटानी  समुदायलाई कसरी सम्बोधन गर्छ?

यो नाटकले जीवन दर्शन वोल्छ । समग्रमा आफ्नो इतिहाँस बोल्छ , आफ्नो सस्कृति, पहिचान र भोगाइ बोल्छ । यसलाइ हामीले हिलिङ्ग या थेरापी पनि भन्ने गरेका छों । यसले सम्पूर्ण प्रवासी भूटानी नेपाली लाइ जोड्न मद्दत गर्न, परिवार भित्रै एकआपसमा जोड्न, एकअर्काको परिस्थिीतिलाइ समानभूती राख्न, समभाव राख्न मद्दत गर्छ । प्रवासी भुटानी नेपाली माथी भएको ज्यदति र अन्यायको मुद्दालाइ पनि अन्तराष्ट्रियकरण गर्न सहयोग गर्छ । यस नाटकमा धेरै लेयर्सहरु छन् र यसका इम्प्याक्टका पनि लेयर्स छन् एउटा मात्र छ्रैन । यो एउटा पारिवारीक नाटक हो । यसले सँबन्ध बुझ्न पनि मद्दत गर्छ ।

“हिटलर आउँदै छ” नाटकले भविष्यमा अन्य मानशिक र सांस्कृतिक कार्यक्रमहरूलाई कसरी प्रेरणा दिन सक्छ?

यो नाटकले एउटा वहस को ढोका खोल्छ अन्तराष्ट्रिय स्तरमा भन्ने लाग्छ हामीलाइ, हाम्रो प्रयाशपनि यही हो । यस्तो कार्य, अमानविय कार्य कुनै पनि कालखण्डमा कुनैपनि देशमा दोहोरिनु हुन्न भन्ने हो । यो नाटक न्यायको लडाइ पनि हो । यो नाटक मानशिक स्वास्थ्यको एउटा क्याम्पेन पनि हो । यसले आउने दिनमा धेरै कुरामा नयाँ आयमहरु दिने छ भन्ने लाग्छ । वाँकी कुरा दर्शक दीर्घा मै छोड्नु पर्छ । तर प्रवासी नेपाली भाषी भुटानी र प्रवासी नेपाली हरुले एकपल्छ हेर्ने पर्ने नाटक हो भन्ने लाग्छ हामीलाइ । यो एउटा मनोरन्जन मात्र होइन । मेरो लागी लामो मेडिटेशन, साधाना रियलाइजेसन र ट्रान्सफरमेशन हो । यो कथाको लागी मैले आफ्नो जीवनको आधा समय विताएको छु । यस अर्थमा पनि मेरो लगाी पनि अगाडीको कामहरु भन्दा यो फरक अनुभूति हो ।

यो नाटक प्रस्तुत गर्दा फिल्म फोटो या भिडियो किन अनुमती छैन? यसले दर्शकलाई कस्तो अनुभव प्रदान गर्न चाहन्छ?

यो नाटकको एउटा डिसिप्लीन हो । हामीले नाटक हेर्ने दर्शकलाइ कतै पनि यस्तो कार्य गर्न दिदैनो । यसका विविध कारण छन् । यो नाटकको एउटा एथिक्सभित्र पर्छ ।

नेपालका शरणार्थी शिविरमा हुर्किएका तथा अहिले अमेरिका बसाइँ सरेका युवाहरूमा मानसिक समस्या, चिन्ता, तनाव, ड्रग्सको दुव्र्यसन, तथा सांस्कृतिक पहिचानको संकट देखा परिरहेको सन्दर्भमा यो अभियान महत्त्वपूर्ण रहेको दर्शक तथा शरोकारवालाहरूले नाटकको विशेष प्रिमियर शो मा बताएका छन् ।

सचेतना फैलाउन र दीर्घकालीन समाधानको पहलका लागि एक सांगीतिक नाटक “Musical Dark Comedy Drama” को उत्पादन भएको र, भूटानी समुदाय एसोसिएसन अफ अक्रोन (BCAA) ले युवाहरूमा देखिएका मानसिक स्वास्थ्य र पहिचान संकटलाई सम्बोधन गर्न नयाँ अभियानको सुरुवात गरेको , र यो अभियानले नेपाली भाषी भूटानी  समुदायमा देखिएका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय रूपमा उठाउने लक्ष्य राखेको अध्यक्ष मनोरथ खनालले बिज्ञाप्तिमा उन्लेख गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here